जताततै जटाधारीको जग्गजगी

जताततै जटाधारीको जग्गजगी

काठमाडौँ शहरमा साउनका किरासरी भारतीय जोगीहरूको मगन्ते समूह र झुण्डैझुण्ड देखिन्छ । शिवरात्रिको नाममा हजारौं भारतीय विहारी जोगी काठमाडौँ आए । सबैजसो जोगीले काठमाडौँमा तमासा देखाए, ठगे । धेरैले अहिले पनि ठग्दै छन् । शिवरात्रिमा आउने जोगी प्रायः भारत फर्कने भए पनि दैनिक नेपालका विभिन्न शहर, जिल्ला र मूलतः काठमाडौँ उपत्यकामा ओइरिने फुस्रा खरानीधारी जोगीहरूले अनेकौं अन्टसन्ट बकमफुस्से बकवास गर्दै ‘ऐसा होगा, तैसा होगा’ भन्दै शहरबजारमा लुट्ने गरेका छन्, ठग्दै छन् ।

भिक्षा माग्न नदिने भन्ने संविधान कानुनको प्रबन्धलाई कडाइसाथ लागू नगर्दा नेपालका शहरबस्ती विहारी ठग जोगीहरूका लागि ‘लैनो गाई’ जस्तो भएको छ । हालैको शिवरात्रिमा त जोगीहरूले वितण्डा नै मच्चाए । राशनभेटीको बहानामा नेपालको प्रहरी प्रशासनलाई मात्र होइन, राजनीतिक व्यवस्था र प्रणालीलाई ‘भारतले देखाइदिने’ भन्दै धम्कीपूर्ण भाषा प्रयोग गरे । शहरमा दैनिकजसो जोगीको ताँतीले पसल, व्यापार तथा सपिङ मलमा चहार्दै गुण्डाले हप्ता उठाएजस्तो गरी उठाउने गरेको देखिन्छ । कतिपय अवस्थामा फुस्रा जोगीले स्थानीय बस्तीका घरमा रहेका महिला समेतलाई विभिन्न डरत्रास, धम्की र धार्मिक अन्धविश्वासको भ्रम छर्दै हजारौं असुल्ने गरेका घटना निरन्तर आइरहेका छन् ।

‘बेटा मुक्तिनाथ जाना है, टिकटको भाडा देदो, हम तुम्हारे बेटाबेटीको अच्छा भाकल पूरा करेंगें’ जस्ता वाहियात कथा बुनेर ठग्ने गरेका छन् । कतिपयले आफू भारतको फलानो काशी बनारसको मन्दिरको ‘बाबा’ भएको र आफूले दिएको ‘बुटी’ले चमत्कार हुने भन्दै ठूलो राशि असुल्न ४ आनाको ढुंगा बेच्ने गरेका छन् । यस्ता जोगीले अनेक प्रकारका फण्डाबाजी गर्ने गरेका छन् । उता आफ्ना नेपाली दाजुभाइलाई भने राजधानी शहरमा बस्नटिक्न नदिने नीतिसाथ महानगरले घोक्रेठ्याक, भाटा र डण्डा बर्साउने गरेको छ । पेटीमा बसेर मास्क बिक्री गर्ने झोले व्यापारी र शहरिया मजदुरलाई लौरैलौराले ड्याम्मड्याम्ती ठोक्ने दृश्य काठमाडौँमा सामान्य बन्न थालेका छन् । 

भारतीय भने आफ्नो मुलुकमा भन्दा पनि सुरक्षित र सानसँग पेशा–व्यापार गर्दै आएका छन् । विदेशी विहारीलाई दिएजति पनि सुविधा आफ्ना नेपाली दाजुभाइलाई किन दिन सक्दैन सरकार ? मदजुर, साना पेशाकर्मी र स्थानीयलाई आतंकित गर्ने नगर पुलिसले दैनिक हजारौँ संख्यामा शहरबजारमा जताततै फोहोर गर्ने पानीपुरी बेच्ने र खाली सिसी पुराना कागज भन्दै चहार्ने भारतीयलाई चाहिँ नियन्त्रण एवं निगमन गर्न किन सक्दैन ? कसको दबाबले त्यो गर्न नसकेको हो ?

