समावेशी सरकार

समावेशी सरकार

देशमा जुन सरकार आए पनि, जसको सरकार आए पनि त्यो समावेशी भएन भन्ने गुनासो रहने गर्छ । कहिले महिलाको प्रतिनिधित्व भएन, कहिले जनजातिको प्रतिनिधित्व पुगेन त कहिले दलितलाई समावेश गरिएन । सरकारको समावेशितामाथि सधैँ प्रश्न हुने गथ्र्यो । तर कमरेड पुष्पकमल दाहालको नेतृत्वमा अहिले जुन सरकार बनेको छ, त्यसलाई शायद यो आरोप नलाग्न सक्ला ।

किनभने यो एक पूर्ण समावेशी सरकार हो । यो सरकारले आफूलाई पूरै समावेशी बनाएको छ । हेर्नोस्, यो देशका गणतन्त्रवादी पनि यही सरकारमा छन्, राजतन्त्रवादी पनि यही सरकारमा छन् । पृथ्वीनारायण शाहलाई खुनी हमलावर भन्ने यही सरकारमा छ, राष्ट्रिय एकताको प्रतीक भन्ने पनि यही सरकारमा छन् ।

संघीय व्यवस्थाका कट्टर विरोधी पनि यही सरकारमा छ, संघीयता नभइ हुन्न भन्ने पनि यही सरकारमा । राष्ट्रिय अखण्डता बलियो पारौं भन्ने पनि यही सरकारमा छ, देश टुक्राउँछौं भन्ने पनि यही सरकारमा छ । के छैन यो सरकारमा ? सबैथोक छ । सबै किसिमका तत्वहरू समावेश भएको कारणले यो सरकारलाई एक पूर्ण समावेशी सरकार भन्न सकिन्छ ।

नेपालमा यो जत्तिको समावेशी सरकार शायद अहिलेसम्म बनेकै छैन होला । होइन र ?
 

टिप्पणीहरू