गर्नु गर्ने, अन्तिममा ‘युवा’ भन्ने ?

गर्नु गर्ने, अन्तिममा ‘युवा’ भन्ने ?

– दीपक खनाल 

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन (२०७९) सबैको घर, आँगन, कोठा, चोटामा आइसकेको छ । निर्वाचन आयोग नेपाललगायत राज्यका सम्पूर्ण संयन्त्रको ध्यान निर्वाचनमै केन्द्रित छ । सबै राजनीतिक दल, स्वतन्त्र व्यक्तित्व आ–आफ्नो पक्षमा मतदाताको ध्यान खिच्न तीव्र रूपमा खटिरहेका छन् । यी दल र केही स्वतन्त्र मानिसहरू जनताको मुरी (मंसिर) भित्र्याउने बेलामा सत्ताको साँचो भित्र्याउने कोसिसमा लागिरहेका छन् । यस्तै आफूलाई कम्युनिष्ट धारमा उभ्याउन चाहने केही पार्टीहरू यो निर्वाचनकै विरुद्धमा उत्रेर नाराजुलुस, सभा, सम्मेलन गर्न व्यस्त छन् । जो जो ले जे जे भने गरे पनि माहौल निर्वाचनकै छ । यसवर्षको चिसो ह्वात्तै बढिसकेको भए पनि देश निर्वाचनकै गरमागरमले तातिरहेको छ । धेरै पहिले पहिलेको निर्वाचनको प्रचारप्रसारमा गाइएजस्तै ‘निर्वाचनको लहर गाउँबेसी सहर चल्न थाल्यो फेरि हजुर’ भएको छ । यसपटक सत्ताको साँचो जनताले कसको हातमा सुम्पने हुन् भन्ने कुरा भने मंसिर ४ पछि मात्रै थाहा हुनेछ । यद्यपि अहिलेसम्मको वस्तुस्थिति हेर्दा मंसिर ४ पछिको सत्ता समीकरणको अवस्था पनि वर्तमानको जस्तै हुने आंकलन गर्न सकिन्छ । एकाध नयाँ पार्टी तथा स्वतन्त्र मानिसहरूभन्दा दलीय संयन्त्रमा लामो समयदेखि संगठित दलमा नै बढी शक्ति, संगठन हुने भएकाले मुलुक यो वा त्यो गठबन्धनकै नेतृत्वमा चल्ने निश्चितजस्तै छ । 

तारो पुरानै दल र नेता

खासगरी २०४६ देखि २०७९ सम्म पटक पटक सत्तासीन अनि राजनीतिमा सक्रिय पाका राजनीतिक दल र तिनका नेताहरूविरुद्ध आक्रोश, असन्तुष्टि पोखिएको देखिएको छ । यी दल र तिनका नेताहरूमाथि आम निर्वाचनको सन्मुखमा झन् बढी शाब्दिक प्रहार भइरहेको छ । केही स्वतन्त्र र भर्खरै राजनीतिक दलको सिन्दुर पहिरिएका युवा पनि पाका नेतालाई नै गालीगलौज गर्न पाएर रमाइरहेकै छन् । बिडम्बना नै भन्नुपर्छ तथाकथित सन्तुलित पत्रकारिताको नाममा केही नयाँ र बढीजसो पुरानो विचार अंगाल्ने पत्रकार र समाचार माध्यमले के के न ठानेर उनीहरूका गाली पुराणलाई ठाउँ दिएको पाइएको छ । यही मेसोमा कतिपयले नो नट अगेन भनेर सामाजिक सञ्जालमार्फत हल्ला मच्चाएका छन् । कतिपय पत्रकार, लेखक, बुद्धिजीवी भनिने र सामन्तवादी शासनको विरासतपछि पाखा लागेर यता न उता भएका मानिसहरूले पुरानो राजनीतिक दलका पाका नेताहरूले युवालाई ठाउँ दिनुपर्छ अर्थात् तिनीहरूलाई युवाले पाखा लगाउनुपर्छ भन्दै मतदातालाई उरालिरहेको पाइन्छ । यस्तो ठाउँ दलभित्रकै युवालाई दिने कि वा अन्य युवालाई दिने भनेर तिनीहरूले स्पष्ट नपारे पनि दिनपर्छ भन्न खोजेको चाहिँ सामन्ती युवालाई नै हो । किनकि पछिल्लो समयसम्म आउँदा सामाजिक सञ्जालमा स्वतन्त्र भनेर चिच्याउने तथाकथित युवा हल्लाखोरहरू को रहेछन् र तिनीहरूको गला कहाँ जोडिएको रहेछ भन्ने कुरा छलंगै देखिएको छ । ती सामन्तवादी बोक्साबोक्सीहरूले छाडेका उरन्ठेउला छौँडाहरू रहेछन् भन्ने प्रस्ट भएको छ । 

को युवा को पाका ? 

