अमेरिकन शैली

अमेरिकन शैली

एक समय अमेरिकामा बिल क्लिन्टनको शासन चल्ने गथ्र्यो । अर्थात् अमेरिकामा बिल क्लिन्टन राष्ट्रपति हुनुहुन्थ्यो । अमेरिकाको राष्ट्रपति भनेपछि अलि अलि चुरिफुरि त हुने नै भयो । बिल क्लिन्टनको पनि त्यस्तै चुरिफुरि थियो । अब त्यही चुरिफुरिको कारणले होला, एक दिन अमेरिकामा ठूलै काण्ड मच्चियो । अर्थात्, ह्वाइट हाउसमै काम गर्ने एक महिला कर्मचारीसँग उहाँको रसरंग चल्न थाल्यो ।

पहिले त कसैलाई थाहा थिएन । पछि कसरी हो कुन्नि थाहा भएपछि पूरा अमेरिकामा हंगामा मच्चियो । एउटी महिला कर्मचारीसँग राष्ट्रपतिको यौनसम्बन्ध छ भन्ने कुरा सार्वजनिक भएपछि त्यो ठूलो काण्ड हुनु स्वाभाविकै थियो । आफ्नो कर्तुतबारे ठूलै काण्ड मच्चिएपछि राष्ट्रपति क्लिन्टनले जनताको ध्यान अन्तै डाइभर्ट गर्न अचानकै अफगानिस्तानमाथि हवाई आक्रमण गराइदिनुभयो । 

अमेरिकी राष्ट्रपतिको त्यही कामको नक्कल अहिले काठमाडौंका मेयर बालेन साहले पनि गर्दै हुनुहुन्छ क्यारे । मेयर साहले गरेका विभिन्न कर्तुतहरूका विरुद्ध जनताले आन्दोलन शुरु गरेका छन् । अब त्यो आन्दोलनबाट जनताको ध्यान अन्तै डाइभर्ट गर्न उहाँले पनि आफ्नै कर्मचारीमाथि आक्रमणको तयारी गर्नुभएको छ ।

अब महानगरपालिकाका केही प्रमुख कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने तयारी छ । कर्मचारीमाथि छानबिन गरेपछि ध्यान त अन्तै डाइभर्ट हुने भयो । होइन ? काम राम्रै हो । बरु कर्मचारीको सम्पत्ति खोज्ने काम पनि सडकमुनि टुकुचा खोजे जस्तोचाहिँ नहोस् ।
 

टिप्पणीहरू