विप्लवको गृहजिल्लामा लघुवित्त र मीटरब्याजीमाथि प्रतिवन्ध

विप्लवको गृहजिल्लामा लघुवित्त र मीटरब्याजीमाथि प्रतिवन्ध

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पश्चिम कपिलवस्तुमा लघुवित्त र मीटरब्याजमा प्रतिबन्ध लगाएको घोषणा गरेको छ । 

नेकपा जिल्ला कमिटीले जनतालाई जीवनमरणको अवस्थामा पुर्याउने लघुवित्त र मीटरब्याजमा प्रतिबन्ध लगाएको बताएको हो । मीटरब्याजी र लघुवित्त संस्थाले विभिन्न डर, धम्की र दबाब दिएर आर्थिक शोषण गरिरहेको उल्लेख गर्दै नेकपाले यस्ता कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

जिल्ला कमिटी इञ्चार्ज हेमन्त सी र सेक्रेटरी पावेल सीले विज्ञप्ति जारी गर्दै डर, त्रास, धम्की, आतंक, दबाब दिई अनुचित आर्थिक नाफा असुल्ने वित्तीय अपराध तत्काल रोक्न मागसमेत गरेका छन् । साथै, बेवास्ता गरेको खण्डमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिइएको छ । 

‘हाम्रो पार्टी पश्चिम कपिलवस्तु जनतालाई डर, त्रास, धम्की, आतंक, दबाब दिई अनुचित आर्थिक नाफा असुल्ने लघुवित्त र मीटरब्याजीहरुलाई प्रतिबन्ध लगाएको घोषणा गर्दछ’, विज्ञप्तिमा भनिएको छ,‘हाम्रो शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरिए जनतालाई आत्महत्या गर्न बाध्य पार्ने वित्तिय अपराधीहरुले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिन चाहन्छौं ।’

त्यस्तै, बैंक तथा वित्तिय संस्थाहरुलाई वर्तमान चर्को ब्याज न्यूनिकरण गरी एक अंक कायम गर्न नेकपाको आग्रह छ ।

टिप्पणीहरू