रामचन्द्रलाई कहिले श्रीपेच लगाउने ?
– अधिवक्ता प्रेमराज सिलवाल
संवैधानिक, कानुनी, राजनीतिक, सामाजिक र व्यावहारिक दृष्टिले नेपालको राज्यप्रमुखमा राजा छैनन् । संविधानअनुसार निर्वाचित राष्ट्रपति छन् । मुलुकमा गणतन्त्र छ । गणतान्त्रिक संविधान छ । संविधानको धारा ६१ अनुसार राष्ट्रप्रमुखका रुपमा राष्ट्रपति छन् ।
रामचन्द्र पौडेल राष्ट्रपति भएर शीतलनिवास प्रवेश नहुँदै उनको अनुहार खुर्किने कार्य गरियो । अनुहार पूरै सेतो मात्र बनाइएन प्राकृतिक रूपमा आएको कालो कोठी नै गायब पारियो । चाकरीको योभन्दा भद्दा नमुना अर्काे के देख्नुपर्ने हो ? यसरी राष्ट्रपतिलाई ‘राजाको अर्काे संस्करण’ वा ‘कपी’ जस्तो बनाइयो, बनाइँदै छ । नागरिकबाट निर्वाचित भएर गएका कुनै पनि राष्ट्रपतिलाई राजाजस्तो वा भगवानजस्तो वा ‘भयानक मान्छे’ बनाएर पेश गर्नु आवश्यक छैन । गणतन्त्र र लोकतन्त्रमा योभन्दा भद्दा चाकरी र अनावश्यक औपचारिकता केही होइन ।
जसरी राजा हुँदा राजा, राजपरिवार र परिवारमा पनि चार महिनाका बालबालिकालाई समेत ‘राजासाहेब’ भन्दै सैनिक–प्रहरी प्रमुख र सरकारी अधिकारीले मात्र होइन मन्त्रीले समेत घुँडा टेकेर ‘दर्शन’ गर्ने संस्कृति थियो, नागरिकभन्दा ‘चार सय हात टाढा’ राख्ने गरिन्थ्यो । अहिले गणतन्त्रमा पनि नोकरहरू त्यस्तै भद्दा नक्कल गर्दैछन् । अर्काेतर्फ राष्ट्रपति हुने र राष्ट्रपतिको राजनीतिक मामला हेर्न नियुक्त भएका ‘राजनीतिक’ व्यक्तिहरूले पनि के हेरेर बसेका छन् ? यस्तो भद्दा ‘शानले’ गणतन्त्र थप बदनाम हुँदैछ । राष्ट्रपति राजा होइन । राजाले गर्ने जस्ता अनेक खालका वाहियात औपचारिकता राष्ट्रपतिलाई आवश्यक हुँदैन, चाहिँदैन । राष्ट्रपतिको सवारीमा किन बाटो पूरै बन्द गर्नुप¥यो ? गणतन्त्र र लोकतन्त्रमा निर्वाचित भएर आउनेले तत्कालीन राजाको जस्तो ‘शान खाने’ हो ? ‘पिर्के शान’ले ‘मान’ चाहिँ ध्वस्त पार्दैछ । राष्ट्रपतिको सवारी हुँदा सडकमा उभिएका नागरिकले हात हल्लाएर सम्मान व्यक्त गर्ने अवस्था बन्नुपर्नेमा ‘धारे हात’ लगाएर ‘सराप्नुपर्ने’ अवस्था किन बनाइँदै छ ?
राष्ट्रपतिसामु औपचारिक कार्यक्रममा जनता र नागरिकले आफ्ना गुनासा र भनाइ सिधै राख्न पनि सक्नुपर्छ, पाउनुपर्छ । स्वयं राष्ट्रपति र राष्ट्रपति कार्यालयका कार्यशैलीको विरोध, खबरदारी र आलोचना गर्न नागरिकलाई किन रोक ? त्यो गर्न पाउने अधिकार लोकतन्त्रमा छ । जस्तो इन्द्रजात्रामा, भोटो देखाउने बेला वा पशुपति जाँदा नागरिकसँगै राष्ट्रपति हुनुपर्छ । ‘स्वर्गका देवता’ जस्ता र राणाकालका ‘जंगबहादुर राणा’ जस्ता बनाएर पेश गर्नु आवश्यक छैन । सम्माननीय राष्ट्रपतिले आफ्नो सुरुवातको सवारी ‘सादा’ तरिकाले चलाएको भए पनि त्यो कति समय कसरी टिक्ला वा नोकरहरू फेरि ‘उस्तै पारा’ गर्लान् त्यो समयक्रममा देखिनेछ । सारमा यस्तो तरिका र सोचले गणतान्त्रिक संस्कृतिक र लोकतान्त्रिक संस्कार बन्दैन । राजा र राष्ट्रपतिका व्यवहार, विधि उही हुने हो भने किन निर्वाचित गरेर ल्याउनुप¥यो ?
