चिसोमा चितवन महोत्सवको राप–ताप

चिसोमा चितवन महोत्सवको राप–ताप

चितवनको गौरव र गरिमामय प्रस्तुति चितवन महोत्सवको १४ औं संस्करण पनि सदाझैं नारायणी नदी किनारमा पौष २५ देखि माघ ४ गतेसम्म आयोजना हुँदैछ । उद्योग वाणिज्य संघको आयोजनामा चितवन महोत्सव हुँदै आएको स्थल अहिले आफैंमा महत्वपूर्ण पर्यटकीय गन्तव्य बनिसक्यो । नारायणगढको नारायणी किनारमा अहिले हरेक दिन आन्तरिक पर्यटकहरुको बाक्लै चहलपहल देखिन्छ, व्यवसायिक गतिविधि फस्टाउँदैछ । आर्थिक क्षेत्रहरुको पहिचान र प्रवद्र्धनमा चितवन महोत्सव नदीछेउ पारिलो घाम ताप्ने कोसेढुंगा बन्दै आएको छ ।

हरेकपटक कुनै न कुनै व्यवसायिक सम्भावना बोकेका क्षेत्रहरुलाई विशेष प्राथमिकतामा राखेर जाडोमा महोत्सवको तातो चखाउने गरिएको छ । बाक्लो भीडमा दर्शक/अवलोकनकर्ताहरुले महोत्सव परिसरमा नौलो–न्यानो विविध राप–ताप र प्रकाश त पाउँछन् नै !  खासगरी उद्यम–व्यवसाय क्षेत्रलाई पारिलो घाम हो चितवन महोत्सव । भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको मुख्य प्रवद्र्धन एवम् सुपर जेनेरल (अल्फा इलेक्ट्रोनिक्स) को मुख्य प्रायोजनमा चितवन महोत्सव–२०७९ सञ्चालन हुँदैछ । यसपटकको चितवन महोत्सवको तातो केमा छ र ? विशेष प्रस्तुति र प्रदर्शनीहरु के–कस्ता रहेका छन् रु महोत्सव मूल समिति संयोजक समेत रहेका आयोजक संस्था उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठसँग गरिएको कुराकानी । 

१, सधैं पुष–माघको मध्यजाडोमा माहोल तताउँदै आएको चितवन महोत्सवमा यसपटक तात्तातो के छन्, जसले नारायणी किनार नारायणगढ अनि भरतपुर चितवन र समग्र आर्थिक, व्यवसायिक क्षेत्र गर्माओस् ?

 

– २०५३ सालदेखि हरेक दुई–दुई वर्षमा जहिले पनि हामीले पुषको २५ गतेदेखि माघ ४ गतेसम्म नै १० दिन चितवन महोत्सव सञ्चालन गर्दै आएका छौं । यो महोत्सवका लागि उपयुक्त समय भएर हामीले यसैलाई निरन्तरता दिँदै आएका हौं । चितवन जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथसाथै व्यवसायको प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्य रहँदै आएको छ । विगतमा हामीले पोल्ट्री, दुग्ध उत्पादन, केरा खेतीको प्रवर्धनात्मक कार्यक्रमहरु ग¥यौं । मह र माछालाई पनि यसअघि जोड दियौं । यसपटक तोरी खेतीतर्फ पनि किसानको आकर्षण बढाउन लागिएको छ । 

पहिले चितवन तोरीको लागि प्रख्यात थियो । १५/१६ हजार हेक्टरमा तोरी खेती हुन्थ्यो । पछि घटेर चार हजार हेक्टरमा झरेको थियो । अहिले फेरि बिस्तारै बढ्न थालेको छ । कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार अहिले १२ हजार हेक्टरमा तोरी खेती भइरहेको छ । चितवनमा २५/३० प्रतिशतले तोरी खेतीमा वृद्धि हुने समेत देखिएको छ । सम्भावना राम्रो छ । त्यसैले यसपटक मौरी र तोरीलाई प्रवर्धन गर्ने उद्देश्यले मौरीको प्रतिमासहित तोरीबारीको निर्माण गरी कृषितर्फ आकर्षण बढाउने प्रयत्न छ । साँच्चै आर्थिक क्षेत्रका लागि चहकिलो प्रकाश अनि न्यानो घाम हो चितवन महोत्सव । 

