नेचर, कल्चर र सिग्नेचर

  • संकेत कोइराला

तिर्खाले रन्थनिएका कालिदास कुनै गाउँको एउटा घरमा पुगेर पानी माग्छन् । ढोकाबाट एक युवती निस्कन्छिन् । ज्ञानले भरिपूर्ण कालिदास र युवतीबीच यस्तो संवाद चल्छ ।
कालिदास : पथिकलाई पानी दिएर पुण्य कमाउनुस् । 
युुवती : मैले तपाईंलाई चिनेकै छैन । आफ्नो परिचय दिनुस् ! 
कालिदास : म पाहुना हुँ ।
युवती : संसारमा पाहुना दुई मात्र छन । पहिलो धन, दोस्रो यौवन । यिनीहरू आउन, जान समय लाग्दैन । 
कालिदास : म सहनशील हुँ । अब त पानी दिनुस् । 
युवती : झूठ । सहनशील पनि दुई नै छन् । पहिलो पृथ्वी, दोस्रो वृक्ष । पृथ्वीले पापी धर्मात्मा दुवै बोक्छिन्, वृक्षले ढुंगा हान्नेलाई पनि फल दिन्छ । 
कालिदास : म हठी हुँ, अब त भो ?
युवती : फेरि ठग्नु भो । हठी त नङ र कपाल हुन्, जो जति काटे पनि पलाउन छोड्दैनन् । 
कालिदास : म मूर्ख हुँ । 
युवती : मूर्ख असम्भव । सबैभन्दा ठूलो मुर्ख भनेको शासक हो । जसले आफ्नो अयोग्यताको बाबजुद् योग्यहरूमाथि शासन गर्छ । अर्का मूर्ख उनीहरू वरपरका भजन मण्डली हुन् । जसले शासक खुशी बनाउन झूठलाई पनि सत्यको जामा लगाएर सही सावित गर्न खोज्छन् । 
युवती : उठ्नुस् महाशय । संवादबाट कायल कालिदास मुन्टो उठाएर यसो हेर्छन् त साक्षात सरस्वती देवीको अवतार ।
सरस्वती : शिक्षाबाट अहंकार नभएर ज्ञान हासिल गर्नुपर्छ । शिक्षाको बलबाट प्राप्त मान र प्रतिष्ठालाई नै उपलब्धि मानेर तिमीले घमण्ड ग¥यौ । यसकारण तिम्रो तेस्रो नेत्र खोल्न म उपस्थित भएकी हुँ । 
 
२००७ साल यता नेपालमा ६८ वटा सरकार बने । १३ सयले मन्त्रीको जागिर खाए । आफ्नो दलका नेता, कार्यकर्ताले जागिर खाएका बेला देशको कायाकल्प भएको आत्मरतिमा ती दलका नन्दी, भृंगी, चण्डमुण्ड उफ्रिए पनि यो देशको राजनीतिले जनताको भावना कहिल्यै स्पर्श गरेन । कुर्सीमा पुग्नेहरू बेतुकका कालिदास प्रमाणित भए । 

दूरदर्शी नेता भनिएका बीपी कोइराला समेत इन्दिरा गान्धीको निरंकुश चेपुवामा परेपछि राष्ट्रियताको सवालमा राजासंग घाँटी जोडिएको भन्दै स्वदेश फर्किए । जब कि २०१७ सालमा ‘कू’ हुनुअघि देखि नै राजासंग मिल्दा कांग्रेसको भलो हुन्छ भन्ने मत राख्दै आएका सुवर्णसम्शेरको आवाजलाई कहिल्यै महत्व दिइएको थिएन । फलस्वरूप आफू अनुकूलको व्याख्या अपव्याख्याका कारण नेपालको राजनीति छाते च्याउभन्दा माथि उठ्न सकेन । नेपाललाई देशभन्दा स्वार्थको बजार बनाउन नेताहरूको सतप्रतिशत योगदान रह्यो । राजनीति गर्नेहरू जनताले नबुझ्ने राजनीतिक एजेण्डा लिएर मौसमजस्तै आउने र जाने गरे । 

अमेरिकी राष्ट्रपति अब्राहम लिंकनलाई एक हितैषीले पत्रिका छापिएको देखाउँदै भने– ‘हेर्नु अन्य मानिस तपाईंको कति आलोचना गर्छन् । तपाईं किन प्रतिवाद गर्नुहुन्न ?’ लिंकनले सटिक जवाफ दिए– ‘वादप्रतिवादको चक्करमा परिहने हो भने देशको सेवा कहिले गर्नु ? यदि मेरो कर्मले जनताको भलो भयो भने आलोचकको मुख आफैं बन्द हुन्छ, तर यदि म जनताको सुविधाप्रति बेखबर भएँ भने मलाई यस्तो आलोचनाबाट कसैले बचाउन सक्दैन ।’ 

