अब डा. रुइतकै भर

अब डा. रुइतकै भर

आँखा विशेषज्ञ डा. सन्दुक रुइतलाई हालै विदेशबाट एउटा ठूलो पुरस्कार प्राप्त भएको रहेछ । उहाँलाई धेरै धेरै बधाई । उहाँजस्ता विशेषज्ञलाई पुरस्कार दिने भनेको विदेशले मात्रै हो । स्वदेशमा त उही हो ।

यही मेसोमा डा. रुइतलाई एउटा अनुरोध गर्ने इच्छा भइरहेको छ । उहाँ नेपालका गाउँ गाउँमा जानुहुन्छ, आँखाको अपरेशन गर्नुहुन्छ । उहाँले अपरेशन गरेपछि जसले केही देखिरहेको छैन उसले सबै कुरा देख्न थाल्छ । जसले धमिलो मात्रै देखिरहेको हुन्छ उसले प्रष्टै देख्ने हुन्छ । जसले आधाउधी मात्रै देखिरहेको हुन्छ, उसले पूरै देख्न थाल्छ ।

उहाँको अपरेशनमा यस्तो जादु हुने गर्छ । यतिसम्म त ठीकै हो । अनुरोध गर्न खोजेको विषयचाहिँ के हो भने अब उहाँले यस्तै एउटा अपरेशन हाम्रो देशका नेताहरूको आँखामा पनि गरिदिनुपर्‍यो । अहिले हाम्रा नेताहरूको आँखामा पनि ठूलै खराबी आइरहेको देख्छु । उहाँहरूको आँखाले जे पनि धमिलो धमिलो मात्रै देख्छ, कुर्सी एउटाचाहिँ प्रष्टै देख्छ । वा भनौँ, कुर्सी मात्रै प्रष्ट देख्छ अरु जम्मै धमिलो देख्छ । 

कुर्सीमा पुगेपछि आँखामा फेरि अर्को समस्या आउन थाल्छ । देशमा बढिरहेको महँगी, लुटपाट, बलात्कार, आर्थिक संकट, असुरक्षाजस्ता कुरा देख्नै छोड्छ । कोही कोहीले त देख्छ, तर धमिलो धमिलो मात्रै देख्छ । सुटकेस लिएर आउने व्यापारीहरूलाई राम्रैसँग देख्छ, सडकमा सुतिरहेको बेसहारालाई पटक्कै देख्दैन । अस्पताल चलाउने मालिकलाई प्रष्टै देख्छ, उसैको अस्पतालमा पैसा नभएर मरिरहेका बिरामीलाई पटक्कै देख्दैन ।

शिक्षाका माफियालाई टाढैबाट देख्छ, पैसा नभएर पढ्न नपाएका युवालाई अगाडि नै आए पनि पटक्कै देख्दैन । विदेशबाट आएको रेमिटेन्स राम्रैसँग देख्छ, त्यो रेमिटेन्स पठाउन विदेशमा मरिरहेका नेपाली नागरिकलाई पटक्कै देख्दैन । 

आँखामा लाग्ने यस्तो रोगको पनि कुनै नाम त होला नि । हैन र डाक्टर साब ? के यस्तो रोगको अपरेशन गर्न मिल्दैन ? डा. रुइत त आँखाको विशेषज्ञ नै हुनुहुन्छ । आँखामा लाग्ने जम्मै खराबीबारे उहाँलाई थाहा छ । योचाहिँ कस्तो खराबी होला ? नेताहरूको आँखामा लागेको यो खराबी निको नहुञ्जेल देशमा केही होला जस्तो लागेन । डा. रुइतले हजारौं मान्छेहरूको आँखामा अपरेशन गरेर नदेख्नेलाई देख्ने बनाइसक्नु भएको छ । लौ न, अब नेताहरूको आँखामा पनि यतिचाहिँ अपरेशन गरिदिनुपर्‍यो डा. साब ! 

 

टिप्पणीहरू