​छालाको थैलोमा गंगाजल

‘भोलि म तिम्रोलागि जहाँबाट भए पनि रोटी ल्याइदिन्छु । पानी पिएर सुत । निदाएपछि भोक बिर्सिन्छ ।’ बच्चाले पेटभरि पानी खायो र कुकुर भैmं गुँडुल्किएर सुत्यो । आमाको आँसु भरिएर आयो । भोकाएको बच्चासँँगै उनी पनि सुत्न गइन् । निद्रा कसरी लाग्थ्यो र ! दुवैका आँखा अघिल्तिर आकाश घुमिरह्यो । आमाले पुलुक्क हेरिन् । बच्चाको अनुहारमा भोकको ज्वारभाटा दन्किरहेको देखिन्थ्यो ।

‘आमा, निद्रा आएन, एउटा कथा सुनाउनुस् न !’ हाँसिरहेको चन्द्रमा हेरेर टोल्हाउँदै बच्चाले अनुरोध ग¥यो ।

आमाले सोधिन्– ‘चन्द्रमाको कथा सुन्छौ ?’

‘उहूँ ।’

‘राजारानीको नि !’

‘उहूँ ।’

‘सुन्दर परीहरूको कथा सुन्छौ त ?’

‘सुन्दिन“ ।’

‘त्यसो भए जादू बत्तीको कथा सुनाऊँ ?’

‘नाइँ आमा नाइँ, कृपा गरेर बरु मलाई रोटीको कथा सुनाउनुस् न !’

छोराको आर्तनाद सुनेर विक्षिप्तजस्तै भएकी आमा उसलाई अँगालोमा बेरेर भक्कानिन थालिन् ।

आफैंले जन्माएका सन्तान काखी च्यापेर बाउ, आमा त्रिशूली नदीमा किन हेलिन्छन् ? भाडाका मान्छे लगाएर छोरीले जन्म दिने आमाको हत्या किन गराउँछे ? एक करोडको इन्स्योरेन्स गराएपछि लोग्नेले जंगलमा लगेर स्वास्नी किन मार्छ ? घुस खाएकाहरू दिनैपिच्छे समातिएको छरपस्ट हुँदा पनि घुस खानेहरू किन बढ्दै छन् ? आफूले घरमा पालेको कुकुर २४ घण्टा एक्लै छोडेमा जेल जानुपर्ने अमेरिकी कानुन बुझेको नेपाली यहाँ आएर वृद्ध बाउआमालाई वृद्धाश्रम छोडी कसरी आदर्श जीवन बाँच्छ ? यी संगीन घट्ना नेपाली समाजमा अनौपचारिक प्रश्न बनेका छन् । राजनीतिक कोर्सले यस्ता विषयवस्तु चिन्दैन । बौद्धिक वर्गलाई दलाली गरेर फुर्सद छैन । डाक्टर, न्यायाधीश, सिडिओ, फौजीसमेत नेताका दूत भएर सेवामा हाजिर छन् । मन्त्रालयका सचिव अहिलेको कर्तव्यभन्दा पाँच वर्षपछि आफ्नै भविष्य बनाउन नेताको नशाभित्र रगत भएर बग्न शुरु गर्छन् । जब देशको कानुुन पल्टाउँदा अक्षर नभएर व्यक्तिको चित्र उपस्थित हुन्छ भने त्यो देशको भाग्यरेखा निश्चिन्त भएर भन्दा हुन्छ– पशुपतिनाथले पनि कोर्न सक्दैनन् ।

जसले हस्तक्षेप स्वीकार्दैन, उसले नेता चिन्दैन । बस, आफू चल्नका लागि स्वस्थ वातावरण चाहन्छ । पाँच सेकेण्ड फोक्सो, मुटु र मृगौलाले राजीनामा दिए भने के माक्र्स, लेनिन, माओ र समाजवादले त्यो काम गर्न सक्छ ? यही हो सत्यको जमिन । विशुद्ध सरकार चलाउनु भनेको पनि मुटु, फोक्सो र किडनीको संरक्षण गर्नुजस्तै हो । अरु बाँकी परिभाषा त राजनीतिका नाममा बकबास गर्नेहरूले कन्याउने सुकेलुतो मात्र हो । तिनीहरूलाई के थाहा ? सत्य मान्छेपिच्छे फरक हुँदैन । ती पटमूर्खहरू त अनुहारमा पोतिएको कालो देख्दैनन, तर रातदिन ऐना पुछिरहन्छन् ।

देश निर्माणका प्रमुख कालिगढ केपी ओलीका भाषण न निल्न सकिन्छ, न ओकल्न । औंसीको रातमा पूर्णिमाको गीत गाउनु उनको विशेषता हो । घाँटीमाथि मात्र चल्ने नेताको परिचय बनाएका यिनको अन्तिम गन्तव्य भनेको जीवनको उत्तराद्र्धमा आफ्नो नामको ट्रष्ट बनाएर एकाध दर्जन कार्यकर्ताको ‘बाउ’ बन्नु मात्र हो । अहंकार र प्रतिशोधीलाई त्यही आफूभित्रको अवगुणले सिध्याउँछ, कोही शत्रु लाग्नै पर्दैन ।