पर्यटनलाई यसवर्ष पनि चितवन महोत्वको केन्द्रविन्दुमा राखिएको छ । महोत्सव परिसरभित्र चितवनको विविधताको प्रतिनिधित्व गर्ने खालको कृत्रिम पार्क निर्माण गरिएको छ । विभिन्न कलात्मक आकृतिहरु बनाइएको छ । महोत्सव स्थलमा चितवनका पर्यटकीय गन्तव्यहरुको चिनारीसहितको प्रदर्शनी छ । पर्यटन सम्बन्धी गोष्ठी–सेमिनारहरु सञ्चालन गरिनेछन् । आन्तरिक र बाह्य पर्यटनको वृद्धि गरेर चितवनलाई पर्यटनको तेस्रोबाट पनि कसरी दोस्रो गन्तव्य बनाउन सकिन्छ रु भन्नेतर्फ हामी केन्द्रित रहेका छौं । पर्यटनमा योपल्ट ज्ञानेश्वर सामुदायिक वनलाई पनि हामीले जोडेका छौं ।

२,  यो १४ औं संस्करणसम्म आइपुग्दा अहिलेसम्म चितवन महोत्सवबाट प्राप्त उपलब्धिबारे पनि बताइदिनुहोस् न ?

– २०५३ सालमा हामीले पोल्ट्री, पोल्ट्री भन्यौं । त्यो बेलासम्म चितवनमा व्यवसायिक कुखुरापालन नै थिएन । कुखुरापालन पनि व्यवसाय हुन्छ र रु भन्ने सोच मानिसहरुमा थियो । त्यसलाई हामीले परिवर्तन ग¥यौं । पोल्ट्री एक्स्पो ग¥यौं । सेमिनार र गोष्ठीहरु चलायौं । पहिले लोकल र विकासे कुखुरा भन्ने मात्रै थियो । मासु र अण्डाका लागि ब्रोइलर र लेयर्स पालनका प्रविधिहरु हामीले देखायौं, सिकायौं । अहिले पोल्ट्रीमा धेरै लगानी भएको छ । मासु, अण्डा र दाना मात्र होइन ट्रे बनाउने, कार्टुन बनाउने, ह्याचिङ गर्ने जस्ता कुखुरासँग सम्बन्धित विभिन्न व्यवसाय बढेको छ । यो सबै चितवन महोत्सवको देन हो ।

यसैगरी, ‘एक गाउँ–एक उत्पादन’ अन्तर्गत केरा खेतीलाई प्रोत्साहन ग¥यौं । पहिले चितवनमा केराको व्यवसायिक खेती नै हुन्थेन । केराबाट पनि जीविकोपार्जन र आयआर्जन गर्न सकिन्छ र ? भन्ने थियो । अहिले ३२ सय–३३ सय बिघामा केरा खेती भइसकेको छ । यसले बाहिरबाट आउने केरालाई प्रतिस्थापन गरेको छ । चितवनको केरा तनहुँ, कास्की, धादिङ, गोरखा, काठमाडौं पनि जान्छ अहिले । २०६७ देखि हामीले चितवन महोत्सवमा केरा खेतीलाई जोड दिएका हौं, २०६९ मा अझ बृहत रुपमा कार्यक्रम ग¥यौं । हामीले केरा खेतीको अवलोकन भ्रमणका लागि यहाँका कृषकहरुलाई इण्डिया पनि पठायौ । 

चितवनमा जलविहारको सम्भावना पनि त हामीले देखायौं नि ! नारायणी नदीमा बोटिङको सम्भावना छ है भनेर हामीले चितवन महोत्सवबाट सुरुवात गरेका थियौं । पहिला महोत्सव हुँदा मात्रै बोटिङ हुन्थ्यो । हुँदाहुँदा अहिले व्यवसायिक रुपमा थुप्रै बोटिङ कम्पनीहरु आएर दैनिक रुपमा मानिसहरुलाई बोटिङ गराइरहेका छन् । यसले मनोरञ्जन पनि भयो, चितवनमा व्यवसायिक र पर्यटकीय गतिविधि पनि बढ्यो । 

३,  तपाईंहरुले कृषिका लागि चितवन, स्वास्थ्यका लागि चितवन, शिक्षाका लागि चितवन, बसोबास र घुमघामका लागि चितवन भनेर भनिरहनु भएको छ । त्यो किन, प्रस्ट्याइदिनुहोस् न ?

