महानगरमा यस्तरी फैलियो महारोग

महानगरमा यस्तरी फैलियो महारोग

सहनुको पनि हद हुन्छ ! जब अत्याचारले सीमा नाघ्छ तब विद्रोहको ज्वारभाटा निस्कँदोरहेछ । ०५० साल भदौ १४ गते नगर प्रहरीमा नियुक्त भएको हुँ । सात वर्षपछि (०५७ मा) स्थायी भएँ । दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आएँ । ०७९ को स्थानीय निर्वाचनपछि काठमाडौँको मेयर र डेपुटी मेयर नै युवा आए । यसले हामी नगर प्रहरीलाई पनि आशातित बनायो । दिन–रात नभनी काममा खट्दै गयौँ । मेयर बालेन साहले राजु पाण्डेलाई नगरको एसपी बनाउनुभयो । एसपी ५ जना हुँदा झण्डै दुई वर्षसम्म सिपाही नियुक्त हुन सकेनन् ।

नगर कमाण्डरहरूमा विष्णु जोशी, राजु पाण्डे, धनपति सापकोटा, दिनेश अर्याल र मनोज लामिछाने छन् । ती कसैको पनि एक अर्कासँग ट्युनिङ मिल्दैन । ६ जना डिएसपी, ३३ इन्स्पेक्टर, ४२ सई, असई ३३ र ६३ हवल्दारको दरबन्दी छ । माथि टाउकेहरूबीच नै मेल नभएपछि तलका प्युसाहरूलाई मात्र पेलेर हुन्छ ? बालेनको सुधारको हुटहुटीलाई साथ दिन हामी तल्ला तहका नगर प्रहरी १५ घण्टासम्म लगातार ड्युटीमा खटिएका छौं । तर प्रोत्साहन त परको कुरा उल्टै अपशव्द सुन्नुपर्दछ ।

गालीको बर्षा हुन्छ ? के हामी एसपीको गाली खानका लागि महानगरमा भर्ती भएका हौं ? अहिले धनपति सापकोटा के गरिरहनुभएको छ ? हिजो धनपति कमाण्डर हुँदा राजुले पाँच वर्षसम्म सुतेर खानुभएको होइन ? कार्यालय आउने, हाजिर गर्ने र फर्कने गरेको होइन ? उहाँले त्यो पाँच वर्षसम्म एक दिन पनि युनिफर्म लगाउनु भएन । डिएसपीको फुली लगाएर हाजिर गर्दै घर जानुभएको होइन ? उहाँलाई कार्यालयमै सुत्ने छुट थियो । हिजो उहाँले काम गर्नुभएको भए अहिले हामीलाई यस्तो लोड नै हुँदैन थियो । 

अनि अहिले हामीले एक दिन बिदा नपाउने । मान्छेको शरीर हो, मेसिन त होइन नि सातै दिन, चौबिसै घण्टा घोटिनका लागि ! हामीले एक दिन काम गर्न सकेनौं भने ‘तँ अहिले नै घर जा भन्ने हो ?’ यही हो कमाण्डरले गर्ने व्यवहार ! एसपी पाण्डेलाई काम चाहिएको हुँदै –होइन । उहाँलाई सुमेरु पर्वत ठानेर परिक्रमा गर्ने गणेश चाहिएको हो । काम गर्ने मान्छे चाहिएको थियो भने फिल्डमा कसले खटेको छ त्यसको मूल्यांकन हुनुपर्ने थियो कि थिएन ?

बालेन मेयर बनेर आउनुभएको ८ महिना भयो । उहाँका हरेक काम कुरा सुक्ष्म ढंगले अध्ययन गरिरहेको छु । समस्या लिएर हामी सइ, असइले प्रमुख कार्यकारी अधिकृत अर्थात् मेयर र उपमेयरकहाँ जानु उति उचित हुँदैन । ती सबै गुनासा एसपीले सुन्नुपर्ने हो । तर, एसपी साबलाई आफू राजा, महाराजाभन्दा ठूलो पोष्टमा पुगेँ भन्ने भान भए र हो कि ? ५३ वर्षको उमेरमा दैनिक १५ घण्टा बुट लगाएर ड्युटी गर्नुपरेको छ । एउटै कुराले दिनरात घोचिराख्ने । मैले काम गर्न सकेको हो कि होइन त्यो त सडक व्यापारी र महानगरपालिकाकै कर्मचारीलाई थाहा छ । शुरु शुरुमा मैले काम गर्दा उनैले नै होइन र तारिफ गरेको ? अहिले मैसँग आइलाग्ने ? मैले काम गर्न नसकेको भए संस्थाले साढे तीन दशक पाल्दैनथ्यो होला नि !