कांग्रेसजनहरू आफ्नै दलभित्र नागरिकताविहीन भएका छन् । पार्टी सभापति म्यानेजर नभएर खञ्जाची भएको पीडा उनीहरूले खेप्नु खेपेका छन् । केही बोले पखेटा काटिने भयले कार्यकर्ता तैं चुप, मै चुपको अवस्थामा छन् । शेरबहादुर देउवा नेता कम, कमिसन एजेन्ट बढी हुन् । पैसा विना पार्टीको रथ २४ घण्टा पनि टिक्दैन भन्ने उनलाई घाँटीघाँटीसम्म थाहा छ ।

पुष्पकमल दाहाल त्यस्ता खेलाडी हुन्, जसले चित र पोट दुवैतिर आपूmलाई स्थापित गराएका छन् । अंकगणितमा हारेपनि उनले अरु त के गिरिजाप्रसाद कोइरालाजस्ता चतुर खेलाडीको हातमा रहेको एक्का र बास्सालाई कैंटे दाउ हानेर गुलामले लडाएका छन् । युद्धकालमा भारतको पाहुना भएर नेपालमा खेल्ने, अहिले यहाँको सत्तामा टेकेर भारतसंग पौंठेजोरीको अभिनय भ्रम छर्ने यसखाले चटकी थोरै राजनीतिक पात्रमा पाइन्छ । प्रचण्डसंगको संगतपछि एमाले र कांग्रेसको राजनीतिक सिद्धान्त हिमालमा हराएको यति मानवजस्तै भएको छ । निष्ठाविनाको राजनीतिका कारण क्रान्तिपछि प्राप्त भनिएका उपलब्धी छालाको थैलोभित्र हालिएका गंगाजलजस्तो भएका छन् । न खान सकिन्छ, न फाल्न नै ।

राजनीतिबाट खस्नेहरूका लागि गुरुत्वाकर्षण जिम्मेवार हुँदैन । यस स्थितिमा कुनै पनि प्रजातान्त्रिक भनिने नेताहरूका लागि नैतिकताको कति जमिन बाँकी रहन्छ, त्यो समयले बताउला । चीनमा एउटा उखान छ– ‘एउटा मात्र कुकुर कसैमाथि भुक्छ, बाँकी भुकेको आवाज सुनेर भुक्छन् ।’ नेताहरूको भुकाइ पनि त्यही हो । उनीहरूले बुझ्न जरुरी छ– ‘सफलताको सूत्र भाषणमा नभएर रासनमा हुन्छ ।’

अधर्मी मान्छे पुजारी हुँदैमा धार्मिक हुने होइन । बरु धार्मिक मान्छे पुजारी भयो भने देवताको साख बढ्छ । भक्त बढ्न मन्दिर ठूलो नभई देवता विश्वासी हुनुपर्छ । मान्छेको अनुहारको आयु दुई दशक पनि बाँकी रहँदैन तर असल विचार हजारौं हजार वर्षसम्म अजर अमर रहिरहन्छ । विचार पनि आखिर सुनजस्तै न हो, न यसमा खिया लाग्छ, न कहिल्यै पुरानो हुन्छ । लाटो तीनपल्ट हाँस्छ रे । पहिलो बुझ्दै नबुझी अरु हाँसेको देखेर, दोस्रो यथार्थ बुझेर, तेस्रो अगाडिको अवस्था सम्झिएर । नेताको ताल त जोक्करको जस्तो छ भने तिनीहरूले भाग्य बनाइदिएर सुखी हुनुपर्ने जनताको हविगत कुन हालतमा होला ?

समय बद्लिएपछि मान्यता स्वतः बद्लिन्छ । हामीले शिक्षक फेर्न जान्यौं, कोर्स फेर्न जानेनौं । पोहोर हिउँदमा पनि मौरीले फूलको रस नै बटुलेको थियो । झिंगा फोहोरमै घुमेको हो । गाईको पेटमा घाँस नै आहारा परेको थियो । काँडाले फूलमाथि हस्तक्षेप गरेको कसैलाई थाहा छैन । बाघले आहारामा मृग छोडेको छैन । विरालाको नजरमा मुसा नै अर्जुनदृष्टिमा परिरहेको छ । जस्तोसुकै परिस्थितिमा पनि पानीले छिट्टै आकार बनाउने आफ्नो शिल्प छोडेको छैन । झरी असार–साउनमै बर्सिने हो । ठिहीको सामथ्र्य पुस, माघमै देखिने हो । यी सबै देख्दादेख्दै हामी भन्छौं– समय बद्लियो । अहँ, बदलिएको समय हैन, हामी हो । समय बेइमान हुन्न, फितलो त हामीले लिएको संकल्प हो । विश्वका सात अरब मानिसका लागि घडीले बजाउने त्यही चौबीस घण्टा त हो । मिलको फित्ताजस्तो एउटै गति र एकै ठाउँ घुमेका हामी दम्भ गर्दै भनिदिन्छौं– मैले संसार फन्को लगाएको छु ।

