​सिनेमाको स्वाद र पण्डितको याद

  • राजेशचन्द्र राजभण्डारी

भगवान् श्रीकृष्ण भन्नुहुन्थ्यो, ‘कर्म गर, फलको आस नगर’ । अहिले जताततै धर्मको कुरा भए पनि कर्मतिर भने कसैलाई फुर्सद छैन । जसलाई पनि नामै चाहिएको छ, पद र प्रतिस्ठा नै चाहिएको छ ।

समाज मूल्य–मान्यताबाट बाहिर बहकिरहेको छ । के ठीक के बेठीक छुट्ट्याउन सक्दैन, एक पक्ष ढंगले जसलाई समर्थन ग¥यो–ग¥यो । आफूलाई मन परेको मान्छे जस्तोसुकै होस्, उसका लागि मर्न र मार्न तयार भयो । फिल्म हेर्न सबैलाई मन पर्छ । शहरको ठूलो सिनेमा हलमा गएर फिल्म हेर्न जति मजा आउँछ त्यो सानोतिनो टेलिभिजनमा आउँदैन । भारतीय सुपर स्टार अमिताभ बच्चनको मुख्य भूमिका भएको इन्क्लाबले राजनीतिमा भएको विकृति–विसंगतिलाई मज्जासँग प्रहार गरेको थियो । उक्त फिल्म हेर्ने जो–कसैलाई नायक अमिताभ भएर भ्रष्टाचारी मन्त्री–सांसदलाई एकै चिहान गर्न मन लागेको थियो ।

घटनाक्रमसँगै राजनीतिमा पनि उतारचढाव आएपछि नयाँ फिल्म बन्यो– अनिल कपुरले अभिनय गरेको– नायक । तर यथार्थ त यही हो कि फिल्म र राजनीतिमा आकाश–जमिनको फरक छ । 

भारतीय राजनीति र नेपाली राजनीतिमा २० वर्षको दौरान धेरै फेरबदल भए, पात्र फेरिए । तर, प्रवृत्ति फेरिन नसक्दा धेरै पात्र नायकको रूपमा उदाए अनि घटनाक्रमसँगै फेरि खलनायकमा परिणत हुन पुगे ।

नयाँदिल्लीमा आमआदमी पार्टीको उदयपछि त्यसैको अनुसरण गर्दै नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट विद्रोह गरेर डाक्टर बाबुराम भट्टराईले नयाँ शक्ति निर्माण गरे । केही समय नेपाली मिडियाले साथ दिए, जब निर्वाचन भयो, गोर्खाबाट लड्न कांग्रेसको समर्थन नभई भएन । जतिसुकै कुरा गरे पनि परिवर्तन गर्न र हुन गाह्रो छ । एकपटक अर्थमन्त्री, अर्कोपटक प्रधानमन्त्री चलाइसकेको व्यक्ति । उनी अर्थमन्त्री हुँदा जति सफल देखिएका थिए, प्रधानमन्त्री भएपछि कस्तो हालत भयो, छर्लंगै छ । 

बिबिसी रेडियोका पत्रकार रवीन्द्र मिश्रले पत्रकारिताको यात्रालाई थाती राखेर ठूलो तयारीसाथ साझा विवेकशील पार्टी गठन गरे । काठमाडौं महानगरपालिकाको प्रमुखमा रञ्जु दर्शनालाई उठाएर भयंकर प्रचारप्रसार गरे । राम्रो मत आयो तर परिणाम आएन । साँँँच्चै भन्न जति सजिलो छ, व्यावहारिक रूपमा उतार्न निकै कठिन छ ।

अहिले पनि नेपालमा कि कांग्रेस कि त कम्युनिस्ट नै शक्ति हुन् । राप्रपा नेपाल पनि पटक–पटक शक्तिमा पुग्यो तर धेरै समय टिक्न सकेन । मधेसी दलको अवस्था पनि त्यस्तै रह्यो । १०४ वर्षसम्म राणाशासन चल्यो र ढल्यो । २०१५ सालमा कांग्रेसले बहुमत ल्यायो । त्यो पनि टिकेन । सरकारलाई अपदस्थ गरेर राजा महेन्द्रले शासन चलाए । ३० वर्षमै पञ्चायत ढल्यो । 

एमाले नेता मदन भण्डारी सबैभन्दा चर्चित बनेपछि दासढुंगा  दुर्घटनामा पारेर हत्या गरिएको कुरा पुरानो भएको छैन ।

०५२ सालमा जनयुद्ध थालेपछि सबैभन्दा चर्चित बने अहिले नेकपाका अध्यक्ष प्रचण्ड । ०६२÷६३ को आन्दोलन सफल भएपछि प्रचण्डलाई हेर्न हजारौं मान्छे आए । दुई÷दुई पटक प्रधानमन्त्री बने, हिजो तिनै जनताले प्रचण्डलाई जयजयकार गरेको अहिले पनि पुरानो भएको छैन । अहिले तिनै जनता प्रचण्डलाई पेट्रोल छर्किएर आगो लगाउने भन्दै आक्रोशित बनेका छन् । सबैभन्दा ठूलो कुरा समय हो, समयलाई चिन्न सके सफल होइन्छ । अहिले घटनाक्रम हेर्दा सामाजिक मूल्य र मान्यता हराउँदै गइसकेको देखिन्छ । पक्कै पनि हाम्रो संस्कार र संस्कृति भनेको मान्छे जन्मँदा खुशी हुने र मृत्यु हुँदा दुःख मनाउने नै हो । तर, आजकल कोही मान्छे मन परे त्यसलाई भगवान् मान्ने, रिस उठेको मान्छेलाई जिउँदै श्रद्धाञ्जली दिने निकृष्ट हर्कत छर्लंग छ । 

डाक्टरको काम बिरामीको उपचार गर्ने, वकिलको काम अन्यायमा परेकालाई न्याय दिलाउन मुद्दा लड्ने, व्यापारीको राम्रोसँग व्यापार गर्ने, जनप्रतिनिधिको काम जनताको काम सहज रूपमा गरिदिने, पत्रकारको काम सत्यतथ्य खबर लेख्ने, प्रहरीको काम शान्तिसुरक्षा कायम गराउन भूमिका खेल्ने हो । अहिले सबै काम सबैले इमानदारीपूर्वक नगरेका कारण केही व्यक्तिले सबै काम गरेर देखाउन कम्मर कसेको अवस्था हो । 
नेपालका प्रमुख पुराणवाचक स्व.पण्डित नारायणप्रसाद पोखरेल बागलुङ आएको बेला पत्रकार सम्मेलन गरेका थिए । पत्रकारको प्रश्न थियो, हिंसाबाट आएको मान्छेलाई पाप लाग्छ कि लाग्दैन पण्डितजी ? जवाफ थियो, हिंसाबाट आएको मान्छेको अन्त्य पनि हिंसाबाटै हुन्छ ।
यो कुरा पनि त्यही हो । 

अहिले २ घण्टाको फिल्म हेरेको भरमा सबै जादु मन्त्र गर्छु भनेर हिँड्ने हो भने त्यो एकादेशको कथाभन्दा अर्को केही हुने छैन । सामाजिक सञ्जाल चलाउन खप्पिस महाशयहरूले सकारात्मक र नकारात्मक पक्षलाई जबसम्म छुट्ट्याउने सामथ्र्य राख्दैनन्, तबसम्म यस्तो खालको तमासा र खेल चलिरहनेछ । हामी एकपछि अर्को भ्रमको शिकार भइरहनेछांै ।

टिप्पणीहरू