थाइल्याण्डबाट नेपालले के सिक्ने ?

थाइल्याण्डबाट नेपालले के सिक्ने ?

गत हप्ता थाइल्याण्डको पर्यटनमा दाग लाउने खबर छ्यापछ्याप्ती आयो । चिनियाँ सामाजिक सञ्जाल सिनो वैबोमा चिनियाँ पर्यटक असुरक्षित भएको सामग्री फैलियो । ग्लोबल टाइम्सका अनुसार गत बिहीवार फैलिएको चर्चाले दश करोडभन्दा धेरै भ्यूज पायो । थाइल्याण्डको प्रमुख पर्यटक स्रोत चीनमा थाइल्याण्डको पर्यटन बजारलाई दाग लाउने खबरको चुरो कुरो यस्तो थियो– एक चिनियाँ पर्यटक र उनकी दोभाषेलाई अपहरण गरी दश लाख भाट माग गरियो । त्यसो गर्ने अरु कोही नभएर थाइल्याण्डका चार जना आप्रवासन प्रहरी थिए । 

यो सूचना चिनियाँ सामाजिक सञ्जालमा आएसँगै थाइल्याण्डले तत्काल कदम चाल्यो । प्रहरी उपप्रमुख सुराचाट हाकपार्नले चार प्रहरीलाई पक्राउ पुर्जी जारी भएको र सेवाबाट बर्खास्त गरेको जानकारी दिए । यो कुरा त्यत्तिमै सीमित भएन । बेइजिङस्थित थाइ दूतावासले पनि चिनियाँ पर्यटकलाई सुरक्षा दिने प्रत्याभूतिको सूचना जारी ग¥यो । यसले ग्लोबल टाइम्सलगायत चिनियाँ मिडियामा राम्रो स्थान पायो । 

थाइ पर्यटनको यो घटनाले थाइ दूतावास, थाइ प्रहरीमा मात्रै सीमितता पाएन । यसले थाई प्रधानमन्त्रीसम्मलाई छोयो । प्रधानमन्त्री प्रयुत चान ओ चाले क्याबिनेट बैठकमै यो बारेमा गम्भीर ध्यानाकर्षण गराए । उनले थाइल्याण्डको पर्यटन तथा खेलकुद मन्त्रालयलाई यसबारे प्रष्टीकरण दिन र चिनियाँ पर्यटकलाई विशेष ध्यानमा राख्न आदेश दिए । यसैबीच चीन, म्यानमार र थाइल्याण्डका मानव तस्करीबारे त्रिदेशीय बैठकै बस्यो । बैठकबारे पनि ग्लोबल टाइम्सले समाचार बनाएको छ । 

थाइल्याण्डमा चिनियाँ पर्यटक सबैभन्दा धेरै संख्यामा आउँछन् । सन २०२३ भित्र मात्रै पनि एक करोड थाइल्याण्ड पुग्ने थाइ अधिकारीको अनुमान छ । पर्यटकीय आम्दानी धेरै गर्ने देश थाइल्याण्डमा कोभिड–१९ आतंकपछिको सामान्य अवस्थामा आउँदा सन् २०२२ मा एक करोड १२ लाख हाराहारी पर्यटक पुगेका थिए । यो वर्ष त्यो संख्याभन्दा धेरै पुग्ने अनुमान छ । एक करोड हाराहारी त चिनियाँ नै पुग्ने अनुमान छ । पर्यटनलाई मेरुदण्ड बनाएको चीनमा पर्यटनमा यस्तो गम्भीरता देखाइएको छ । 

नेपालले थाइल्याण्डको पर्यटन कूटनीतिजस्तै गाम्भीर्यता देखाउन आवश्यक छ । पर्यटन कूटनीतिमा सबैभन्दा पहिले खराब इमेजलाई बदल्नतर्फ ऊर्जा लाउनु आवश्यक छ । जस्तै : सन् २०१३ डिसेम्बर ५ बाट युरोपेली आकाशमा नेपाली जहाजलाई उड्न प्रतिबन्ध लगाइएको छ । पछिल्लो दशकमा धेरै सरकार र प्रधानमन्त्री बने । धेरै दलको नेतृत्वमा सत्ता बन्ने र भत्कने काम भए तर पर्यटन कूटनीतिमा उनीहरू सबै असफल भए । युरोपेली संघको कार्यालय नेपालमै छ । युरोपेली संघका धेरै परियोजना पनि यहीं छन् । नेपाली डायस्पोरा युरोपमा राम्रो छ । युरोपेली पर्यटक नेपाली पर्यटनका एक मुख्य हिस्सा हुन् । यति हुँदाहुँदै पनि नेपाली झण्डावाहक जहाज युरोपतिर जान पाएका छैनन् । सरकारी र निजी दुवै जहाज युरोपेली आकाशमा छिर्न नपाएको दशक पुग्नु लाजमर्दो कुरा हो । 

