निजामती ट्रेड युनियन : को सशक्त, को अशक्त ?

निजामती ट्रेड युनियन : को सशक्त, को अशक्त ?

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको अध्यक्षमा हरिबहादुर रावल पुनः निर्वाचित भएका छन् । उनले फेरि पाँच वर्षसम्म संगठनको जिम्मेवारी वहन गर्ने मौका पाएका हुन् । संगठनको महाधिवेशन यो साता सम्पन्न भएको छ ।

विवादका बीच पार्टी नेतृत्वले रावललाई जिम्मेवारी सुम्पिने निर्णय गरेपछि महाधिवेशन प्रतिनिधिहरुकै सहमतिपछि उनको अर्को एक कार्यकाल थप भएको छ । रातदिन खटिँदै आएका र कर्मचारीका मुद्दाप्रति बफादारका साथ लाग्दै आएका रावलसँग जनआस्थाकर्मी राजकुमार रायले गरेको कुराकानीको संक्षिप्त अंशः 

हालै सम्पन्न महाधिवेशनले के सन्देश दियो ? 

यो महाधिवेशन आफैंमा ऐतिहासिक बनेको छ । लगभग ७९९ जना प्रतिनिधि, १२५ स्वयंसेवक र झण्डै ७० जना पर्यवेक्षकसहित एक हजार प्रतिनिधिको उपस्थितिमा हामीले भव्य र सभ्य रुपमा महाधिवेशन सम्पन्न गर्यौं ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीप्रति प्रतिस्पर्धी निजामती कर्मचारी संगठनहरुको जुन दृष्टिकोण र भ्रम थियो, त्यो महाधिवेशनले चिरेको छ । हाम्रो संगठनप्रति आकर्षण बढ्दै गएको महशुस गरेका छौं । 

महाधिवेशनमा भएका बहस, छलफल र संवादले मार्गदर्शन देखाउनेमा हामी विश्वस्त छौं । निजामतीको आधिकारिक ट्रेड युनियनमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती सशक्त दाबेदार रहेको सन्देश महाधिवेशनले दिएको छ । 

सोही दाबेदारी संगठनले आगामी दिनमा गर्वका साथ प्रस्तुत गर्ने छ । अन्य निजामती कर्मचारी संगठनहरुसँग रचनात्मक प्रतिस्पर्धा गर्न सक्ने संगठनका रुपमा अगाडि बढ्ने हाम्रो तयारी पनि सम्पन्न भएको छ । 

पहिलो विषय हाल चर्चामा रहेको संघीय निजामती ऐनलाई कर्मचारीमैत्री ऐनको रुपमा बनाउनुपर्ने हाम्रो जोड छ । उक्त ऐनका लागि हामी जिम्मेवार र चनाखो भएर निगरानी गरिरहेका छौं । त्यस्तै, आवश्यक परेको खण्डमा आफ्नो भएभरको तागत लगाउन पनि पछि हट्दैनौं । 

दोस्रो, निजामती कर्मचारी समायोजन ऐन बनाउँदा पीरमर्का र समस्यामा परेका कर्मचारीलाई विशेष ध्यानमा राखिनेछ । अब बन्ने संघीय निजामती ऐनमा समायोजनबाट अन्यायमा परेका कर्मचारीहरुको मिलान गर्ने व्यवस्था हुनुपर्छ ।  निजामती ऐनले समस्यामा परेका कर्मचारीलाई समेट्ने र उनीहरुको समस्या समाधान गर्न पहल गर्ने म्याण्डेट महाधिवेशनबाट हामीले पाएका छौं । 

अर्को विषय चाँही यस्ता सम्मेलन, भेलाले संगठनलाई थप बलियो बनाउन मद्दत पुर्याउँछ । संगठनप्रति प्रतिबद्ध रहने, संगठनले के भन्न चाहेको छ र त्यसको पालनाका लागि प्रतिबद्ध बनाउने कामहरु हामी गर्नेछौं । 