म गफ र चाकडी होइन, काम गर्ने मान्छे । हामी ड्युटीमा खट्ने बेला एउटा लौरो पनि हुँदैनथ्यो । घामपानी नभनी १२ देखि १४ घण्टा खटेर बनाएको संगठन हो यो । तर, अहिले संगठन प्रमुखमा खै मानवीयता ? इन्स्पेक्टर जनार्दन शर्मा बिरामी पर्नुभयो । अन्न–पानीको शरीर, कहिलेकाँहीं बिरामी परिन्छ । तर, शरीरलाई आराम चाहिने बेला उल्टै ड्युटीमा खटाइदिने ? यही नगरप्रहरीभित्र यस्ता पनि सई छन् जसले ९ महिना कामै नगर्दा पनि तलब खुवाइन्छ । उनै पाण्डेले असई साप प्रकाश सिलवाललाई कुट्न खोजे । कार्यालयमा बोलाएर कारबाही प्रक्रिया अगाडि बढाउने हो कि हप्कीदप्की गरेर झम्टने ? कोही कसैले त्यस्तो ग¥यो भने सेटमै कुट्दै लिएर आइज भन्ने हो ?

मलाई आफ्नै संगठनका साथीहरूलाई कुट्दै एसपीकहाँ लैजाने अधिकार छ ? अनि काम गर्ने मान्छेलाई किन कुट्ने ? कामै नगरी, हाजिर मात्र गरेर खानेलाई कुटुन् न सक्छन् भने । हामी तीनजना असई चन्द्रमान भुजेल, असई इन्द्रकुमार राई र सई लोकनाथ चुडाल सार्वजनिक बिदाको दिन पनि ड्युटीमा जाँदा पनि उल्टै नराम्रो कुरा गर्ने ? त्यही बजारमा छानबिन गर्नुस् भनेका छौं । सुत्केरी महिला प्रहरीमाथि उस्तै अभद्र व्यवहार र दुव्र्यवहार भयो । यी सबै व्यवहारले मेरो मन छियाछिया बनाएको हो । भेटेर कुरा राख्न खोज्यो । पीडा सुन्ने फुर्सद नै कहाँ छ र ? 

धनपति सापकोटाको कार्यकालमा म यहाँ आएँ भन्दैमा म उहाँकै मान्छे हुन्छु ? पाण्डेसँग २२ वर्ष अघि पिकनिकमा जाँदा झगडा भएको थियो । त्यतिबेला मैले टाउको फुटाइदिएको थिएँ । आज उहाँ नगरप्रहरी प्रमुख भएपछि त्यसबेलाको रिसइबी साँध्नुभएको हो । उहाँले कार्यभार सम्हालेपछि पनि तीन पटक बोलाएर तँ एउटा योद्धा होस्, काममा खट् अन्याय हुन दिन्नँ भन्नुभएको थियो । मैले पनि भूमिका दिनुस् जस्तोसुकै काम गर्न तयार छु भनेको थिएँ । तर पछि हामीलाई घुमाएर टचर गर्न थालेपछि असैह्य पीडा भएर राजीनामा दिएको हुँ । जागिरे जीवनमा बेइमानीको बाटो बनाएको भए मेरो पनि घर, गाडी हुँदो हो । तर त्यस्तो बाटो कहिल्यै हिँडिएन । सुधार चाहँदा र विद्रोही स्वभावका कारण एकै दिन तीन पटकसम्म सरुवामा परेको मान्छे हुँ । महानगरपालिकाबाट प्राप्त सबै सेवा र सुविधा लिने, एउटाले अर्काेको खेदो खन्ने काममा मात्र व्यस्त छन्, टाउकाहरू । कसैलाई नगर प्रहरीको ज्याकेट मात्र लगाइदिएर हुन्छ र ? 

 

– लोकनाथ चुडाल
 

टिप्पणीहरू