हिरण्यको सम्मानमा पाल्पा हर्षित

हिरण्यको सम्मानमा पाल्पा हर्षित

मोफसलमा कारवाही भोगेका र बहिष्कृत कतिपय अनुहारलाई सम्मान गर्ने, चोख्याउने काठमाडौंले सिद्धहस्त पत्रकार हिरण्यलाल श्रेष्ठलाई स्थानीय सरकार तानसेनको सहयोगमा स्थापित पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार कोष सञ्चालक समितिले सम्झेको छ । तत्कालीन पञ्चायती व्यवस्थालाई व्यंग्य गर्दै सम्पादकीय लेखेबापत जेल सजायँ भोगेका हिरण्यलाललाई पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय ०७६ माघ १८ गते तानसेनमा सम्पन्न कोषको प्रथम साधारणसभाले गरेको हो ।

कोषका संयोजक पाल्पामा जन्मे/हुर्केका अचेल राजधानी निवासी वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको सभापतित्व तथा संरक्षक एवं तानसेन नगर प्रमुख अशोककुमार शाहीको प्रमुख आतिथ्यता र कोषका सहसंयोजक तथा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको विशेष आतिथ्यतामा भएको साधारणसभाले गरेको उक्त निर्णयप्रति सकारात्मक टिप्पणी व्यक्त भएका छन् । हिरण्यलाललाई नचिन्ने अर्थात् उनको कर्मलाई नजान्नेहरूले किन पाल्पाली पत्रकारलाई छाडेर नौ डाँडापारिका हिरण्यलाललाई सम्झियो पनि भनेका छन् । एकाधले त पुष्पलाल अर्थात् नेताको चाकडी गरेकाले पुरस्कार पाउने, तानसेनको विकासबारे लेख्नेले किन नपाउने ? बीपीको नामको पुरस्कार वीपीको भजन गाउनेले पाउने त होला नि भन्दै दुखेको पोखेको पनि पाइयो । पुष्पलालका समकालीन तथा पत्रकारितामार्फत उहाँको विचारलाई स्थापित गर्न लागिपरेका हिरण्य लेखकको रूपमा समेत स्थापित व्यक्तित्व हुन् भन्नुहुन्छ पुरस्कार सिफारिस समितिका संयोजक वरिष्ठ पत्रकार दिल साहनी ।

चाकडी गर्नेले पुरस्कार पाउनुपर्छ भन्ने प्रवृत्तिले जरो गाडेको मुलुकमा दिल साहनी, अर्का वरिष्ठ पत्रकार मेघराज शर्मा र पत्रकार सुशीला श्रेष्ठले सिफारिस गरेका अनि मूल समितिबाट छनोटमा परेका हिरण्यलालको व्यक्तित्वउपरसमेत आशंका गरिनु अन्यथा नठानिएला । कोषका सदस्य सचिव गोविन्द भट्टराईको सञ्चालन तथा सदस्य एवं नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालको माइन्युट लेखनमा सभा चलेको थियो । दिल साहनीले क्रमशः हिरण्यलाल श्रेष्ठ, भैरव रिसाल र अर्जुन ज्ञवाली (रूपन्देही) को नाम सिफारिस गर्नुको औचित्यबारे प्रकाश पार्नुभएको थियो । सभामा संयोजक, सहसंयोजक, सिफारिस समितिका सदस्य वरिष्ठ पत्रकार मेघराज शर्मा तथा अन्य सदस्यले सिफारिस व्यक्तित्वबारे आ–आफ्नो राय प्रकट गर्नुभएको थियो । हिरण्यलाल श्रेष्ठलाई पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ प्रदान गर्नुपर्ने सर्वसम्मत निर्णय भएको थियो ।

आमपाल्पालीले धेरै समयपछि वरिष्ठ पत्रकार शम्भु श्रेष्ठ र किशोर श्रेष्ठलाई एकै थलोमा जुटाउने कामसमेत कोषले गरेकोमा खुशी प्रकट गरेका थिए । एक जना वरिष्ठ पत्रकारलाई हरेक वर्ष पुष्पलाल जयन्तीको अवसरमा असार १४ गते उक्त पुरस्कार प्रदान गरिने योजना छ ।

डेलीडायरी, रातो युगधारा र जनजागृति साप्तहिकका प्रधानसम्पादक, विभिन्न पुस्तकका लेखक हिरण्यलाल श्रेष्ठलाई दिइने पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ छ ।

(लेखक पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार कोष–२०७५ का सदस्य–सचिव हुन्)

टिप्पणीहरू