युरोपेली आकाशमा जहाज छिर्न नपाएजस्तै पछिल्ला दशकमा भएका नेपालका हवाई दुर्घटनाका कारण नेपाल धेरै असुरक्षित छ भन्ने खराब सूचना गएको छ । त्यो सूचना चिर्नलाई नेपालले मिहिनेत गरेको छैन । पोखराको जहाज दुर्घटनालगत्तै नेपालले जुन स्तरमा ड्यामेज कन्ट्रोलको नीति अख्तियार गर्नुपर्ने हो, त्यो गर्न सकेको छैन । नेपाली जहाजलाई युरोपेली आकाशमा प्रतिबन्ध भएको फुकुवा गर्न नसक्नुदेखि जहाज दुर्घटनाबाट हदैसम्म असुरक्षित छ भन्ने ठुल्ठूला कुरामा त नेपाल चुक्यो चुक्यो, स–साना कुरामा पनि पर्यटक कदम राम्रो छैन । उदाहरणका लागि केही दिनअगाडि एक विदेशी पर्यटकलाई ठग्ने र अश्लील गाली गर्ने ठमेलका रिक्सा चालकको भिडियो भाइरल हुँदा पनि नेपालले केही कदम लिएको छैन । पर्यटक प्रहरीले कुनै कदम चाल्न सकेको छैन । यो हेर्दा सामान्य तर दीर्घकालीन असर गर्ने असामान्य घटना हो । 

नेपालले रेमिटेन्सपछि राम्रो आम्दानी गर्ने पर्यटनमै हो । पर्यटनमा पनि पासपोर्टधारी पर्यटकबाट हुने हो । नेपालको वैदेशिक मुद्रा सञ्चितिदेखि रोजगार सिर्जनामा पर्यटन महत्वपूर्ण छ । नेपालले आफूलाई प्रकृति, संस्कृति र साहसिक पर्यटनमा दक्षिण एसियाको मुख्यालय स्तरमा उभ्याउने सम्भावना छ । पोखरा र भैरहवामा बनेका दुई अन्तर्राष्ट्रिय विमानस्थललाई यसतर्फ अगाडि बढ्नमा सदुपयोग गर्न सकिन्छ । तर, यी दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थललाई पनि पर्यटन कूटनीतिमा जोड्न नसक्दा सोचेजस्तो सफलता मिल्न सकेको छैन । ०७९ पुस १७ गते उद्घाटित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेसम्म एउटा पनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । ०७९ जेठ २ बाट औपचारिक रूपमा उद्घाटन भएको भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भए पनि भारतसँग हवाईरुटको समस्याका कारण उचित लाभ मिल्न सकेको छैन । यसो हुनुमा नेपाली पर्यटन कूटनीतिकै समस्या हो । 

पर्यटन दशक घोषणा गरेको नेपाललाई अहिले पर्यटन आम्दानीको टड्कारो आवश्यकता छ । आर्थिक मन्दीका संकेत आइरहेका छन् । वैदेशिक मुद्रा सञ्चितिमा संकुचन आएका समाचार छन् । रेमिटेन्स घट्नेदेखि वैदेशिक शिक्षा यात्रामा जानेले डलर खर्च गरिरहेका छन् । यी सबैलाई सन्तुलन मिलाउन धेरैभन्दा धेरै पर्यटक ल्याएर वैदेशिक मुद्रा आर्जन गर्न सकिने सम्भावना छ । तीन अन्तर्राष्ट्रिय विमानस्थल भएको, पर्यटनसम्बन्धी राम्रा कानुनी व्यवस्था भएकोदेखि पर्यटनमैत्री नागरिक र उद्यमी भएको नेपालमा पर्यटनमैत्री संस्कृति पनि छ । तर, सरकारले पर्यटन कूटनीति बलियो बनाउँदा सोचेजस्तो आम्दानी हुन सकिरहेको छैन । यसतर्फ ध्यान दिन आवश्यक छ । प्रेस र पब्लिकले खबरदारी गर्न जरुरी छ । 

 

टिप्पणीहरू