शोकको नयाँ परिभाषा

शोकको नयाँ परिभाषा

पोखरामा नयाँ विमानस्थल बनेसँगै ठूला दुर्घटना हुन थालेको छ । अस्ति माघे संक्रान्तिका दिन पनि एउटा दुर्घटना भयो । दुर्घटना ठूलै थियो । दुर्घटना हुनेबित्तिकै सरकारले सबैभन्दा पहिले गरेको निर्णय थियो, भोलिपल्ट सार्वजनिक बिदा । 

नेपालका कुनै पनि सरकारले जनतालाई सजिलै दिने भनेको विदा मात्रै हो । शान्ति, सुरक्षा, रोजगारी, राहत, सुलभ सेवा, सस्तो बजारभाउ जस्ता कुरा त दिनै सक्दैन । दिन सक्ने भनेको यही विदा मात्रै हो । त्यही दियो । सरकारले दिएको यो बिदाले मृतकको आत्मालाई शान्ति र परिवारजनलाई राहत मिलेको हुनुपर्छ । 

अब सरकारले दिएको यो बिदाले अरु पनि प्रश्नहरु उठाइदिएको छ । किनभने दुर्घटना त विमानको मात्र हुँदैन । बसको पनि हुन्छ । मिनीबसको हुन्छ । जीपको हुन्छ । कारको हुन्छ । टेम्पोको हुन्छ । मोटरसाइकलको हुन्छ । साइकलको पनि हुन्छ । यी दुर्घटनाहरुमा चाहिँ अब बिदा दिन्छ कि दिँदैन ?

त्यस्तै दुर्घटना हुँदा कति जनासम्मको मृत्यु भयो भने विदा पाइने हो ? कमसेकम पनि ७० हुनुपर्ने हो कि ? यदि हो भने हामीले बुझ्नुपर्यो, ७० जनासम्मको मृत्यु भयो भने सरकार शोकाकूल हुने रहेछ । १०–१२ जना अथवा ६९ जनासम्मको मृत्युमा चाहिँ सरकारलाई शोक नलाग्ने रहेछ । सरकारलाई शोक लाग्न पनि मृत्युको निश्चित संख्या चाहिन्छ । के यस्तो नयाँ मापदण्ड प्रकाशित भएको हो ?
 

टिप्पणीहरू