आलोपालो प्रणाली

आलोपालो प्रणाली

नेपाली राजनीतिमा सबैभन्दा लोकप्रिय प्रणाली भनेको आलोपालोकै रहेछ । अहिले फेरि आलोपालो प्रणालीको चर्चा चल्न थालेको छ । पहिले राणाकालमा यही प्रणाली थियो । एक भाइको पालो सकिएपछि अर्को भाइको पालो आउँथ्यो । पछि राणा शासन हट्यो । तर राणा शासन हटे पनि आलोपालोचाहिँ हटेन । 

राणाकालपछि पञ्चायतकाल शुरु भयो । पञ्चायतकाल पनि पूरै आलोपालो प्रणालीमा चलेको थियो । त्यसमा राजालाई मन परेका नेताहरूबीच आलोपालो हुन्थ्यो । कहिले कीर्तिनिधिको पालो, कहिले सूर्यबहादुरको पालो । कहिले बाउको पालो, कहिले छोराको पालो पञ्चायत ढल्यो । बहुदलीय शासन आयो । त्यो पनि आलोपालो प्रणालीमै आधारित थियो । पछि गणतन्त्र आयो । तर आलोपालो गएन । कायमै रह्यो । 

मलाई त यस्तो लाग्छ, नेपालमा प्रजातन्त्र र गणतन्त्रभन्दा पनि बलियो कुनै तन्त्र छ भने त्यो आलोपालोतन्त्र नै होला । अहिले पनि पुस १० गते सरकार गठन गर्नुपर्ने बेला भइसक्यो, पहिले कसको पालो भन्नेमै विवाद चलिरहेको छ । आलोपालो प्रणाली रामै भए पनि त्यसमा एउटा खराबी रहेछ । त्यो के भने, आलोपालो प्रणालीमा आलो त आउँछ तर पालोचाहिँ आउँदैन  । आलो आइसकेपछि पालोको ठेगानै हुँदैन । त्यसैले आलोपालो प्रणालीमा सबैजनाले आलो मात्रै ताक्ने । आलोपालो प्रणालीमा गए पनि पालो नआएर हैरान भएका नेताहरू अहिले आलो नै ताक्ने । पालोको के ठेगान ?

टिप्पणीहरू