हो, फल नलागेको रुखमा कसले झट्टी हान्छ र ? तर आफूलाई आलोचनाभन्दा माथि राख्न खोज्नु भनेको ओरालो यात्राको प्रारम्भ हो भनेर बुझे हुन्छ । हिजोसम्म आपूm चढेको हाँगा आपैंm ठुन्क्याउन अघि सर्ने कालिदासहरू मन्त्री, प्रधानमन्त्री भएलगत्तै चाणक्य भएको भ्रममा उचालिन थाले । जमिन विनाको फूर्ति आखिर कुर्सी खोसिएको भोलिपल्ट मुसिको भवःमा परिणत भए । नरेन्द्र मोदी, सी जिनपिङको अर्ती उपदेशमा जडभरत भएका नेताहरूलाई आफ्नो सक्कली अनुहारमा आउनसमेत कठिनाइ भएको छ । कसले पत्याउँछ यिनीहरू क्रान्तिवीर हुन् भनेर । सर्वशक्तिमान भएर राजनीतिमा उदाएका प्रचण्ड एउटा फौजीको सिपाही निकाल्न नसक्दा आफैं पाखा लागे । पशुपतिको पुजारी फेर्दा भोग्नुपरेको प्रत्याक्रमणको चोटले क्रान्तिवीरहरूको मुखुण्डो उत्रिसकेको छ । एउटा सिपाही, हवल्दार फेर्न नसक्नेहरूले राजा फाल्यौं भनेर दिएको गफ र छेपाराको कथामा समान तौल छ । 

नेताहरूको यही तोरीलाहुरे प्रवृत्तिले देशको शरीर त चलेको छ तर शिरामा रगत छैन । परनिर्भरताको नदीमा अर्थतन्त्र पौडी खेलिरहेको छ । आफ्नोमध्येको एउटालाई पोस्न देशको कानुन फेरिन्छ । शत्रुलाई सिध्याउन कानुन भुत्ते बनाइन्छ । बालुवाटारका प्रधानमन्त्री सर्वशक्तिवान बन्दा सिंहदरबारभित्रको प्रधानमन्त्री कार्यालय जोक्कर बन्छ । अरु मन्त्रीले नरुचाएका, फाजिल, उब्रेका प्रशासक प्रधानमन्त्री कार्यालयमा डम्पिङ गरिन्छ । प्रधानमन्त्रीको बार्गेनिङ पावर बढाउन अप्राकृतिक निकाय प्रधानमन्त्री कार्यालय मातहत ल्याइन्छ । किन ल्याइयो ? सोध्नेहरूको पखेटा काटिन्छ । सरकारले भोटबाट प्राप्त प्राविधिक हैसियत त प्राप्त ग¥यो । तर सामाजिक स्वीकृति टाढिँदै गयो । 

मुखियाहरूले आर्थिक समृद्धिको प्यारोडी गाइरहँदा राजश्व प्रक्षेपणको लक्ष्यबाट सरकारलाई ८० अर्बको धक्का लागेको समाचार आइरहेको छ । दुई दशकअघि नै ८ प्रतिशत आर्थिक विकासको अंक टेकेको देश दुई दशकपछि धिपधिपमा छ । कार्यक्रम हैन खल्तीपिच्छे ‘सपिङ लिस्ट’ बोक्ने नेता भएपछि योभन्दा परको परिणाम कल्पनासम्म गर्न सकिन्न । देश यस्तो असामान्य परिस्थितिमा गुज्रिंदा पनि हाम्रा गतिविधिहरू सामान्य छन् । दैनिक जनताको गोजीबाट खोसिएको करोडौं रुपियाँ भ्रष्टाचारीको पोल्टामा पुग्दा कसैलाई कर्तव्यको आगोले पोल्दैन । बरु राज्य संयन्त्र संगठित अपराधको चंगुलमा फसेको छ । भाषणमा क्रान्तिका स्वर अलापे पनि नेचर, कल्चर र सिग्नेचर फेर्ने हिम्मत कमैमा हुन्छ । नेपाल नै कायापलट गर्ने संकल्प बोकेका नेताहरू अन्ततः पञ्चायतको बोतलमा गणतन्त्रको रक्सी भर्नमा आनन्द लिइरहेका छन् । 