हामीलाई हाम्रा बाउ बाजेको अनुभव सुन्ने फुर्सद भएन । सन्तानलाई डाक्टर, इन्जिनियर पाइलट बनाउनमा सोख राख्यौं । एउटा प्रतिनिधि पात्र यस्तो जन्मिएन, जसले भनोस्– म आफ्नो बाउ जस्तो बन्छु । समस्या यहीँ छ । यही बाटो हिँड्दा हिँड्दैको पठ्ठो भोलि हजुरबा बन्छ । अर्थात बाटोले बुढ्याउँछ । पोहोरको बसन्तमा फुलेको फूल मुर्झाएको कथा बन्दैन । पोहोर सुस्वास्थ्यको कामना गरेको ज्यान कुपोषणले दैवको प्यारो बनेको हुन्छ । तर त्यसको लेखा छैन ।

समय वित्नका लागि मात्र बित्दैन । यो नयाँ कामको लागि उत्तोलक पनि हो । नागरिकता विना पनि मानिसको आफ्नै अलग परिचय हुन्छ । कागजी पढाई विना पनि ज्ञानका अजस्र स्रोत भेटिन्छन् । माटो र बाटोको जस्तो शक्तिशाली सिकाइ अरुको के हुन्थ्यो र ? स्कुल, कलेजले दिने कागज त फि तिरेको प्रमाण मात्र हो । बाहिरी आँखाले देखेको भन्दा अन्तरचक्षुले देखेको दृश्य कञ्चन हुन्छ । बाहिरी आँखाले रंग खुट्याउँछ । भित्री आँखाले गुण दोष ।

एकैछिन बखान गरौं सौन्दर्यको । यही राजधानी हो, जहाँ गोलीगाँठो देखाएर हिँड्ने किशोरी भानुभक्तका नजरमा ‘बेश्या’ दरिए । समयको उडान अर्कैतिर मोडिएको छ । अब मौसमले पोशाक नभएर पोशाकले मौसम बद्ल्छ । फाटेको लुगामा फेसनको लेपन लगाएपछि त्यो आधुनिकतामा अनुवाद हुनपुग्छ । परिवर्तन आत्मसात नगर्ने हो भने डाइनोसरको नियति सवैको भाग्यमा लेखिने निश्चित छ ।

भनिन्छ, संसारमा तीन किसिमका मानिस हुन्छन् । एकथरि जीवनलाई सराप्छन् । अर्कोथरि आशिर्वाद दिन्छन् । तेस्रोथरि जीवनबारे चिन्तन मनन गर्छन् । भौतिकताले उत्कर्षमा पुगेको युरोप, अमेरिका आजसम्म पनि सुन्दरीहरूको सनकमा सञ्चालित हुने गरेको छ । त्यहाँका राजनेताहरूको व्यक्तित्व उठाउने या रसातलमा पु¥याउने कुराको निधो उनीहरूको गतिविधिमा भर पर्छ । एउटा सुन्दर मोडल म्याडोनाको व्यक्तित्वले त्यहाँका पुरुषहरूको व्यक्तित्व नै निरीह बनाएको विगत छ । एकपटक इतिहासको आँखीझ्यालबाट चिहाएर हेर्नुभयो भने त्यहाँ फ्लोरेन्स, युपी साद्रे, क्लियोपेट्रा र मर्लिन मुनरोजस्ता विश्वप्रसिद्ध अप्सराहरूको वर्णन पाउनु हुनेछ । जसका अगाडि शासकहरूसमेत नतमस्तक बनेका थिए । माक्र्स–एंगेल्सका विश्व प्रसिद्ध कृति पनि म्याडोनाको ‘सेक्स’ पुस्तकका अगाडि सयौं कोस पर छोडिए । सौन्दर्यलाई यसैको सामथ्र्यमा स्वीकार्ने हो भने यो प्राकृतिक शक्ति पनि हो । अझ यो भन्दा पर गएर भन्दा सन्तुलन पनि हो ।

समयअनुकूल आफूलाई उभ्याउनु पर्छ । समयलाई सापेक्ष रूपमा स्विकार्नुपर्छ । समयलाई मौसममा नभई मनमा भिœयाउनुपर्छ । मौसम र भावना एकसाथ तरंगिएको प्रेममा नै हार्दिकता हुन्छ । नत्र त्यो चुँडिएको गिटारबाट आउने आवाजजस्तो कर्णकटु हुनपुग्छ । मिलनको धड्कन र विरहको वेदना नै प्रेमको जमिन हो । यसमा चैतन्य र प्रज्ञा दुवै हुन्छ । यो दुवै मिसिएको चास्नी कसलाई प्रियकर नहोला ? माधव घिमिरेका यी पंक्तिले त्यही सन्देश प्रवाह गरेका छन्–

वैंशको मीठो कण्ठले कसको दिल छुँदैन

प्रीतिको फूल नफुल्ने मुलुक कुनै हुँदैन ।

टिप्पणीहरू