शहीद सेरिए, नेता फेरिए

शहीद सेरिए, नेता फेरिए

नेतामा व्यापक आर्थिक परिवर्तन त आयो तर शहीद परिवार भने भोकभोकै । धनकुटाका शहीद परिवार सधँै आँशुमै डुबिरहेका । जहाँनियाँ राणा शासनको समाप्ती, निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य र गणतन्त्रका स्थापनाको क्रममा धनकुटाका ८४ जना योद्धाले सहादत प्राप्त गर्नु भएको र ८ जना बेपत्ता भएका थिए । तर अहिलेसम्म पटक पटक गरी २७ जनालाई मात्र सरकारले राष्ट्रिय शहीद घोषणा गरेको छ । बाँकीको कसैले खोजी गरेका छैन ।

राणा शासन विरुद्धको आन्दोलनमा धनकुटा जिल्लाका बखतजंग पापो लिम्बु र हर्षध्वज राई (चैनपुरे कान्छा) ले जीवन उत्सर्ग गर्नुभएको थियो । पञ्चायती व्यवस्थाविरुद्ध र प्रजातन्त्र पुनर्बहालीको आन्दोलन क्रममा धनकुटा राजारानीका नारायणप्रसाद नोगु लिम्बुलाई रघुवा खोलामा गोली हानी हत्या गरिएको थियो । धनकुटा भेडेटार धारापानीका प्रजालाल राईलाई ओखलढुंगाको टिमुरबोटे काण्डमा गोली हानिएको हो । धनकुटा नगरपालिका वडा नं. ७ का रामकृष्ण श्रेष्ठले २०३० साल चैत्र ३ गते तत्कालीन राजा वीरेन्द्र र उनको परिवारमाथि विराटनगरमा बम प्रहार गर्दा सहादत प्राप्त गर्नुभएको थियो भने धनकुटा नगरपालिका वडा नं. ६ का भीमनारायण श्रेष्ठलाई उक्त बम काण्डको प्रमुख दोसीको रूपमा पाँच बर्ष कठोर जेल यातना दिँदै २०३५ माघ २६ गते कोशी टप्पुमा गोली हानी हत्या गरिएको थियो । यसैगरी छिन्ताङ्ग काण्डमा गोपालआनन्द राई, गंगाबहादुर तुप्प्रिहाङ्ग राई, लाखमान साधु राई, झगेन्द्र राई, धनवीर दर्जी, गंगाबहादुर विक, गम्भीरमान दर्जी, रणध्वज पुमा राई, गणेश बिक, पुत्रमान राई, भैरव खालिङ्ग राई, केशरमान राई, बलबहादुर खत्री, चन्द्रबहादुर दमाई, हाङखिमा साइँली राई, रामकुमारी राईलाई गोली हानी हत्या गरिएको थियो ।

माओवादी जनयुद्धको क्रममा धनकुटाको चौविसे गाउँपालिकाबाट मौनाबुधुकका डगलसिंह लिम्बु, राजारानीका कविबहादुर चेम्जोङ्ग, झपटमान खतिवडा, सन्तोष बिक, झष्टबहादुर बस्नेतले सहादत प्राप्त गर्नु भएको थियो । यसैगरी धनकुटा नगरपालिका भीरगाउँका दिपक दाहाल, बेलहाराका गंगाप्रसाद जोशी, धनपा वडा नं. ४ का पदमबहादुर श्रेष्ठ, राजेश थापा मगर, धनकुटा नगरपालिकाकै डम्वरबहादुर भट्टराई, महेन्द्र नेपाल, नगेन्द्र बाँस्तोला, दिपक तिवारी, नैनबहादुर तमाङ र शिवकुमार राईले शहादत प्राप्त गर्नु भयो । महालक्ष्मी नगरपालिकाबाट चन्द्रबहादुर घिसिङ्ग, मनोज बानियाँ, शम्भु बिक, प्रेमप्रसाद शर्मा सापकोटा, भिष्म पौडेल, केदार लिम्बु, भीमबहादुर कार्की, पदमप्रसाद सुवेदी, दिलबहादुर मखरा, दिलबहादुर रायले जीवन उत्सर्ग गर्नुभएको थियो । पाख्रिवास नगरपालिकाका उत्तमकुमार न्यौपाने, फत्तबहादुर तामाङ, रामजी थापा, लालबहादुर राना मगर, हुकुम थापा, गीता बिक, रामलाल मोक्तान, भक्तबहादुर तामाङ, हुकुम थापा, झमक राई, राजन भट्टराई, लालबहादुर पिठाकोठे, मानबहादुर राना मगर, फत्तबहादुर तमाङ, भूपाल भण्डारीको समेत ज्यान गयो । त्यस्तैगरी साँगुरीगढी गाउपालीकाका मोहन लिंखा, जयबहादुर राई, श्यामकुमार राई, नरजित राई, श्यामबहादुर राई, केशबहादुर राई, बुद्धिलाल राई राजेन्द्रकुमार इवाहाङ, केशबहादुर राई, मनकुमार राईले जनयुद्धमा सहादत प्राप्त गर्नुभएको थियो । शहीदभूमि गाउँपालिकाबाट नगेन्द्र राई, तिर्थ राई, आसबहादुर राई, तिलक राई, प्रकाश थापा, दलबहादुर राई, लक्षुप्रसाद राई, चित्तकुमार राईलगायतले जीवन गुमाउनु भएकै हो । धनकुटा जिल्लाको छथरजोरपाटीका गणेश सुवेदी, रुद्रबहादुर लिम्बु, डिकबहादुर तामाङ र इन्द्रबहादुर लिम्बुले बलिदान दिनुभएकै हो ।