हाम्रो राजनीतिमा भने कतिपय दलले ७० वर्षको नेतालाई पनि युवानेता भनेर हँसाउँदै आएका छन् । नेपाली बृहत् शब्दकोशले तरुण, जवानीले नछाडेको र बुढ्याइँले नछोएको व्यक्तिलाई युवा भन्दोरहेछ । राष्टिय युवा परिषद् ऐन, २०७२ को परिभाषाअन्तर्गत खण्ड च मा १६ देखि ४० वर्ष उमेरको मानिसलाई युवा परिभाषित गरिएको छ । संयुक्त राष्ट्रसंघले भने १५ देखि २४ वर्षको व्यक्तिलाई युवा मान्दोरहेछ । हो, युवा उमेरमा नै हो मानिसले जुनसुकै क्षेत्रमा केही न केही गरेर देखाउने वा केही गर्ने लक्षण देखाउने । राजनीतिक क्षेत्रकै कुरा गर्दा आजका देशी विदेशी नेताले युवा उमेरमा नै केही न केही गरेका हुन् । गर्ने आँट गरेर लक्षण देखाएका हुन् । अन्य क्षेत्रमा स्थापित व्यक्तिले पनि युवा उमेरमा नै आफूलाई उभ्याएका हुन् । यी र यस्ता कुरामा कुनै विवाद छैन । तर अहिले राजनीतिक क्षेत्रमा पाका नेतालाई पाखा लगाएर युवानेताले मात्रै सत्ताको बागडोर सम्हाल्नुपर्छ भन्ने रटान लगाइएको छ । यस्तो रटान कतिपय ठूला राजनीतिक दलका पाका नेताले नै लगाएका छन् । राजनीतिकबाहेक अन्य क्षेत्रमा चाहिँ यस्तो नारा हाइलाइटेड भएको देखिँदैन । हो पाका नेताले अनेकौँ गल्ती गरेका छन् । तिनीहरूको जति आलोचना गरे पनि पुग्दैन तर सकारात्मक कोणबाट हेर्दा मुलुकलाई आजसम्म यो ठाउँमा ल्याइपुर्याएको त पाका नेताले नै हो नि त । उनीहरूलाई अझै सुधार्न, दबाब दिन आवश्यक छ पाकालाई विस्थापित गरेर युवानेतालाई मात्रै स्थापित गर्ने भन्ने तर्क र तर्कना त्यति व्यावहारिक देखिँदैन । धेरै पाका नेता भ्रष्ट पनि भए । सत्य पनि हो तर योभन्दा पहिले हालको युवानेतृत्व (राजनीतिक क्षेत्रका युवानेताकै चर्चा गरिएको हो) र सामाजिक सञ्जालको टुप्पाबाट पलाएका केही कथित युवानेतालाई विभिन्न कसीमा राखेर तौलनुपर्ने हुन्छ ताकि यो नेतृत्व भोलिका लागि मुलुक हाँक्न सक्ने होस् । पाका नेता भन्दा पहिले आफू सदाचारी देखियोस् । जस्तै,  

सिद्धान्त के हो ? गन्तव्य कहाँ हो ?  अहिले विभिन्न माध्यमबाट चुल्बुलाइरहेको दलीय युवाको समेत सिद्धान्त के हो ? गन्तव्य कहाँ हो ? यो वर्ग सही नेतृत्व, सिद्धान्त, मार्गदर्शन र लक्ष्यबिना गन्तव्य पुग्न सक्छ ? सामाजिक सञ्जालबाट पलाएको स्वतन्त्र युवा नेतृत्वको मार्गदर्शन, सिद्धान्त के हो ? जाने कहाँ हो ? शासनसत्ता प्राप्त गर्ने र हाँक्ने बल र भिजन कहाँबाट प्राप्त हुन्छ ? विश्वका क्रान्तिका कथा, व्यथा नपढेको, नसुनेको, जनआन्दोलन, जनयुद्ध नदेखेको र नझेलेको, कहिल्यै सहभागी नभएको र प्रतिक्रिया मात्रै गर्न जान्ने(क्रियाको प्रतिक्रिया मात्रै) युवाको सिद्धान्त के हो ? त्याग कति हो ? पुराना दल र तिनका नेताका कमजोरीमार्फत समाजमा नकारात्मक भाइव्रेसन मात्रै छरेर मुलुकको गति बढाउन सकिन्छ ? त्यो क्षणिक प्रतिक्रियाबाहेक केही हुँदैन । त्यसले स्थायी रूपमा विकास, समृद्धि दिने कुरा त परको हो, भइरहेको राजनीतिलाई समेत सँगसँगै लैजान सक्दैन ।  

