​कानुनबाट निर्देशित कि भीडबाट नियन्त्रित ?

  • शिवजी श्रेष्ठ

०५२ सालमा जिल्ला प्रहरी कार्यालय, झापामा कार्यरत थिएँ । भर्खरै एमालेको नौमहिने सरकार ढलेर कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार बनेको थियो । वर्तमान प्रधानमन्त्रीको जिल्लामा राजनीतिक गतिविधि व्यापक हुन्थ्यो । सानोतिनो कुरालाई पनि रंग दिने कार्य भइहाल्थ्यो । यस्तैमा एकदिन खबर आयो, कांग्रेसले एमाले सरकारको पालामा ‘आफ्नो गाउँ आफैं बनाऊँ’ कार्यक्रमअन्तर्गत अनारमनी क्षेत्रमा बनाइएको कच्ची बाटो, जनताको व्यक्तिगत जग्गा जबर्जस्ती मिचेर बनाएको हुँदा भत्काउन बेल्चा, कोदालो, ५÷६ हल गोरु लिएर जोत्ने, खन्ने काम गर्न लाग्दै छ र त्यसलाई रोक्न  एमाले कार्यकर्ता पनि लाठी बोकेर फिल्डमा पुगेका छन् । सम्भावित भिडन्तलाई रोक्न तत्कालै इन्स्पेक्टरको कमाण्डमा प्रहरी खटाइयो । प्रहरीले रोक्ने प्रयास ग¥यो तर  कांग्रेस कार्यकर्ताले बाटोको केही भाग भत्काइछाडे ।

उता, एमाले कार्यकर्तालाई बनिसकेको बाटो भत्काउने कार्य सैह्य भएन र भिडन्तको स्थिति सिर्जना भयो । प्रहरीले रोक्ने प्रयास ग¥यो । साँझ सबै आ–आफ्नो घर लागे तर तनावको स्थिति यथावत् थियो । साँझ इन्स्पेक्टरले ब्रिफिङ गरेपछि थाहा भो, भोलि स्थिति झन् भयावह हुँदै छ (दुवै पक्ष कांग्रेस अनि एमाले) पूर्ण तयारीमा आउँदैछन् । फिल्ड कमाण्डरबाट ब्रिफिङ सुनिसकेपछि जिल्ला प्रहरी प्रमुख (एसपी) ले निर्देशन दिनुभयो– इन्स्पेक्टर सा’ब, तपाईं भोलि आवश्यक सामग्रीसहित बिहानै फिल्डमा पुग्ने । हाकिमबाट स्पष्ट निर्देशन चाहेँ, ‘सर, लाइन के हो, कुन हदसम्म (बल प्रयोग) जान सकिने हो ?’ उहाँले घुमाएर केही कुरा भन्नुभो, बुझ्न गाह्रो भएन कि उहाँ दबाबमा हुनुहुन्छ, दबाब पनि दुवै तर्फको । 

शान्ति सुरक्षा कायम राख्नु भन्ने एक मात्र कूटनीतिक निर्देशन थियो । मुख्य फिल्डमा पुग्नै लाग्दा ठूलो जमातले नाराबाजीसहित हाम्रो गाडीलाई अगाडि बढ्न दिएन । मैले ओर्लिएर सम्झाउने प्रयास गरँे । अहँ, त्यो भीड टसमस भएन । अनि हामीलाई अगाडि बढ्न पनि दिएन । मैले सुनाएँ– पुनरावेदन अदालतमा यसबारे मुद्दा परेर विचाराधीन छ र ‘बाटो’ जुन अवस्थामा छ, त्यही अवस्थामा राख्नू भन्ने आदेश भएको हँुदा यसमा हामी तल–माथि हुन दिने छैनांै । त्यो जमात सकारात्मक भएर हामीलाई अगाडि बढ्न दियो । जसै हामी विवादास्पद ठाउँमा पुग्यौं, सयभन्दा बढीको भीड आएर बाटो भत्काउन थाल्यो, रोक्ने प्रयास ग¥यौँ, सम्झाउन खोज्यौं तर भीड रोकिएन, भकाभक भत्काउन थालिहाल्यो ।