सन् १९५० मा भएको नेपाल–भारत शान्ति तथा मैत्री सन्धिमा व्यवस्था गरिएका नेपालको राष्ट्रियता, स्वतन्त्रता एवं स्वाधीनताविरोधी प्रावधान आदिका कारणसमेत भारतीय जोगी, भोगी, ठग, अपराधी, अपहरणकारी, हत्यारा, कन्ट्याककिलर (सुपारीवाला), राजश्वमारादेखि अनेक प्रकारका भारतीय गठको जगजगी शहरबजारमा बढ्दै गएको छ । १ अर्ब ३५ करोडभन्दा बढी जनसंख्या भएको भारतबाट निर्वाध रूपमा भारतीयलाई बिनारोकतोक भित्रिन दिँदा नेपाली समाज, शहर, बस्ती तथा पूरै समाज तहसनहस हुँदै जान थालेको छ । अर्काे खतराको कुरा त त्यस्ता भारतीय जोगी, भोगी, अपराधी र अनेकौं खालका मान्छेले नेपालका तराईका विभिन्न जिल्लामार्फत नेपाली नागरिकता भटाभट लिने गरेका छन् । नागरिकता भएपछि अनेकौं वैध–अवैध पेशा गर्नेदेखि लिएर तराईमा हुलदंगा र हिंसा गर्दै राजनीतिमा आएका छन् ।

मेजरबाट जोगीले ४ हजार ठग्न पुग्यो । प्लेन टिकटको लागि फेरि थप ६ हजार उम्कायो ।

भारतीय नागरिकबाट नेपाली भएको छोटो समयमै राजेन्द्र महतो मन्त्री नै भए । यसरी भारतीय जोगी, भोगी र आपराधीका लागि सहज रूपमा नेपालको जुनसुकै स्थान सहज हुने तर आफ्ना नेपाली दाजुभाइ भने ५० डिग्रीको अरबको धुपमा गएर रगत–पसिना बेचेर नेपालमा रेमिटेन्स पठाउँछन् । प्रजातन्त्र आउनेबित्तिकै ४० लाख विहारी भारतीयलाई नेपाली नागरिकता दिइयो । भारतको विहारमा ‘यहाँ नेपालके नागरिकताके फारम भरते हे’ भनेर खुल्लमखुला नागरिकताको फाराम बिक्री गर्ने र भर्ने गरेका समाचार पटक–पटक आएका छन् । यसरी भारतका विहार, उत्तरप्रदेशलगायत राज्यबाट नेपालका शहर र जिल्लामा दैनिक अनेकौं बहानामा मान्छेहरू नेपाल छिर्दा नेपालको आन्तरिक सुरक्षा, स्वतन्त्रता, सार्वभौमता, सामाजिक सदभाव, सामाजिक नैतिकता तथा अपराधका अनेकौं गतिविधि ह्वात्तै बढेका छन् ।

शिवरात्रिको बहानामा पशुपतिको मन्दिरमा फ्रिमा गाँजा, भाङ, धतुरो, खानापानी, धुनीदेखि लिएर भेटी पनि मिल्ने भएपछि हजारौं हजार जोगी नेपाल आउने गरे पनि एक चौथाइ पनि जोगी भारत फर्कंदैनन् । अर्थात् शिवरात्रिका जोगी नेपालका शहर बजारमा घुम्दैघुम्दै आफ्नो गठी धन्दा चलाइरहेका देखिन्छन् । झोलामा एकमुट्ठी ढुंगा, बुटी नामका केही धागाका गाँठा, केही अक्षतापाती बोकी अन्धधार्मिक, सोझा र छिट्टै विश्वास गर्ने नेपाली गृहिणी, व्यवसायीदेखि लिएर अनेक पेशाका मानिसलाई अन्टसन्ट वेवकुफी कुरा गर्दै ठग्ने गरेका छन् । भारतीय जोगीको ठगी धन्दा चौतर्फी भए पनि कोही आफू ठगिएको लाजले र कोही अन्धविश्वासमा परेका कारण तैंचुपमैचुप भई बस्ने गरेकाले थोरै मात्र घटना प्रहरीमा वा सार्वजनिक सूचनामा आएका छन् । 

