उत्पादन र रोजगारीमा योगदान पुर्याएको सीवाईसीको दाबी

उत्पादन र रोजगारीमा योगदान पुर्याएको सीवाईसीको दाबी

-राजेशचन्द्र राजभण्डारी

सर्वत्र लघुवित्त संस्थाले सर्वसाधारणको उठिबास लगाएको आरोप लागिरहँदा बागलुङमा भने लघुवित्तका कारण ग्रामीण क्षेत्रमा उत्पादन र रोजगारीको सम्भावना बढेको बताइएको छ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले आयोजना गरेको कार्यक्रममा उक्त दाबी गरिएको छ ।

बेरोजगारसँग रोजगार, उत्पादनसँग बजार तथा आर्थिक अभावसँग सिवाईसी लघुवित्त भन्ने नारासाथ संस्थाका केन्द्र प्रमुख र उप–प्रममुखहरुको गोष्ठी तथा साक्षरता विषयक अन्तक्रिया कार्यक्रममा ग्रामीण क्षेत्रका सर्वसाधारणले लघुवित्तबाट ठूलो राहत पाएको बताइएको छ । 

कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठ, संस्थाका संस्थापक चण्डीप्रसाद शर्मा, नेपाली कांग्रेसका प्रतिनिधि जगन्नाथ आचार्य, नेकपा एमालेका अध्यक्ष हिराबहादुर केसी, बागलुङ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष सुरज वोसेल, वडा नम्बर १३ का वडाध्यक्ष नारायणशर्मा पौडेल, आन्तरिक राजस्व कार्यालयका प्रमुख शालिकराम आचार्य, संस्थाका प्रबन्ध सञ्चालक डोलेन्द्र शर्मा, सेयर सदस्य इन्द्रराज पौडेल, नेपाल पत्रकार महासंघका सचिव विजय राना, बागलुङ उद्योग वाणिज्य संघका महासचिव ऋषिराम गौतम, बैकुण्ठ नगरी आत्मनिर्भर समूहका डिलकुमारी कडेल लगायतका वक्ताले लघुवित्त वित्तीय संस्थाको गुणगान गरेका हुन् । उनीहरुको तर्क थियो, ‘समाजमा निम्न आय भएका विपन्न र पछाडि पारिएका वर्गको उत्थान गर्न लघुवित्तले मद्दत गरेको छ । यसलाई अझै प्रभावकारी बनाउन जरुरी देखिन्छ ।’

बागलुङबाट शुरू भएको उक्त लघुवित्त संस्था अहिले ७२ जिल्लामा विस्तार भएको छ । एक सय १८ वटा शाखा मार्फत सेवा दिइरहेको लघुवित्तको ७२ जिल्लामा ९३ हजार सदस्य रहेको र ५७० जनाले प्रत्यक्ष रोजगारी पाएको बताइन्छ । बागलुङ जिल्लामा उक्त संस्थाका तीन हजार आठ सय सदस्य छन् ।

टिप्पणीहरू