जसलाई कमरेडले माथिसम्म पुर्याए
एमालेको बागडोर सम्हालेपछि अध्यक्ष केपी ओलीले ज–जसलाई काखी च्यापे, तीमध्ये एका–दुईले मात्रै संकटको घडीमा उनलाई साथ दिएका छन् । महेश बस्नेत तिनैमध्येका हुन् ।
विष्णु रिमालको त कुरा मात्रै, किनकि उनलाई चुनाव लड्नु छैन, ओलीबाहेक अरू कसैप्रति जवाफदेही बन्नु पनि छैन । स्थायी सल्लाहकार सुवास नेम्वाङ र झलनाथ खनाललाई पाखा लगाएर राष्ट्रपति बनाइएकी विद्यादेवी भण्डारी हुन् वा प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ सबै ओलीदेखि टाढिएका छन् ।
पूर्व प्रधानन्यायाधीश हरिकृष्ण कार्की त पहिले नै पर पुर्याइएकै थिए । ओली तजबिजी अधिकारको बढी उपयोग गर्न सक्रिय भएकाले यस्तो अवस्था आएको बताइन्छ ।
मेरिटका आधारमा कसैलाई पनि प्रमोट नगर्ने भएकै कारण ओलीले अहिलेको अवस्था भोग्नुपरेको धेरैको बुझाई छ । एक्कासी केन्द्रीय सदस्य र राष्ट्रिय सभाको सांसद बनाइएका कोमल ओली र दुर्गा प्रसाईंहरूलाई नियाले ओलीको काम गर्ने शैली प्रस्ट हुन्छ ।
बाकोटमा भान्सा कोठाको सयर गराइएकी रिमा विश्वकर्मा अहिले हु इज ओली, यस्तो नेता हामीलाई चाहिँदैन भन्दै उज्यालो नेपाल पार्टीको झण्डा उचाल्न पुगेकी छन् । दिनेश थपलियालाई प्रमुख निर्वाचन आयुक्तसम्म बनाइसकेकोमा उनले पनि लात हानेको दुखेसो ओलीले गर्दै आएका छन् ।
अख्तियार प्रमुख प्रेमकुमार राईले पनि हरेक आदेश तामेल गर्न नमान्दा पछिल्ला दिनमा सुखानुभूत गर्न पाएनन् । त्यसैगरी रवि लामिछाने पनि ओलीले शक्तिमा हुँदा जवर्जस्त प्रमोट गरेका पात्रको गन्तीमा आउँछन् ।
(जनआस्था साप्ताहिकको मंसिर २४ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू