मेड इन अमेरिका सांसद

मेड इन अमेरिका सांसद

अब नेपाली जनतालाई सांसद पनि ‘मेड इन युएसए’ नै चाहिने भइसकेछ । नेपालमा उत्पादित साबुन, टुटपेस्ट, जुत्ता, कपडा र अण्डरवेयर मात्र होइन अब त नेपाली उत्पादनका सांसद पनि नबिक्ने अवस्था आइसकेछ । अब चुनावमा त्यस्ता उम्मेदवारले मात्र जित्ने दिन आएको छ जसले बेलायतमा पढेर अमेरिकामा जागिर खाएको छ । अनि विदेशी बिहे गरेर स्वदेशीलाई छोडेको छ ।

जसले देश र जनताका लागि सुख, सुविधा र अवसर त्यागेको छ, त्यसलाई जिताउने होइन । जसले अमेरिका त्यागेर आएको छ त्यसलाई जिताउने हो । अमेरिकामा पढेको, अमेरिकामा काम गरेको, अमेरिकी बिहे गरेको, अमेरिकामा छोराछोरी भएको, अमेरिकालाई बुझेको, अमेरिका देखेको छ भने त्यो नै योग्य हो ।

नेपालमा जन्मेको, नेपाललाई बुझेको, नेपाल घुमेको, नेपाल जानेको, नेपालमा पढेको हो भने त्यो योग्यता अब काम लागेन । माया त नेपाललाई गर्ने हो, तर नेपाल चलाउने मान्छेचाहिँ अमेरिकाबाट आएको हुनुपर्छ । जाबो अमेरिका एक पटक पनि नगएको मान्छेले नेपाल के चलाउला ? भलै उसले अमेरिकामा ममः पसल नै चलाएको कि नहोस्, नेपालमा मन्त्रालय चलाउन ऊ लायक बन्छ । 

उपचुनाव हो, जो जो जिते उनीहरू जम्मै उपप्रधानमन्त्री त बन्ने होलान् नि ! कि कसो ?
 

टिप्पणीहरू