ई–७ भिसामार्फत कामदार पठाउन रोक्ने निर्णय फिर्ता

ई–७ भिसामार्फत कामदार पठाउन रोक्ने निर्णय फिर्ता

वैदेशिक रोजगार विभागले दक्षिण कोरियामा दक्ष कामदार पठाउनेसम्बन्धी कार्यविधि कार्यान्वयन नहुने निर्णय फिर्ता लिएको छ। 

जेनजी आन्दोलनपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनमा विभागले कार्यविधि कार्यान्वयन स्थगनको सूचना निकालेकोमा अहिले फिर्ता गरेको हो । अदालतको आदेश र मन्त्रालयको पत्रअनुसार कार्यविधि कार्यान्वयन रोकिएको सूचना फिर्ता लिएको बताइएको छ ।
  
ई–७ भिसा प्रणालीमार्फत नेपालीलाई सीपयुक्त श्रमिकको रुपमा दक्षिण कोरिया पठाउन श्रम मन्त्रालयले ‘कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, २०८०’ ल्याएको थियो, जसमा मेनपावर कम्पनीहरुले पनि नेपालबाट रोजगारीका लागि कोरियामा कामदार पठाउन पाउने व्यवस्था छ । 

तर, गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शन र विध्वंशपछि मन्त्रालयले भदौ २९ गते विभागलाई पत्राचार गर्दै सो कार्यविधि कार्यान्वयन रोकेको थियो । त्यसविरुद्ध उच्च अदालत पाटनमा रिट परेकोमा अदालतको आदेशबमोजिम विभागले कार्यविधि कार्यान्वयन नहुने आफ्नो सूचना फिर्ता लिएको बताएको छ ।  

विभागको सूचनामा भनिएको छ, ‘उच्च अदालत पाटनको मिति २०८२–०६–३१ को आदेश र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मिति २०८२–०८–२४ को पत्रानुसार यस विभागको उक्त सूचना तथा पत्र कार्यान्वयन नगर्नु भनि आदेश प्राप्त भएकोले सो पत्रको कार्यान्वयन नहुने व्यहोरा जानकारी गराइन्छ ।’

टिप्पणीहरू