इमान्दारी छ ? पारदर्शिता छ ?  आजका पाका पहिलेका युवा नेता त बरु चन्दाबाट चल्थे । चन्दा मागेको रसिद देखाउँँथे । तर, राजनीतिक दल वा दल बाहिरको युवानेतृत्व यत्ति पनि इमान्दार र पारदर्शी देखिएको छैन । दलका युवाः यो युवा झन् भ्रष्ट छ । यो वर्गले राजनीतिलाई सेवा होइन कि मेवा भनेर बुझेको छ । पुराना नेता, कार्यकर्ताले जस्तै राजनीतिक शक्तिको आवरणमा आफ्नै र आफ्नाहरूकै दुनो सोझ्याउने हो भनेर मनस्थिति बनाइसकेको छ । क्याम्पसकालीन विद्यार्थी राजनीतिक जीवनदेखि नै ससानो दुव्र्यसन र भ्रष्टाचारमा लिप्त भएको युवा पुस्ता हो यो, चाहे विद्यार्थी भर्ना गर्ने नाममा होस्, चाहे क्याम्पसको क्यान्टिन चलाउने, सटर भाडामा दिने वा स्ववियु चुनावका नामको बाहनामा गबि विद्यार्थीका फिबाट कमिसन खाने नाममा होस्, यो युवाले त्यही बेलादेखि आफ्नो नैतिकता गुमाइसकेको छ । कतिपय युवा नेताले विद्यार्थीकालमा खाएको होटलमा अझै तिर्न बाँकी होला । यसको खोजी गरे थाहा हुन्छ । नत्र त त्यतिबेला नै सिगरेट, रक्सी, बिंडी, हुक्का, तमाखु खाने पैसा कहाँबाट आउँथ्यो, आउँछ यी नेतालाई । अझै अरुलाई पनि खुवाउने रकम कसले दिन्छ, दिन्थ्यो ? राजनीति गर्दै काठमाडौँमा घर, घडेरी कसरी जोड्न सकियो ? छोराछोरीलाई राम्रै विद्यालय, क्याम्पसमा कसरी पढाउन पाइयो ? बोर्डिङ, जग्गा, विभिन्न व्यापार व्यवसायमा शेयर हाल्ने पैसो कहाँबाट बर्सियो ? 

एउटा पुरानो घटना स्मरण गरौँ, युवा अनुभव आदान प्रदान कार्यक्रमअन्तर्गत नेपालका विभिन्न क्षेत्रका ९९ जना युवाको चीन जाने कार्यक्रम थियो । चीन घुमेर फर्कने बेलामा चीन सरकारले लागेको प्लेन फेयर फिर्ता गरेको थियो । त्यसलाई नेपालको राज्य कोषमा नै फिर्ता गर्नुपर्छ भन्ने हाम्रो भनाइलाई वेवास्ता गर्दै राजनीतिक दलका युवा संगठनका प्रमुख नेताले त्यो रकम मिलेर झ्वाम पारे । पत्रिकामा खुलेआम लेख्दा पनि केही प्रभाव परेन । कसैलाई मतलब भएन । जस्तो भनौँ न यही निर्वाचनमा खर्च गर्ने आर्थिक स्रोत कहाँबाट जुटेको हो ? घरमा चुल्हो कसरी बल्ने गरेको छ ? भन्न सक्छ त हाम्रो युवा नेतृत्वले ? त्यसैले युवानेतृत्वमा उत्साह, महत्वाकांक्षा मात्रै भएर हुन्छ, इमान्दारी हुनुपर्दैन ? 

एजेण्डा भनेकै गाली हो ? : जनता र मुलुकको काँचुली नै फेर्छु भनेर कराइरहेका देश, विदेश चाखेर आएका सबैजसो युवा अगुवामा पुरानो दलका नेतालाई गाली गर्नुबाहेक कुनै नयाँ र वैज्ञानिक एजेण्डा छैन । गाली संस्कृति र नकारात्मक सोचबाट उदाएकाहरू राजनीति र सत्ताको मूल केन्द्रमा आए पनि गर्न सक्ने केही देखिँदैन । किनकि एउटा, दुइटा व्यक्तिले सत्ताको साँचो समाउन पाए पनि वा संसद्मा पुगे पनि चर्काे स्वरमा कराएर खबरदारी गर्नुबाहेक केही गर्न सक्ने छैनन् । जंगलमा डँडेलो लगाउन त सक्लान् निभाउन त दमकलै चाहिन्छ ।  

