काम हतार, परिणाम लतरपतर

काम हतार, परिणाम लतरपतर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले सामाजिक सञ्जालमा गरेको एउटा पोष्ट विवादमा तानिएको छ । केही बेरअघि फेसबुकमा गरिएको एउटा पोष्ट विवादमा परेपछि सर्वसाधारणले ‘अपरिपक्व’ पोष्ट भन्दै विरोध जनाएका छन् । सर्वसाधारणको विरोध देखिएपछि अहिले उक्त पोष्टको विवरण नै फेरिएको छ ।

प्रधानमन्त्रीको स्वकीय सचिवको जिम्मेवारीमा रहेकी उनले फेसबुकमा एउटा तस्बिरसहित गरेको पोष्टमा लेखिएको थियो,‘सम्माननीय प्रधानमन्त्री प्रचण्डको निर्देशनमा कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट जडान कार्य सम्पन्न !’

प्रविधिबाट सम्पादन गरिएको तस्बिरका कारण उनी सामाजिक सञ्जालमा हाँसोको पात्र बनेकी हुन् । प्रधानमन्त्रीले निर्देशन दिएको दुई साता नबित्दै फ्लडलाइट जडान कसरी सम्भव भयो ? भन्दै अनेक प्रश्न तेर्साइएको छ । अन्तिममा उक्त तस्बिर नै फेक भएको पुष्टि भएको छ ।

एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘तपाईंजत्तिको व्यक्तिबाट यत्तिको हावा पोष्ट आँउछ भनेर हामीले सोचेका थिएनौं ।’ अर्काले भनेका छन्, ‘आबुई, यो त इडिटेड फोटो हो । छैन फ्लडलाइट जडान भएको ।’ 

सामाजिक सञ्जालमा चर्को विरोध भएपछि उक्त स्टाटस् सम्पादन गरिएको छ । फोटो उही भए पनि क्याप्सनमा पुनः लेखिएको छ, ‘सम्माननीय प्रधानमन्त्री प्रचण्डको निर्देशनमा कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट जडान कार्य सम्पन्न गर्नका लागि राष्ट्रिय खेलकुद परिषद्ले प्रक्रिया अघि बढाएको छ । द्रुत गतिमा सम्पन्न भएपश्चात् रंगशाला यो आकारमा देखिनेछ ।’

कीर्तिपुर स्टेडियममा अहिलेसम्म शुरु नभएको काम सम्पन्न भएको बताएपछि उनले चर्को आलोचना खेप्नुपरेको हो । जिम्मेवार व्यक्ति भएर अफवाह फैलाएको भन्दै सामाजिक सञ्जालमा उनको खोइरो खनिएको छ । 

विश्वकप क्रिकेटको क्वालिफायरमा नेपाली क्रिकेट टोली छनोट भएपछि प्रधानमन्त्री प्रचण्डले कीर्तिपुर स्टेडियममा तत्काल फ्लडलाइट र डिजिटल स्कोर बोर्ड जडान गर्न निर्देशन दिनुभएको थियो ।

टिप्पणीहरू