गोपालजी कुन दुलोमा ? जनार्दनको पैसा क–कसकाे गाेजीमा ?

केन्द्रमा भएको सत्तासीन वाम लोकतान्त्रिक गठबन्धनको मर्मअनुसार रुकुम पश्चिमको हकमा भागबण्डा नमिलेपछि कांग्रेस र माओवादीद्वारा छुट्टाछुट्टै उम्मेदवारी दर्ता भयो । अर्थमन्त्रीसमेत रहेका माओवादी उपमहासचिव जनार्दन शर्माले कांग्रेस सभापतिलाई उपयोग गरेर तिनको उम्मेदवारी फिर्ता लिन लगाए । कम्तीमा प्रदेश सभाको एउटा पाउने आशा बोकेका कांग्रेसहरू ‘हिस्स बूढी खिस्स दाँत’ भनेझैँ भए । 

यो चुनावी सेरोफेरोपछि कांग्रेस रुकुममा सुरु भएको छ पैसा बाँडफाँडको लफडा । ‘केही कट्टर कांग्रेसचाहिँ माओवादीलाई भोट हाल्न नसकिने भन्दै चुपचाप बसे तर केहीलाई अर्थमन्त्रीको नजिक रहने र पैसा उठाउने ध्याउन्नमा लागे,’ कांग्रेस श्रोत भन्छ, ‘जिल्लाका नेताले गाउँका कार्यकर्तालाई उठ्न नसक्नेगरी थला पारे ।’

प्राप्त जानकारीअनुसार प्रधानमन्त्री देउवाबाट ‘जनार्दनलाई जिताएर आउनुस्, म हेरौँला’ भन्ने वचन पाएका कांग्रेस नेता गोपालजीजंग शाह मरिमेटेर लागिपरे । ७७ वर्षीय शाहले कुनै चुनावी सभा छाडेनन्, जनार्दनको भक्तिगान मात्र गाए । शाहले आफ्नै पार्टीका नेता रामशरण महतलाई खुइल्याउँदै ठोकुवा गरेका, ‘अमेरिका पढेका हाम्रा मान्छे, डाक्टर समेतले उकास्न नसकेको अर्थतन्त्र जनार्दन शर्माले उकास्नुभयो, रूखले केही गर्न सकेन, अब हँसिया हथौडाले देश बनाउँछ, म कपाल फुलेको मान्छेले सबै बुझेर यो कुरा भनेको छु ।’ यतिसम्म कि आठबिसकोटको गोतामकोटमा आयोजित चुनावी सभामा शाहले कांग्रेसले गर्दा जिल्लाको विकास भएन, माओवादीले विकासको लहर ल्याउँदा मेरो निर्देशनमा अवरोध गर्ने काम भयो भन्दै कान समातेर माफी मागेका थिए । 

यति सबै गर्नुको सार भनेको गोपालजीजंग शाहभित्र प्रकट भएको प्रदेश प्रमुखको लोभ नै थियो । ‘जनार्दनले उनलाई प्रदेश प्रमुखमा सहयोग गर्ने वचन दिएका रहेछन्,’ एक कांग्रेस नेताले भने, ‘पदको लोभले लाजै पचाएर जिल्लाको कांग्रेसलाई बिगारे, आज आएर कुन दुलोमा लुकेका होलान् ?’ शाह त पदको लालचमा फसे, पैसामा बिकेका कांग्रेसीको लिस्ट पनि लामै छ । 

जनार्दनसँगै चुनावी सभामा हिँड्न वडा सभापतिसम्मलाई विभिन्न दरमा माओवादीले पैसा दिएको बताइएको छ । केन्द्रीय सदस्य मानबहादुर नेपालीले तीस लाख, गोपालजीजंग शाहले तीस लाख, पार्टी सभापति प्रेमप्रकाश ओलीले २८ लाख ९५ हजार, कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकायाले १५ लाख लिएको हल्ला छ । लिएको र दिएको हिसाब यकिन नभए पनि त्यही सेरोफेरोमा जनार्दनको पैसा खाएको आरोप कांग्रेसजनमाथि लागेको छ । 

यतिसम्म कि ६ स्थानीय तह रहेको रुकुम पश्चिममा कांग्रेसका पालिका सभापतिहरूलाई ५ देखि १० लाख, ७३ वडाका सभापतिहरूलाई २५ हजारको दरले माओवादीले चुनावी खर्च दिलाएको बताइन्छ । वडा सभापतिहरूलाई दिने भनिएको २५ हजार रकम एजेन्ट बस्नेलाई दिनुपर्ने भनिए पनि केही बाहेकले नपाएको गुनासो छ । उक्त रकम पार्टी सभापति प्रेमप्रकाश ओलीले बुझेका थिए । सभापति ओलीले उम्मेदवारहरूको खर्च भन्दै केन्द्रीय कार्यालयबाट आठ लाखसमेत बुझेका थिए । यसबाहेक कांग्रेसका उपसभापति हर्कसिं खत्री, कोषाध्यक्ष मोहबिर खड्कालगायतले राम्रै रकम पाएको बताइन्छ । गठबन्धन दलको शुरुको चुनावी सभा चौरजहारी १० मा हुँदा आफ्नै नेता गोपालजीजंग शाहलाई कालोझण्डा देखाएका कांग्रेस नेताहरूसमेत पैसा पाएपछि स्थानीय स्तरको चुनाव परिचालन समितिमा बसेका थिए । 

माओवादीले आफ्नो पार्टीका वडाकमिटीमा पनि ५० हजारको दरले चुनावी खर्च पठाएको बुझिन्छ । मंसिर ४ को चुनावमा माओवादीले आफ्ना पार्टीका भन्दा पनि नेपाली कांग्रेसका नेताहरूलाई रिझाउनका लागि बढी पैसा बाँडेको आरोप छ । कतिपय जिल्लाका क्रियाशील कार्यकर्तालाई समेत माओवादीले छुट्टै व्यवस्था गरेको बताइन्छ । 

मौन अवधिमा सिम्लीको अर्मास्थित काफलबोट जान लागेको बेला पैसावाला गाडीलाई प्रशासनले फर्काएको थियो । त्यसमा माओवादी केन्द्रका विमला केसी, देवीलाल गौतम, नेपाली कांग्रेसका गोपालजीजंग शाह, नेविसंघका लालबहादुर ओली थिए । पैसा बाँड्न जान लागेको सूचनापश्चात् जिल्ला अनुगमन समितिले अनुरोध गरेर गाडी फर्काएको थियो । देशभरिबाटै अत्यधिक मतान्तरले विजयी भएर देखाउनेगरी माओवादीले जिल्लास्तरको प्रमुख प्रतिपक्षीलाई लोभ्याए पनि त्यो सफल भने भएन । 

 

टिप्पणीहरू