२०७२ साल फाल्गुण १९ गते पहिलो पटक नेकपा एमालेका तत्कालीन अध्यक्ष केपी ओलीको नेतृत्वमा रहेको सरकारले भीमनारायण श्रेष्ठलाई राष्ट्रिय शहीद घोषणा गरेको थियो । त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सरकारले २०७४ माघ ३ गते छिन्ताङ्ग हत्याकाण्डकका १६ जना लगायत प्रजातान्त्रिक योद्धाहरू रामकृष्ण श्रेष्ठ, डगलसिंह लिम्बु, नारायणप्रसाद नोगु, प्रजालाल राई, बखतजंग पापो, चैनपुरे कान्छा, गंगाप्रसाद जोशी, दिपक दाहाल, गोविन्द वालिङ्गलगायतलाई राष्ट्रिय शहीद बनायो । यत्तिका बर्ष बिति सक्दा पनि सँगै बलिदान दिएकाहरूलाई सरकारले शहिद घोषणा गर्नु तर बाँकीलाई बिभेद गर्दा परिवारजन र सरोकारवालाले आक्रोश जनाएका छन् ।
जिल्ला विकास समिति धनकुटाले शहीद भीमनारायण श्रेष्ठको धनकुटा वडा नं. ६ स्थित सिरानबजारमा शालिक निर्माण गरी शहीद चोक नामाकरण गरेको छ । छिन्ताङ्गको पञ्चकन्या डाँडामा शहीद स्मृति पार्क बनाउनुका अलावा बर्षैबिच्छे शालिकमा माला लगाउने र परिवारजनलाई दोसल्ला ओढाउने काम मात्र भैरहेको छ । खोकु छिन्ताङ्ग, आँखिसल्लालाई समेटर गाउँपािलका निर्माण गरी त्यसको नाम शहीद भूमि राखिएको छ ।

छिन्ताङ्ग हत्याकाण्डको नाममा पटकपटक कम्युनिष्ट पार्टीहरूले निर्वाचन जित्न सफल भए सांसद, मन्त्री, पालिका प्रमुख, उप–प्रमुख तथा वडाध्यक्ष भए पनि शहीद परिवारको जीवनमा भने कहिल्यै परिवर्तन आएन । छिन्ताङ्ग हत्याकाण्डको नाममा जनगायक किशोर थुलुङ्गले गाउनुभएको खोकु छिन्ताङ्ग दुख्यो कि अरुण सुसाउँदा अन्धकारमा गोली चल्यो भन्ने गीत चर्चित र लोकप्रिय छ भने पत्रकार गोपाल बराईले निर्माण गरेको कालरात्रि फिल्म र पत्रकार जसकुमार राईको डकुमेन्ट्रीले पनि देश विदेशका सबैको मन जित्न सफल भयो । मुक्तिसेना धनकुटाका कमाण्डर, २०१५ सालका एमपी दगल सेन लिम्बु, प्रजातान्त्रिक योद्धाहरू रामकृष्ण श्रेष्ठ, प्रजालाल राई, नारायण प्रसाद नोगु, बखतजङ्ग पापो, डगलसिंह लिम्बुको चौविसे शहीद स्मृती पार्क हात्तिटार डाँडाबजारमा नेपाली कांग्रेस धनकुटाका पूर्व सभापति जनक सेन लिम्बुको सक्रियतामा शालिक निर्माण गरिएको छ ।

(लेखक शहीद स्मृति प्रतिष्ठानका महासचिव, नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष हुनुहुन्छ ।)

टिप्पणीहरू