हलेसी मन्दिरको खुद आय वार्षिक २५ लाख

हलेसी मन्दिरको खुद आय वार्षिक २५ लाख

खोटाङको प्रसिद्ध धार्मिकस्थल हलेसी मन्दिरमा पछिल्ला तीन आर्थिक वर्षमा ७७ लाख ६ हजार ४ सय ३८ रुपैयाँ जम्मा भएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको उक्त मन्दिरको आर्थिक वर्ष २०७५/०७६ देखि आर्थिक वर्ष २०७७/०७८ को असार मसान्तसम्म १ करोड ९२ लाख ३७ हजार ४ सय ८८ आय र १ करोड १५ लाख ३१ हजार ५० व्यय भएको हो ।

हिन्दु, किरात र बौद्ध धर्मावलम्वीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसी मन्दिरमा आएका दर्शनार्थीबाट उक्त रकम संकलन भएको हो ।

भेटी वापत जम्मा भएको रकम हलेसी मन्दिर व्यवस्थापन समितिले बैंक खातामा जम्मा गर्ने गरेको छ । दर्शनार्थीले चढाएका विदेशी मुद्रा तथा स्वदेश र विदेशका दर्शनार्थीले चढाएका सुनचाँदी भने हालसम्म सुरक्षित राखिएको छ ।

हलेसी सूचना केन्द्रका अनुसार भारु १ लाख ८८ हजार ६ सय ३८, अमेरिकी डलर ९४, सिंगापुर डलर १०, भुटानी नुगुल्ट्रुम १ हजार २ सय ७१, हङकङ डलर २०, कतारी रियल २ र चिनियाँ युआन १ सय ४३ जम्मा भएको छ ।

चाँदी र सुनको विवरण पनि मन्दिर व्यवस्थापन समितिले सार्वजनिक गरेको छ ।

टिप्पणीहरू