चितवनका मिठाइ पसल र होटलको अवस्था : सरसफाइ मुख्य समस्या

चितवनका मिठाइ पसल र होटलको अवस्था : सरसफाइ मुख्य समस्या

वैष्णव जस्तो ब्रान्डेड होटलमासमेत सन्तोषजनक सरसफाइ पाइएन । हिजो दिउँसो पुगेको अनुगमन टोलीले किचनमा गएर हेर्दा सरसफाइको अवस्था देखेर चित्त बुझाएन ।

नारायणगढ बजारको शहीदचोक नजिकै भेटघाट रेष्टुरेन्ट, वैष्णव स्वीट्स र राम मिष्ठान्न भण्डार लहरै छन् । यी तीनवटै यहाँका नाम कहलिएका होटल हुन् । मिठाइलगायत अन्य विभिन्न खानेकुराहरु पनि बनाएर बेचिने वैष्णव स्वीट पसलको दर्ता नाम मालिका हस्पिटालिटी एण्ड फुड प्रालि देखिन्छ । हस्पिटालिटी त झन् पर्यटनसँग जोडिएको नाम हो । यस्तो होटलका कामदार र किचनको सरसफाइमा ध्यान दिनुपर्ने देखिएको बताउँदै अनुगमन टोलीका संयोजक सहायक सिडिओ चिरञ्जीवी शर्माले भने, ‘सुधार गर्न भनिएको छ ।’

नारायणगढकै अर्काे एक मिठाई पसलको अवस्थाप्रति चाहिँ अनुगमन टोलीले सन्तोष मान्यो । पुलचोकको मेनरोडमा रहेको नन्दन स्वीट्स एण्ड बेकर्सको समग्र स्थिति नियालेपछि सहायक प्रमुख जिल्ला अधिकारी शर्माले भने, ‘राम्रै छ ।’ कागजपत्र पनि सबै अपडेट भएको घरेलु तथा साना उद्योग कार्यालयकी कर्मचारी रञ्जु भट्टले बताइन् ।

नन्दनमा चाट, दहीबडा बनाउने ठाउँ बाटोअगाडि ढोकाको छेउमा खुल्लै थियो । त्यसलाई सिसाले बारेर व्यवस्थित गर्न भनिएको छ । त्यस्तै वैष्णवमा बाटोअगाडि ढोकानेर खुल्लै ठाउँमा जेरीहरु पकाएर बेच्ने गरेको पाइयो । त्यहाँ पनि धुलो तथा फोहोर छेक्ने गरी सिसाले बार्न वा किचनभित्रै पकाउन सुझाव दिइएको छ ।

तिहारमा मिठाईजन्य खानेकुराको व्यापार निकै हुन्छ । यी दुवै पसलमा तयार पारी बेच्नका लागि अगाडि शोकेसमा राखिएका मिठाईहरु सरसर्ती आँखैले हेरेर खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले भने, ‘त्यस्तो खानै नहुने अत्यधिक र अखाद्य रंग प्रयोग भएको देखिन्न ।’

खाद्य डिभिजन प्रमुख अधिकारीले होटलहरुमा मेसिनकै प्रयोग गरी खाद्य वस्तु राखिएका फ्रिजहरुको तापक्रम मापन गरेका थिए । नारायणी किनारमा रहेको होटल अतिथि होममा साधारण फ्रिजमै मासु राखिएको थियो । सामान्य फ्रिजमा माछामासु राख्दा चाँडै बिग्रने हुँदा तुरुन्त डी–फ्रिज ल्याएर राख्न सचेत गराइएको छ ।

कराईमा खानेकुरा तार्न राखिएको तेलको गुणस्तर पनि मेसिनले नै जाँचियो । उही तेलमा बारम्बार खानेकुरा तार्दा तेलमा पोलार म्याटेरियलको मात्रा बढ्छ । तेल बढी टुक्रिँदा फ्रिरेडिकल्स तत्व पैदा हुन्छ । जसको सेवनले ब्लड प्रेसर, कोलेस्टेरोल बढ्नेदेखि क्यान्सरसमेत गराउने खाद्यविज्ञ अधिकारी बताउँछन् ।

होटल अतिथि होममा कराईको तेल गिलासमा झिकेर ‘कुकिङ आयल टेस्टर’ ले परीक्षण गर्दा पोलार म्याटेरियलको मात्रा १८ प्रतिशत पाइयो भने वैष्णवमा २२ प्रतिशत थियो । ‘खाद्य स्वच्छता मापदण्डले टोटल पोलार म्याटेरियलको मात्रा २५ प्रतिशतभन्दा तल हुनुपर्छ भनेको छ’, अधिकारीले भने, ‘१–१५ प्रतिशत सुरक्षित लेबल हो । १६ देखि २० प्रतिशत ठिकै मानिन्छ । २१ देखि २५ प्रतिशतमा जोखिमपूर्ण हुन्छ भने २५ प्रतिशतभन्दा माथि खतराको अवस्था हो ।’ ती दुवै होटलले उक्त तेल बिहानमात्रै कराईमा खन्याएको बताएका थिए । एकदिनसम्म त ठिकै हो तर दिनभर खानेकुरा तारेर रातभर राखी फेरि भोलिपल्ट पनि त्यही तेल पकाउन वा तार्न प्रयोग गर्दा पोलार म्याटेरियल निकै हानिकारक मात्रामा बढ्ने उनी बताउँछन् ।

अनुगमन टोली हिजो नारायणगढ, पुलचोकस्थित पुरानो होटल ‘द कैलाश लज एण्ड रेष्टुरेन्ट’ मा पनि पुगेको थियो । उक्त होटलको किचनमा काटेर राखिएको बन्दा, प्याज, सिम्लामिर्चमा भुसुना भन्किरहेको थियो । फ्रिजको तापक्रम पनि राम्रो थिएन भने किचनको भुइँ फुटेर धुलो निस्किरहेको थियो । अन्यत्र पनि सरसफाइ गतिलो थिएन । केही दिनमै भुइँमा पोनिङ गरेर सम्पूर्ण सरसफाइको अवस्था सुधारिहाल्न निर्देशन दिइएको छ ।

अनुगमनका क्रममा दर्ता, नवीकरणलगायत कागजात देखाउन नसकेकाहरुलाई कागजपत्रसहित सबै कमजोरी सच्चाएर सात दिनभित्र जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिइएको छ । होटल, रेष्टुरेन्टहरुमा प्रायः किचनभित्र डस्टबिन खुल्ला राख्ने गरेको पाइन्छ । भान्छामा पनि ढक्कन भएको डस्टबिन प्रयोग गर्न भनिएको छ । यस्तै किचनको झ्याल, ढोकाहरु पनि खुला राख्न नहुने, मसिनो जाली लगाउनुपर्ने अधिकारीले बताए । जिल्ला प्रहरी कार्यालय चितवनका असई तेजनारायण प्रसाद यादव र पत्रकार पनि अनुगमन टोलीमा सहभागी थिए ।

टिप्पणीहरू