यसरी भयो खोलामा बेपत्ता शिक्षकको २२ घण्टापछि उद्धार

यसरी भयो खोलामा बेपत्ता शिक्षकको २२ घण्टापछि उद्धार

हिजो दिउँसो नुहाउने क्रममा सिन्धुपाल्चोकको हेलम्बु १ बाट खोलामा बगेका शिक्षकको उद्धार भएको छ । दोेलखाको कालिञ्चोक ३ घर भएका शिक्षक केशव सिवाकोटीको नेपाली सेनाले हेलिकोप्टर मार्फत २२ घण्टापछि उद्धार गरेको हो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार हेलम्बु गाउँपालिकाको सर्कथली आधारभूत विद्यालयमा कार्यरत शिक्षक सिवाकोटी नुहाउन जाँदा लडेर खोलामा बेपत्ता भएका थिए । आज बिहान सकुशल रहेको जानकारी पाएपछि सेनाले स्थानीय ठाडो खोला भीरमा अड्केको अवस्थामा उद्धार गरेको हो ।

सो क्रममा नेपाली सेनाको विशेष टिम परिचालित भएको थियो । सेनासँगै प्रहरी शसस्त्र र स्थानीयले उद्धारमा सहयोग पुर्याएको गोरखबक्स गण चौताराका प्रमुख जनक सिलवालले जानकारी दिए । शुरुमा हेलिकोप्टरबाट डोरी खसालेर उनको उद्धार प्रयास गरिए पनि त्यो सफल हुन सकेको थिएन । उनी गहिरो खोंचमा अड्किएको कारण हेलिकोप्टरबाट उद्धारमा बाधा पुगेको बताइन्छ ।

त्यसपछि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका तालिमप्राप्त खोजकर्ताहरूले शरीरमा डोरी बाँधेर उनको उद्धार गरेका हुन् । हिजो साँझसम्म पनि नभेटिएपछि आश मारेका स्थानीय र शिक्षकका परिवारले ठाडो खोलाको भीरबाट आज बिहान मान्छे चिच्याएको आवाज सुनेका हुन् । ‘बचाउ, बचाउ र गुहार, गुहार’ भन्ने आवाज बारम्बार सुनेपछि सुरक्षाकर्मी र जनप्रतिनिधि उद्धारमा खटिएका हुन् ।

टिप्पणीहरू