दार्चुला घटना छानविन गर्न संयुक्त विद्यार्थी संगठनको माग

दार्चुला घटना छानविन गर्न संयुक्त विद्यार्थी संगठनको माग

सत्ता गठवन्धननिकट पाँच विद्यार्थी संगठनले महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर बेपत्ता भएका दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य छानविन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

संयुक्त विद्यार्थी संगठनले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै घटनाको छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका हुन् । भारतीय पक्षले तुइन काटेका कारण धामी नदीमा खसेको भन्दै ज्ञापनपत्रमा दोषीलाई कारवाही गर्न र सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गरिएको छ ।

‘दार्चुलाको व्यास गाउँपालिका वडा नं. २ का जयसिंह धामी विदेश जानको लागि महाकाली नदी तर्ने क्रममा भारतीय सशस्त्र प्रहरीले तुइन काटिदिएपछि नदीमा बगेर बेपत्ता भएका छन् । संयुक्त विद्यार्थी संगठन भारतीय अपराधिक कार्यको विरोध र भर्त्सना गर्दै घटनाको छानविन गरी तुइन काट्ने व्यक्तिलाई कारवाही गर्न र सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दछौं’, ज्ञापन पत्रमा भनिएको छ ।त्यस्तै, संयुक्त विद्यार्थी संगठनले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा जारी विद्यार्थीको आन्दोलनप्रति ऐक्यवद्धता पनि जनाएका छन् । विश्वविद्यालयका उपकुलपतिले विद्यार्थीमाथि प्रशासन लगाएर दमन गर्ने गरेको भन्दै विद्यार्थीहरुले उपकुलपतिकै कारण परीक्षाको वातावरण बिथोलिएको आरोप लगाएका हुन् । ज्ञापनपत्रमा विद्यार्थीहरुका जायज माग सम्बोधन गरी परीक्षा सुचारु गर्न माग गरिएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुबाट भ्रष्टाचार र अनियमितता भएको भन्दै संयुक्त विद्यार्थी संगठनले सोही ज्ञापनपत्रमार्फत उपकुलपतिलाई बर्खास्त गर्न पनि माग गरेका छन् । प्रतिष्ठानका पदाधिकारीको दादागिरीका कारण पढाइ, बिरामीको उपचारलगायत दैनिक काममा बाधा उत्पन्न भएको उनीहरुको भनाइ छ ।

टिप्पणीहरू