हालै मात्र काठमाडौँको न्युरोडमा नेपाली सेनाको एक मेजरबाट जोगीले ‘हम अघोरी बाबा है, हमारा बुटी रखलो, तुमको अमेरिकी भिसा लगेगा’ भन्दै ४ हजार ठग्न पुग्यो । त्यति मात्र होइन उसले आफू मुक्तिनाथ जान लागेको र त्यहाँ फूलपाती चढाएपछि ‘छोरा’ (बेटा) जन्मने भन्दै प्लेन टिकटको लागि फेरि थप ६ हजार ठग्न भ्यायो । केही घण्टापछि मेजरको साथीभाइ र स्थानीयले जोगीलाई खोज्दा जोगी त्यहाँबाट भागिसकेको थियो । पहिले जोगीले पैसा हातमा मात्र राख्न लगाएर सो पैसा उसैलाई फिर्ता दिने शर्तमा अक्षतापाती गरेको पीडितको भनाइ छ । यस्ता ठग जोगी दैनिक नयाँ–नयाँ रूप, भेष, रङ तथा पहिरनमा शहरमा घुम्ने गरेका छन् । कहिले कालाकाला, लामालामा टीका लगाउने, कहिले राताराता टीका लगाउने, कहिले जामा कहिले धोती आदिमा घुम्दै अनेकौँ बहानामा ठग्ने गरेका छन् ।

सानानिता ‘अलोबम, जयभोले, जयश्रीराम, ओम नमःशिवाय, हरिओम, जय पशुपतिनाथ, जयदेव, जयमहादेव’ जस्ता शब्द उच्चारण गर्दै भिक्षा, दान र नगद माग गर्दै शहरदेखि काँठका गाउँसम्म पुग्ने जोगीको संख्या हजारौं पुग्ने आकलन गरिएको छ । यसरी भारतका विहार, उत्तरप्रदेशलगायत विभिन्न राज्यबाट नेपालमा आएर अनेकौैं रूप, आवरण र नारामा ठग्ने जोगीहरूले नेपालीहरूको आतिथ्यको सोच, मानवलाई सम्मान गर्ने, धार्मिक भावना, परोपकारी एवं मानवीय हृदयमाथि खेल्दै जोगीहरूले ठग्ने गरेका हुन् । आफैँले आफ्नो नाम लेख्न नसक्ने अनपढ जोगीहरू वाहियात अन्टसन्ट बेतुके हवाइ गफ गरेको भरमा पढेका, धनी र शहरियालाई समेत सजिलै आफ्नो जालमा पार्दै छन् भन्ने ज्वलन्त उदाहरण काठमाडौँको न्युरोडमा नेपाली सेनाका मेजरलाई ठगेकोबाट प्रष्ट हुन्छ ।

भारतीय जोगीहरू अनेकौं फण्डा गर्दै ठग्दै ढुक्कसँग बस्न पाउने राजधानी शहरमा आफ्नै देशका नेपालीले भने मकै पोलेर बाँच्न पनि पाएका छैनन् । मास्क र पानी बेच्छु भन्न पनि पाएनन् । यही रफ्तारमा राज्यले विहारी जोगी भेषधारी ठगलाई खुलेआम ठग्न दिने हो भने केही दशकमै काठमाडौँ उपत्यका र ठूला शहरमा भारतीय ठग र अपराधीबाट नेपाली भाग्नु र तर्सनुपर्ने अवस्था प्रष्ट देखिन्छ । यसमा राज्यले पूरै नियन्त्रण गर्नु जरुरी छ । मजदुर, किसान र स्थानीयलाई डण्डा बर्साउने बालेनको डण्डा ठगी गर्दै हिँड्ने जोगीतर्फचाहिँ सोझिने कहिले ?

काठमाडौँको भद्रकालीमा सवारी साधन पूजा गर्न आउने सवारीलाई पार्किङ गर्न नदिने र मन्दिरमा वर्षौंदेखि पूूजापाठ गर्दै जीवनयापन गरी आएका नेपाली ब्राह्मणलाई मन्दिरमा बस्न नदिनेजस्तो गैरकानुनी, अमानवीय र अनैतिक कार्य गर्ने महानगरपालिकाले भारतीय जोगीका अनेकौं फण्डा तथा ठगी धन्दाचाहिँ कहिले देख्ला भन्ने प्रश्न सचेत नागरिकले गर्न थालेका छन् ।
 

टिप्पणीहरू