युरोपका विकसित मुुुलुक जहाँ राष्ट्रपति निर्वाचित भएर आएका हुन्छन्, तिनीहरू नेपालमा जस्तो अनावश्यक अति औपचारिकतामा बाँधिँदैनन् । राष्ट्रपति दुई चार जना मान्छेसहित स्विमिङमा गएको, गल्फ खेलेको वा साइक्लिङ गरेको वा पार्कमा घुमेको देख्न सकिन्छ । जनता र नागरिकले राष्ट्रपतिसँग फोटो खिचाएको, हात मिलाएको, कुरा गरेको, आलोचना गरेको वा सुझाव दिएको प्रष्टै देख्न सकिन्छ । जनता र नागरिकलाई राष्ट्रपतिचाहिँ के–के न हो जस्तो हुने र राष्ट्रपति आउँदा बाटोबाट तर्सेर भाग्नुपर्ने वा प्रहरीले कतिबेला कसको टाउकोमा लाठी बर्साउला भन्दै त्रसित बन्नुपर्ने अवस्था पश्चिमा मुलुकमा देखिन्न । त्यति मात्र होइन, युरोपको नर्वेमा त राजासहितको संघीय लोकतन्त्र पनि छ । त्यहाँका राजा नागरिकजस्तै सामान्य तरिकाले समुद्रमा पौडी खेल्ने, पार्कमा घुम्ने र सपिङ गर्ने गर्छन् । तिनलाई आफ्नो मुलुक र नागरिकप्रति पूरा विश्वास देखिन्छ । अर्थात् सुरक्षाको कुनै चिन्ता छैन । त्यहाँ पनि राजाको कार्यालय छ । प्रहरी, प्रशासन र कर्मचारीतन्त्र त छ । तापनि नेपालमा जस्तो अनावश्यक औपचारिकता, राजाको शासनको जस्तो भद्दा नक्कल र नौटंकीपूर्ण हर्कत देखिन्न । आखिर नेपालमा डा. रामवरण यादव, विद्यादेवी भण्डारी हुँदै राष्ट्रपतिमा रामचन्द्र पौडेल आइसकेका छन् । यद्यपि, राष्ट्रपतिको कार्यालय, सुरक्षा अधिकारी, प्रहरी, सेना र प्रशासनमा रहेकाहरूको मानसिकता, व्यवहार र सोच भने ‘बाह्र वर्ष ढुंग्रामा हाले पनि कुकुरको पुच्छर उस्तै’ भनेजस्तो देखिन्छ ।
सरकारी कर्मचारी, सुरक्षा निकाय र स्वयं राष्ट्रपति कार्यालयका कारिन्दामा राजाको पुरानो ‘धङ्धङ्गी’ गएको देखिन्न । सवारी चलाउँदा तत्कालीन राजाको जस्तो बाटो पूरै बन्द गर्ने शैलीलाई नेपाली नागरिकले पटक्कै रुचाएनन् । यो शैलीलाई सतप्रतिशत बन्द गर्नुपर्छ । राष्ट्रपतिबाट हुने संसदको भाषण, राष्ट्रपति कार्यालयमा हुने औपचारिक कार्यक्रम वा दशैँका टीकाजस्ता नागरिक पहुँच हुने सबै कार्यक्रममा राष्ट्रपतिसँग नागरिकको सिधा संवाद र सम्बन्ध स्थापित हुने प्रबन्ध गर्नुपर्छ । राष्ट्रपतिलाई यसरी अनावश्यक औपचारिकता बढाएर लाने हो भने राजा, राजतन्त्र र गणतन्त्रमा केही फरक हुन्न । लोकतन्त्र र गणतन्त्र भनेको नामका अगाडि ‘श्री ५ हटेको’ अर्काे रामचन्द्र पौडेल राष्ट्रप्रमुख हुने व्यवस्था र प्रणाली होइन । यो त नागरिक र जनताको आफ्नो व्यवस्था र प्रणाली हो । राष्ट्रपति जनताको हो । संविधानको संरक्षक हो । मुलुकको प्रमुख हो । श्रीपेच नगलाएको अर्काे एक थान राजा राष्ट्रपति होइन । यही गतिमा राष्ट्रपतिलाई राजाको जस्तै झल्को दिने र तत्कालीन शैलीको प्रतिलिपि हुबहु उतार्ने हो भने नारायणहिटीमा राखिएको श्रीपेच ल्याएर राष्ट्रपति रामचन्द्र पौडेललाई लगाइदिए हुन्छ ।
टिप्पणीहरू