संगठनले लिएका नीति तथा योजना र कार्यक्रमहरु कार्यान्वयन गर्ने हाम्रो पहिलो दायित्व हो । यो आफ्नो पेशागत हकहित र अधिकारको मात्र नभई आमजनताप्रति प्रभावकारी रुपमा सेवा प्रवाहप्रतिको जुन कर्तव्यहरु छन् त्यसमा दृढतापूर्वक अगाडि बढ्नका लागि हो । 

यसले जनमैत्री सोचको विकासका साथै त्यसको निरन्तरताका लागि पनि असल सन्देश दिने छ । वास्तवमा हामी कर्मचारी मात्र होइनौं, यो देशका सचेत नागरिक पनि हौं । त्यसैले यी विषयमा आफ्ना कर्तव्यप्रति अलिक बढी जिम्मेवार बन्ने हाम्रो नैतिक साहससमेत यस्ता खाले महाधिवेशनहरुले जुटाउने गरेको छ । 

जनताको कर्मचारीहरुप्रति असन्तुष्टि छ, गुनासो छ । तपाईं कर्मचारी नेताहरुले यस्ता समस्या समाधान गर्न के भूमिका खेल्नुहुन्छ ? 

कर्मचारीप्रति जुन खालको आरोप छ, यी आरोप आम कर्मचारीप्रति लागेको होइन । तर, केही कर्मचारीका कारणले यस्ता आरोप र आक्षेप लाग्ने गर्छन्, जसलाई गलत साबित गर्नु हाम्रो कर्तव्य हो । 

हामीले आफ्ना आचरण र व्यवहारले त्यस्ता कमजोरीलाई हटाउनुपर्छ । आफ्नो कर्तव्यबाट च्यूत हुनुहुँदैन भन्ने मान्यतामा दृढ छौं । कुनै कमीकमजोरी देखिए त्यसलाई तत्काल सुधार गर्नुपर्नेमा हाम्रो मुख्य जोड हुनेछ । त्यसमा हामी लागिरहन्छौं । 

निर्वाचित नेतृत्वको काँधमा नयाँ जिम्मेवारी के आएको ठान्नुहुन्छ ? 

हाम्रो जिम्मेवारीमा आएको नयाँ दायित्व र जिम्मेवारी भनेकै सुशासन र पारदर्शिताको पाटो हो । मुलुकमा जुन खालले आर्थिक मन्दी देखिन थालेको छ, आर्थिक रुपले देश कमजोर बन्दै छ यसमा पारदर्शिता, सुशासनलगायत मापदण्डले काम नगरेको हाम्रो ठम्याइ छ । यसमा अन्य क्षेत्र पनि त्यत्तिकै जिम्मेवार छन् । 

निजामती कर्मचारीहरु पनि गलत सोच र शैलीबाट मुक्त हुनैपर्छ । नयाँ ढंगबाट र दोहोर्याएर भन्नुपर्दा पेशागत अधिकारका साथै आमजनताप्रतिको कर्तव्य पालनामा हामी बफादार हुनैपर्छ । जनताको सेवाप्रति हामी कर्तव्यनिष्ठ सेवक बन्नुपर्ने अहिलेको आवश्यकता हो । 

हामीले स्पष्ट रुपमा भन्ने गरेका छौं कर्मचारी जनताको सेवक हुन्, मालिक होइनन् । जनताले तिरेको करबाट जीविका चल्ने विषय सत्य हो । त्यसबाट बालबच्चा पढाएका छौं, दैनिकी धानेका छौं । त्यसैले ती जनताप्रति हामी बढी जिम्मेवार हुनैपर्छ । जनसेवकको हकमा पनि सहृदयी भएर काम गनैपर्छ । जनमैत्री वातावरणको निर्माण गर्नुपर्छ । त्यसले मात्र हाम्रो छबि सँधै उज्जवल रहिरहन्छ ।

टिप्पणीहरू