– चितवनलाई पहिले ७६ औं जिल्ला भन्थ्यौं, अहिले ७८ औं जिल्ला भन्छौं । देशकै केन्द्र भागमा छौं हामी । पूर्व–पश्चिम राष्ट्रिय राजमार्गको बीचमा छौं । यहाँबाट १७० किमिको परिधिभित्र बुटवल, भैरहवा, पाल्पा, तानसेन, पोखरा, दमौली, काठमाडौं, धादिङ, वीरगञ्ज, जनकपुर, हेटौंडा जस्ता नेपालका ठूला–ठूला शहरहरु छन् । चितवन हरेक दृष्टिले सम्भावना बोकेको छ । कृषिका लागि उपयुक्त भूमि, जलवायु हामीकहाँ छ । पोल्ट्री, मह, केरा, माछा, तोरी, तरकारी खेतीको लागि उचित देखिएको छ । तरकारी खेतीको प्रतियोगितात्मक प्रदर्शनी पनि हामीले महोत्सवमा राखेका छौं । यसैगरी, चितवनमा ठूला–ठूला होटल, अस्पताल, स्कूल, कलेजहरुको राम्रो सम्भावना छ । अहिले पनि स्वास्थ्यका लागि हरेक उपचारको सुविधा चितवनमा छ । उपयुक्त शैक्षिक गन्तव्य बनिरहेको छ । यहाँ म्यानेजमेन्टको, इन्जिनियरिङको, कृषि र वनको ठुलाठुला विद्यालयहरु, राम्रा–राम्रा प्लस टु कलेजहरु, मेडिकल कलेज, नर्सिङ कलेज छन् । सडक, यातायात, पानी, बिजुली सबै कुराको सुविधा छ । अझ २५ लाख जनसंख्या चितवनको इन्फ्रास्ट्रक्चरले धान्न सक्छ । घुमघामका लागि मनोरम पर्यटकीय स्थलहरु पनि थुप्रै छन् हामीकहाँ । 

४,  कोभिड १९ र तत्पश्चात व्याप्त आर्थिक मन्दीका कारण विक्षिप्त बनेका, हतोत्साही उद्योगी–व्यवसायी, नवउद्यमी र उद्यम गर्न चाहनेका लागि यो महोत्सवले के दिँदैछ ?

– चितवन महोत्सवले यहाँको बजारलाई आर्थिकरुपले चलायमान बनाउँछ । विभिन्न जिल्लाबाटसमेत अवलोकनकर्ताहरु आउँदा व्यवसायिक एक्टिभिटी बढ्ने नै भयो । अबको दशक आर्थिक क्रान्तिको दशक हो । आर्थिक वृद्धिदरतर्फ हामीले जोड दिएका छौं । केराको खाँबो वा विभिन्न रेसाबाट झोला, फुटम्याट बनाउने डेमो देखाउँदैछौं । टपरी बनाउने, मम बनाउने, नेप्किन बनाउने, टुथपिक बनाउने जस्ता घरेलु लघु उद्यमका लागि एकलाख, दुईलाख, पाँचलाख, दशलाखका नयाँ–नयाँ मेसिनहरु प्रदर्शनीमा राखिएको छ । महोत्सवमा उद्यम गर्न चाहने युवाहरुको डाटा संकलन गर्दैछौं, विगतमा पनि गरेका थियौं । उनीहरु कस्ताखालका व्यवसायमा इच्छुक छन् रु सोही अनुसार ज्ञान, सीप र प्रविधिबारे जानकारी दिइनेछ । चितवनमा हामीले च्याम्बर लर्निङ सेन्टर खोल्दैछौं, जसले युवाउद्यमी, नवउद्यमी, महिलाउद्यमी अनि विदेशबाट सीप सिकेर आएका युवाहरुलाई स्वदेशमै उद्यमी बनाउने बिजनेश प्लान दिनेछ । चितवनमा लगानी  भित्र्याउन महोत्सव लगत्तै हामी लगानी सम्मेलन पनि आयोजना गर्दैछौं । 

५, महोत्सवमा रहने स्टल र गरमागरम परम्परागत खानासहितको फुड फेस्टिभलबारे पनि जानकारी गराइदिनुहोस् न ?

