कोकका निहुँमा उठाइएको झोंक

कोकका निहुँमा उठाइएको झोंक

एउटा कोकले सिंहदरबारदेखि त्रिपुरेश्वरसम्म रन्काउँछ भनेर कसैले सोचेका थिएनन् तर अहिले त्यही झोलले मन्त्रालयका सचिवदेखि विभागका उपसचिवसम्मलाई चिसो लगाएको छ । 

गर्मी चढ्दो छ । बजारमा कोक र पेप्सीको माग बढ्नुपर्ने हो तर जताततै क्लब कोला छाएको छ । आफ्नो उत्पादनमा ‘सौता’ लागेपछि बहुराष्ट्रिय कम्पनी कोकाकोलाले ट्रेडमार्क (ब्राण्ड) चोरी भयो भन्दै उद्योग विभागमा उजुरी दर्ता गरेकोमा दुई वर्षसम्म न मुद्दाको पेशी चढ्छ न त सुनुवाइ नै हुन्छ । यो त्यही विभाग हो, जसले आफू अनुुकूलका मुद्दा २ महिनामै छिनोफानो गर्दै आएको छ भने बहुराष्ट्रिय कम्पनीसँग जोडिएका सयौंं मुद्दा पेन्डिङमा राख्दै मोलमोलाइ गरिन्छ जसमा ‘स्याङ्जाली’हरू संलग्न छन् भनिन्छ । 

आफ्नो मुद्दा वर्षाैंसम्म पेण्डिङमा राखेर झुलाइएपछि ‘गौ प्राणी सचिव’का रूपमा चिनिएका तोयनारायण ज्ञवालीसम्म पुगे, सरोकारवालाहरू । ज्ञवालीले तत्कालै उद्योग विभागका कानुन हेर्ने उपसचिव दीपक घिमिरेलाई कार्यकक्षमा बोलाएर झाँको झारे । उनले सोधे पनि ‘यसमा तपार्इंहरूको मिलेमतो हो ? होइन भने किन २ वर्षसम्म झुलाएको ?’ तत्काल टुंग्याउन सचिवले निर्देशन दिएको पनि तीन साता भइसक्यो तैपनि उपसचिव घिमिरे गलेका छैनन् । गलुन् पनि कसरी, उनलाई हाकिम रामचन्द्र तिवारीको आड, भरोसा जो छ । 

 नेपालमा पेटेन्ट डिजाइन ऐन २०२२ पहिलो संशोधन २०४४ अनुसार आधिकारिक कम्पनीको अनुमतिबिना ट्रेडमार्क प्रयोग गर्न पाइन्न । दफा १९ मै गैरकानुनी ढंगबाट ट्रेडमार्क प्रयोग गर्न नपाइने र दफा १८ (ख) मा दर्ता नगराई रजिष्टर्ड ट्रेडमार्कको रूपमा प्रयोग गर्न नपाइने भनिएको छ । बिनाअनुमति ट्रेडमार्क प्रयोग गरिए जरिवाना र सामान जफत गरिनेसम्मको व्यहोरा ऐनमा छ । नीति खराब भए न बदल्न सकिन्छ, नियतै खराब भएकासँग कसको के जोड चल्दो रहेछ र ? आफूअनुकूल मुद्दा छिट्टो सल्टाउने र बाँकी मुद्दा अल्झाइने गरिँदा ५ सयभन्दा बढी मुद्दा पेण्डिङमा छन् । कोकाकोला त एउटा सानो उदाहरण मात्र भयो । 

अझै रमाइलोचाहिँ अहिले उद्योग मन्त्रालय स्याङ्जाली क्लबमा रूपान्तरण हुन पुगेको छ । सचिव मधु मरासिनीदेखि डिजी रामचन्द्र तिवारी, हरि पंगेनी, विश्ववन्धु रेग्मीहरू त्यतैका हुन् । त्यहाँको महत्वपूर्ण मानिने शाखा हो, अनुमति तथा इजाजत जसमा हरि पंगेनीलाई पठाइएको छ । यसअघि टे«डमार्ग शाखामा थिए । हालै विदेशी लगानी शाखामा शंकर धामीलाई ल्याइएको छ । यी यातायातमा हुँदादेखि नै विवादित पात्र हुन् । शाखा अधिकृत हुँदा उद्योगमा थिए अहिले उपसचिवमा उक्लिए पनि उद्योग नै चाहिएको छ । अनुमति शाखामा कालो काँग्रेसी भनेर चिनिएका विश्ववन्धु रेग्मी र यज्ञ अर्याललाई लगिएको छ । यता, राष्ट्रपतिको निर्वाचनमा आचारसंहिता लाग्नु २ दिनअघि सचिव मधुकुमार मरासिनीले उपसचिव शान्ता मरासिनीलाई विभागमा पठाएका छन् ।
 

टिप्पणीहरू