अरूप्रति कठोर वाण प्रहार गर्न खप्पीस हामी आफ्नै समाजमा रहेका भाइबन्धुका कठोर मौनताप्रति आँखा चिम्लन्छौं । जसरी फलामलाई आपूmभित्रकै खियाले सिध्याउँछ, त्यसरी नेपाली समाज आपूmभित्रकै भाइरसबाट थङ्थिलो बन्दै छ । संसार बदल्ने त कति जन्मिए कति तर आपूmलाई बदल्ने साहस कसैले गर्न सकेनन् । गफको विकल्प काम कहिल्यै भएन । हुँदाहुँदा चिया पसल, भट्टीदेखि खाडीका भेडी गोठमा काम गर्ने नेपालीहरू समेत आफ्नो खाएर अरुमाथिको आक्रमणमा रमाइरहेका छन् । व्यक्तिपिच्छेका फेसबुक बुलेटिन आफ्ना अयोग्यता झल्काउने माध्यम बनेका छन् । भनिन्छ, अल्छीहरू आधा जिन्दगी के गर्ने भन्ने सोचाइमा बर्बाद गर्छन । र बाँकी जीवन गर्न नसकिएका कामको कारण खोज्दै विताउँछन् रे ! त्यसैले असल कामको आरम्भ भएन भने अन्ततः पुगिने खराब कामको गन्तव्यमा नै हो । मानिस केही पाउनकै लागि स्तुति गर्छन् । तर निन्दा भने निन्दाकै लागि गर्छन् । मान्छे अर्काको राम्रो होइन नराम्रो भन्न र सुन्नमा रस लिन्छ । निन्दा रसिलो हुन्छ भने प्रशंसा निरस । अर्काको सम्पन्नताको निन्दा गर्दा मान्छेले आफ्नो विपन्नताको औचित्य सिद्ध गरिरहेको हुन्छ । 

राष्ट्रिय स्वाधीनताका नाममा चार हात उफ्रिने तर अलिकति गुलियो चाट्न पाउनेबित्तिकै लत्रिने देशप्रेमकोे उखरमाउलोले धेरैलाई उकुसमुकुस पारेको छ । यही उकुसमुकुसमा सरकारका मन्त्रीहरू बेलगाम जे मुखमा आयो त्यही बोल्दै हिँडिरहेका छन् । सरकारी संयन्त्रले १०–५ को एकलव्य रुटिनबाट तलमाथि जानुपर्ने दरकार सम्झिएको छैन् । सरकारभित्र थुप्रै सरकार छन् । सरकारबाहिर सरकारलाई होच्याउन गर्जन गर्नेहरूको ठूलो समूह छ । आमा नचाहिने, मामा नभई नहुने अनौठो संघीयताको अभ्यास भइरहेको छ । यी सवै मिलाउने भरलाग्दो राजनीतिक इञ्जिनियर सतहमा देखिएको छैन । 

खरानीबाट आगोको झिल्को उधिनेर उन्नति गरेका चीन, जापान, कोरिया, भियतनाम, पोल्याण्डजस्ता मुलुक चह¥याएको घाउमा कसरी मल्हम लगाउन सफल भए भन्ने आत्मज्ञानप्रतिको आकर्षण अहिलेको यक्ष विषय हो । मान्छेलाई आदिवासी, जनजाति, मधेशी, दलित, क्षेत्री–बाहुनमा विभाजित गर्ने पण्डितहरू अभावबाट मुर्छितहरूको अवस्थासंग बेखबर छन् । प्रारब्धको यो झड्काले राजनीतिक दाउपेचभित्रको अपराधलाई चिराधरा पारेको छ । नेपाल र नेपालीको भाग्य विधाता आपूmलाई ठान्ने भ्रम पालेको राजनीतिक नेतृत्व यी सवै दृश्यबाट सिताङ्ग बनेको छ । मुलुकमा साम्यवाद ल्याउन क्रान्तिका नाममा हजारौं मानिस मार्दा पनि एउटा रौं नझरेको बरु आपैंm खुइलिँदै गएका नेताहरू बढ्दो गरिबीले विशुद्ध साम्यवाद ल्याइदिएको देखेर तीन चित परेका छन् । विदुर नीति भन्छ–

यद्धात्रा निजभालपट्टलिखितं स्तोकं महद्वा धनं
तत्प्राप्नोति मरुस्थलेकपि नितरां मेरौ ततो नाधिकम्
तद्धीरो भव वित्तवत्सु कृपणां वृत्तिं वृथा मा कृथाः
कूपे पश्य पयोनिधावपि घटो गुल्हाति तुल्यं जलम् ।

अर्थात् भाग्यले निधारमा धेर थोर जे जति धन पाउँछ भनी कोरिदिएको छ, त्यति धन मरुभूमिमा गए पनि मनुष्यले अवश्य पाउँछ । त्योभन्दा बढी सुमेरु पर्वतमा गए पनि पाउँदैन । तसर्थ धैर्य गर, धनीकहाँ गएर दयाको भीख नमाग । हेर, इनार र समुद्र जहाँ थापे पनि गाग्रीमा भरिने पानी उत्ति नै हो ।

अबको घडी निर्माणको हो । टुटेको मन जोड्ने संकल्प एकमात्र एकलव्य बाटो हो । राजनीतिक झण्डा बोकेर नेपाली मन बिथोल्ने विरुद्धको खबरदारी सवैको समान कर्तव्य हो । देश विकास विदेशी अनुदानले भएको उदाहरण संसारमा कतै छैन । आफ्नै श्रम, सीप र जाँगरबाट मात्र त्यो सम्भव छ । 
 

टिप्पणीहरू