चाकडी, चुप्लुसी र चुक्ली मूलमन्त्र हो ?  आजको धेरैजसो युवा नेतृत्व चाकडीवाज नै छ । यो त्याग, तपस्या, साधनामा भन्दा ठूला नेताहरूको चाकडी गर्नु, तिनीहरूको घरकोठा धाउनुलाई नै मेहनत, प्रगति ठान्दछ । नेताको वरिपरि घुम्न सक्नुलाई नै त्याग मान्दछ । जुनसुकै पार्टीमा त्यही हो । अलिकति आफूभन्दा बढी क्षमता भएको र एस म्यान बन्न नमान्ने युवालाई पाका नेताहरूले नै पाखा लगाउँछन् । अनि त्यो युवा नेतृत्वले विद्रोह गर्न सक्दैन । नेता शरणम् गच्छामी भनेर शरण पर्दछ । के राजनीतिमा फस्टाउने मूलमन्त्र भनेकै, त्याग, तपस्या, साधना भनेकै चाकडी, चुप्लुसी र चुक्ली हो ? 

स्वर मात्रै चर्काे भएर हुन्छ ?  राजनीतिमा लागेकाको त भर छैन झन् अन्य क्षेत्रमा स्थापित युवा राजनीतिमा आउँदैमा सफल हुन्छन् भन्ने कुनै ग्यारेन्टी छैन । बरु जुन क्षेत्रमा संलग्न हो त्यही क्षेत्रमा जागे हुन्छ । राम्रो खोज अनुसन्धान त्यहीँ गरे हुन्छ । त्यहाँ राम्रा राम्रा अनुसन्धान गरे हुन्छ । लेख्न सक्नेले लेखे हुन्छ, पढ्न सक्नेले पढे हुन्छ । गाउन सक्नेले गाए हुन्छ । जो जोले जे जे गर्न सक्छ, त्यही त्यही गरे हुन्छ । बाहिर बसेर खबरदारी गरे हुन्छ । नेताहरूलाई गलत बाटो हिड्न नदिए हुन्छ । तर लामो समयसम्म राजनीतिमा लागेकाहरूको आरिसले राजनीतिमा नक्कल गर्दैमा नयाँ क्रान्ति गर्न सकिन्छ भन्ने कुनै ग्यारेन्टी छैन । स्वर चर्काे हुँदैमा मात्र क्रान्ति, परिवर्तन हुन्छ र ? 

अन्त्यमा 

हुन त आजको युग कलियुग हो । कलियुगमा प्रायः उल्टो गर्नेहरूकै जय हुन्छ । अहिलेको शासन, प्रशासनमा पाका, युवा जो भए पनि रजो र तमोगुणीहरूकै हालीमुहाली छ । राजनीतिक दल वा सत्तामा पुगेका, नपुगेका अधिकाँश पाका, युवा मात्र हैन धेरै जनता पनि रजो र तमो गुणले नै भरिएका छन् । त्यसैले जताबाट जो आए पनि रजो र तमोगुणीहरूकै बाहुल्यता हुने अहिलेको शासन, प्रशासनमा पूरै कायपलट हुन्छ भन्ने १०० प्रतिशत आशा गर्नै सकिदैँन । यस्तो आशा त स्वयम् जनतामा पनि सद्गुण जागृत भई शासन, प्रशासन सद्गुणी नेतृत्वको हातमा पुगेपछि मात्र गर्न सकिन्छ ।

तैपनि, अहिलेको अवस्थामा जे–जस्तो छ, राजनीति मात्र हैन, घरदेखि कुनै पनि क्षेत्र चल्ने भनेकै पाकाहरूको योगदानको कदर गरेर उनीहरूकै विचार, सल्लाह लिएर हो । पाकामा अनुभव, धैर्यता, सहनशीलता, सुझबुझ बढी हुन्छ । युवामा अनुभवभन्दा जोश बढी हुन्छ । युवा नेताले पाका नेतालाई साथ दिने हो, पाका नेताले युवा नेतालाई हात दिने हो । युवाले आफ्नो सिप, क्षमताबाट पाका नेता र पार्टीलाई सघाउने हो । पाका नेताले पनि एस म्यान भन्दा सक्षम, सीप भएका, लगनशील युवा नेता, कार्यकर्ताको साथ लिएर अघि बढ्ने हो । पाकाले अभिभावकत्व लिने हो, युवालाई बढी र कठिन जिम्मेवारी दिने हो । 
 

टिप्पणीहरू