​त्यो गोप्य कुरा र विश्वासको बात

  • वैकुण्ठ ढकाल

‘तिमी र म किन यत्ति नजिक भयौं ?’ सधैं तपाईं भन्ने एक साथीले आज अचानक तिमी भनिन् । मनमा शंका लाग्यो, कतै पतिले पो, उनको आइडीबाट कुरा गरिरहेका छैनन् ? मैले बोलाउँदा मात्रै बोल्नुपर्ने, तिमीले चाहिं बोलाउन नहुने भन्दा जवाफ दिएकी थिइन्– ‘केटी मान्छे हो, अलिअलि भाउ त खानै प¥यो नि !’

लामो समय अनलाइन आएर पनि म बोलिनँ, अनि बल्ल उनी नै बोल्न थालिन्, अनलाइन आएको एक घण्टा भइसक्दा पनि बोल्न नहुने के साह्रो भाउ खानुपर्ने है, यी केटा मान्छेलाई । जवाफ फर्काएँ–‘भाउ खानेहरूलाई भाउ दिएको नि †’ 

‘ल ल भो, म कुराकानीमा तिमीसँग जति कोहीसँग पनि खुलेको छैन नि ?’ 

‘श्रीमान्सँग लुकाएको कुरा पनि भनेकी छु ।’ 

‘ल के हो, त्यो सुनौं त श्रीमान्लाई पनि लुकाएको कुरो ?’ 

‘विवाहपछि नि मेरो लभ प¥यो, कलेज जाँदा आउँदा एक केटोले खुब पछ्यायो । हुन त त्यसलाई मेरो विवाह भइसकेको थाहै थिएन । एकतर्फी प्रेम खुब चल्यो ।’ म्यासेन्जरमा स्माइली पठाइ । 

‘विवाहअघि पनि प्रेम थियो ?’ 

‘बिल्कुल ।’ 

‘कोसँग ?’ 

‘जो अहिले श्रीमान् छ ।’ 

‘श्रीमान्को पनि थियो होला नि ?’ 

‘बिल्कुल ।’ 

‘कोसँग ?’ 

‘जो अहिले श्रीमती भएकी छ ।’ 

‘यदि, एउटासँग प्रेम, अर्कोसँग विवाह हुने स्थिति भएको भए के गथ्र्यौ ?’ 

‘फरगेट एस्टर्डे ।’ 

‘त्यत्ति सजिलो हुन्थ्यो होला र ?’ 

‘खै नजाने गाउँको बाटो सोधेर किन टाउको दुखाउनु !’ 

‘हुन त विवाहपछिको लभ लुकाएँ भन्यौ । विवाहअघि लभ थियो भने श्रीमान्लाई भन्थ्यौ ?’ 

‘सायद भन्थें ।’ (म्यासेज सिन भएको निकै समयपछि मात्रै जवाफ आयो, धेरै सोचविचार गरेर जवाफ दिएकी हुन् कि ?)

यही प्रश्न अर्को एक पात्रलाई सोधियो । 

जवाफ आयो– ‘भएको कुरा भन्थें, लभ थियो भनें, विवाहअघिको सम्बन्ध स्वीकार्य थिएन ।’

‘श्रीमान्को प्रतिक्रिया के आयो ?’ 

‘उहाँको पनि लभ थियो । हिसाब बराबर । हरेक सम्बन्धहरू विश्वासले टिक्छन् । अहिले तपाईंसँग भइरहेको संवाद पनि त विश्वासकै आधारमा भइरहेको हो ।’ 

सम्बन्धमा संवाद अनिवार्य छ । वैवाहिक मात्रै हैन, हरेक सम्बन्धलाई जीवन्त राख्न संवाद अनिवार्य छ । अनि विश्वासलाई बलियो बनाउन पनि संवादकै अहं भूमिका हुन्छ । निरन्तर संवाद भइरहेको अवस्थामा सम्बन्धमा आएका समस्या समाधान गर्न सहज हुन्छ । संवादहीनताले सम्बन्धमा दरार ल्याइरहेको हुन्छ । जुनसुकै सम्बन्धमा पनि संवादहीनताले असमझदारी जन्माउने खतरा हुन्छ । असमझदारी अविश्वासमा पुग्ने र सम्बन्ध टुट्ने खतरा रहन्छ ।

सम्बन्धबारे अध्ययन गरिरहेका विज्ञ रवि आर्यका अनुसार महिलासँगको सम्बन्धमा तीनवटा पाटा रहेका छन् ः उनीहरू माया, महŒव र प्रशंसा यी तीन चिजका प्यासी हुन्छन् । आफैं यी चीजका खानी पनि हुन् । तीनै चीज दिन चाहने र लिन पनि चाहने भएकाले त्यहीअनुसार व्यवहार आवश्यक छ । 

हुन त मानिसका व्यक्तिगत स्वभाव एकै हुँदैनन् । कोही अन्तरमुखी हुन्छन्, कोही बहिर्मुखी । भित्रभित्र गुम्सिएर मात्रै बस्ने र फतरफतर बोलिरहने दुवै घातक हुन सक्छन् । जुनसुकै कुराको पनि निकास अनिवार्य छ । जे होस् विश्वास कायम राख्न सम्बन्धमा इमान्दार हुनु आवश्यक छ । 

अमेरिकी उपन्यासकार निकोलस स्पाक्र्सले आफ्नो लोकप्रिय उपन्यास ‘एट फस्र्ट साइट’मा जोडीमाथि गरेको टिप्पणी– ‘हरेक जोडीमा उतार–चढाव हुन्छ, हरेक जोडीमा बहस हुन्छ, यही कारण त तपाईं जोडी हो र कुनै पनि जोडी विश्वास बिना चल्न सक्दैनन् ।’ विश्वास जोडीमा मात्रै हैन, हरेक सम्बन्ध र साझेदारीमा हुनु आवश्यक छ । व्यवसायिक साझेदारीदेखि हरेक कुरामा विश्वास अनिवार्य छ । 

 

टिप्पणीहरू