– यस वर्षको चितवन महोत्सवमा सातवटा विशेष स्टल, डोम र कृषि परिसर, अटो परिसर, सूचना तथा प्रविधि परिसर, महिला उद्यमीबाट उत्पादित वस्तु, हस्तकला, जडीबुटी, मेड इन नेपाल परिसर, घरेलु तथा साना उद्योगका लागि आवश्यक मेसिनरी सामानको स्टल, विभिन्न संघ–संस्थाका स्टल, रेष्टूरेन्ट परिसर सहित ४५० वटा स्टलहरु रहेका छन् । 

 चितवन महोत्सव अन्तर्गत पौष २८ देखि माघ २ गतेसम्म क्याम्पाचौरमा हुने फुड फेस्टिभलमा यो पटक बाहिरी जिल्लाबाट पनि केही परम्परागत खानाहरुलाई समावेश गरिएको छ । पहिले चितवनको मात्रै परम्परागत खानाहरु पस्किनुका साथै कन्टिनेन्टल र अन्य खानाहरु राखिएको हुन्थ्यो । अहिले काठमाडौं, धादिङ लगायतका पहाडी जिल्लाबाट चितवनसँग नभएका नौला परम्परागत परिकारहरुलाई पनि समेटिएको छ । ती बाहिरी जिल्लाका स्थानीय खानाहरुको प्रवद्र्धनका लागि पनि हामीले त्यस्ता समूहरुहरुलाई सहुलियत दरमा स्टल प्रदान गरेका छौं । 

६,  मनोरञ्जनको व्यवस्था के छ रु यो महोत्सवमा हुने विविध सांस्कृतिक कार्यक्रमहरुबारे पनि जानकारी दिनुहोस् न ?

– यसपटकको चितवन महोत्सवमा केही नयाँपन दिन हामीले स्थानीय युवाहरुको लाइभब्याण्ड प्रतियोगिता राखेका छौं, जसमा नौवटा ब्यान्डले भाग लिएको छ । आधुनिक तथा पपगीतको लाइभब्यान्ड प्रतियोगिता पुष २६ र २७ गते हुनेछ । २६ गते नै राजा राजेन्द्रको हाँस्य प्रहसन र बिन्दु परियारको प्रस्तुति रहनेछ । २७ गते नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नायक पुष्प खड्का र गायिका अस्मिता अधिकारी प्रस्तुत हुनेछन् । २८ गते मुलाको साग र जोगिन्दर पानवालाको प्रहसन राखेका छौं । २८ गतेबाट दोहोरीगीत प्रतियोगिता हुनेछ, जसमा अमर विरही गुरुङ, राधिका हमाल, बद्री पंगेनी, प्रजापति पराजुली जस्ता राष्ट्रिय कलाकार सहभागी हुनेछन् । पुष ३० र माघ १ गते काठमाडौंका स्तरीय डान्सग्रुपहरुले चितवन महोत्सवमा नृत्य प्रस्तुत गर्नेछन् । चितवनका अन्तर माध्यमिक विद्यालयस्तरीय नृत्य प्रतियोगितासमेत हुनेछ । साथै नारायणी कला मन्दिर र स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहनेछ । जनजातिका नाच पनि देखाइनेछ ।

७, अहिलेको चितवन महोत्सवमा हुने आर्थिक कारोबार र आम्दानी–खर्चको अनुमानित हिसाब के छ ?

– यो चितवन महोत्सवमा करिब पाँचलाख दर्शक/अवलोकनकर्ताहरु आउने अपेक्षा हामीले गरेका छौं, जसमा २५ करोडजतिको कारोबार हुने हाम्रो अनुमान छ । महोत्सवबाट ६० देखि ६५ लाख हामी बचाउँछौं, जुन रकम उद्यमशीलताको विकास र पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धनमै खर्च गरिनेछ ।      
 

टिप्पणीहरू