जाबो दुई करोड !

जाबो दुई करोड !

रवि लामिछानेको पार्टी यतिबेला दुई करोड काण्डले आहत छ । एकजना डाक्टर सांसदले दुर्गा प्रसाईंसँग दुई करोड मागेको रहेछ । अडियो सार्वजनिक भएपछि माग्ने सांसदलाई तत्कालै बर्खास्त गरियो ।

रवि लामिछानेले ७२ घण्टामा कारवाही गर्छु भन्नुभएको थियो, ठ्याक्कै कारवाही भयो । तर डा. ढाकाकुमारले मागेको त जम्मा दुई करोड हो । त्यति धेरै होइन । जाबो यति कुरामा कारवाही ठोकिहाल्ने ? हतार भएन ?

मैले रास्वपाका एक ‘कोर टिम’ सदस्यलाई सोधेँ, ‘हैन यो के गर्नुभएको ? मागेको त जाबो दुई करोड न हो । त्यति माग्दैमा कारवाही गरिहाल्नु पर्छ ?’

कोर टिम सदस्यले भने, ‘वास्तवमा उहाँलाई कारवाही गरेकै दुई करोड मागेकोले हो । अरे यार, यसले त हाम्रो रेटै बिगारिदियो नि । गोकुल बाँस्कोटा जस्तो मान्छेले सत्तरी करोड माग्छ । हामीले चाहिँ जाबो दुई करोड माग्ने ? यसले पार्टीको इमेज नै खराब पारिदियो । त्यही भएर कारबाही गर्नुपरेको हो । कुरो त बुझ्नुभयो होला नि !’
 

टिप्पणीहरू