लुम्बिनीको मुख्यमन्त्रीमा अर्का महरा तम्तयार

लुम्बिनीको मुख्यमन्त्रीमा अर्का महरा तम्तयार

नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा रोल्पा (क) बाट निर्वाचित सांसद जोखबहादुर महराले पार्टीले लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीका रूपमा आफूलाई अघि सार्नुपर्ने बताएका छन् ।

चुनाव जितेर काठमाण्डौँ आएलगत्तै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेका छन् । उक्त भेटमा उनले लुम्बिनी प्रदेशमा माओवादीबाट आफूलाई नै मुख्यमन्त्री बनाउनुपर्ने बताएको श्रोतको दावी छ । महरालाई मुख्यमन्त्री बनाउने कुरामा प्रचण्ड पनि सकारात्मक देखिएकाे बताइन्छ ।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको दावेदारका रुपमा माओवादीबाट तुलाराम घर्ती र इन्द्रजित चौधरी पनि छन् । उनीहरूभन्दा महरा बलिया दावेदार भएकाे माओवादीभित्र चर्चा छ।

को हुन् महरा ?

वि.सं. २०२० सालमा रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. ५ (साविक गजुल गा.वि.स–२) मा जन्मिएका महराले २०३५ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा शुरु गरेका थिए।

राजनीतिशास्त्र तथा अर्थशास्त्रमा स्नातक तह उत्तीर्ण गरेका महराले राजनीतिमा लाग्नु पूर्व र लागेपछि पनि लामो समय प्रा.वि र मा.वि शिक्षकको रुपमा अध्यापन गरेका थिए ।

अध्यापनसँगै राजनीतिमा पनि सक्रिय बनेका महरा २०४२ सालमा अखिल दाङको सचिव बने । त्यो सँगै नेकपा (मशाल) को पार्टी सदस्यता लिएका उनी २०४३ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य,२०४७ सालमा नेकपा (मशाल) को रोल्पा जिल्ला समिति सदस्य हुँदै २०५० सालदेखि पार्टीमा पूर्णकालीन कार्यकर्ता बनेका हुन् ।

२०५१ सालमा नेकपा (माओवादी) को रोल्पा जिल्ला सेक्रेटरी बनेका उनी २०५४ सालमा क्षेत्रीय व्यूरो सदस्य र २०५६ सालदेखि चार वर्ष अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी सम्हालेका थिए । २०६० सालमा माओवादी केन्द्रीय सदस्य बनेका महरा २०६४ मा समानुपातिकतर्फबाट संविधानसभा सदस्य भएर संसद भवन प्रवेश गरेका थिए।

संविधान सभा सदस्य बन्नुअघि २०६२ देखि २०६५ सम्म पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख स्वकीय सचिव बनेका उनी २०७३ मा प्रचण्ड प्रधानमन्त्री हुँदा पुनः उनको प्रमुख स्वकीय सचिव बनेका थिए। हाल प्रदेशसभा सदस्यमा विजय भएका छन् ।

टिप्पणीहरू