यता एउटा जमात बाटो भत्काउने, उता अलिक माथि बसेर अघि हामीलाई अगाडि बढ्न रोक्ने भीड (जुन जमातसँग मैले प्रतिबद्धता जनाएको थिएँ) नाराबाजीसहित अगाडि बढ्न थाल्यो । तत्कालै केही नगरे भिडन्त अवश्यंम्भावी देखियो । हरतरहले सम्झाउन प्रयास गरेँ । यतिसम्म कि बाटो भत्काइरहेको जमातलाई चेतावनीको भाषा प्रयोग गर्दै भनँे, ‘अदालतले यथास्थितिमा राख्न आदेश दिएको यो बाटो भत्काउन नदिनु हाम्रो कर्तव्य हो, बल प्रयोग गर्न बाध्य हुनु नपरोस् ।’ तर, भीड त्यो कुरा सुन्न तयार थिएन । एउटा स्थानीय नेताले सबैको अगाडि मलाई सोध्यो, ‘किन तपाईंलाई माथिबाट आदेश आएको छैन र ?’ म स्पष्ट हुन सकिनँ (को माथिको आदेश ? ऊ मुस्कुरायो मात्रै । मैले भनेँ, ‘मलाई एउटै मात्रै आदेश छ, बाटो यथास्थितिमा राख्नू ।’

स्थिति भयावह हँुदै गयो, हामीलाई रोक्ने जमात पनि नजिकै आइपुग्यो, दुवै पक्ष उत्तेजित छन् र दूरी नजिकिँदै छ । मैले त्यस टोलीलाई रोक्न सहायक कमान्डरलाई पठाएँ र भनँे, ‘मलाई एकछिन समय दिनु ।’ गाडीमा रहेको सेटबाट एसपीलाई फिल्डको तत्कालीन स्थिति रिपोर्ट गर्दै आवश्यक बल प्रयोग गर्न आदेश मागँे । एसपी सा’बले सीधै ‘बल हैन विवेक प्रयोग गर्नुस्’ भन्ने आदेश दिनुभयो, मैले फेरि भनेँ, ‘विवेक प्रयोग गरेँ तर त्यो काम लागेन अब अन्तिम अस्त्र भनेको बल नै हो, त्यसका लागि आदेश पाऊँ ।’ म चाहन्थँे सामान्य बल प्रयोग गरेर स्थितिलाई नियन्त्रणमा लिने । तर, यो घटना राजनीतिक उद्देश्यप्रेरित भएको हुँदा हाकिमको अनुमति लिन चाहन्थेँ तर उहाँले दिनुभएन । भनिरहनुभयो, ‘बल हैन विवेक प्रयोग गर्नुस् ।’ दुई प्रमुख राजनीतिक शक्तिबीचको ‘इगो’ लाई सुझबुझसाथ संबोधन नगर्ने हो भने स्थिति भयावह हुन सक्थ्यो । 

यता, जिल्ला प्रमुख कुनै पनि हालतमा बल प्रयोग नगर्न आदेश दिँदै हुनुहुन्थ्यो । म किंकर्तव्यविमूढ अवस्थामा थिएँ, सबैले मलाई हेरिरहेका थिए, प्रहरी टोली पनि माथिको आदेश के आउँछ भनेर मुख ताकिरहेको थियो । मैले हिजो कमाण्ड गरेर आउने इन्स्पेक्टरको निरास स्थिति सम्झिएँ । अगाडि भीड नाराबाजीमा उग्र भइरहेथ्यो । के प्रहरीले स्वतन्त्ररुपमा काम गर्ने नपाउने ? कानुन हातमा लिँदा पनि प्रहरी रमिते भएरै बस्नुपर्ने ? तर, त्यो सोचेर स्थिति नियन्त्रण हुनेवाला थिएन र सोचेर बस्ने अवस्था पनि थिएन । एउटा आइडिया फु¥यो, म र एसपी सा’ब बीचको वार्तालाप अरू कसैले सुनेको थिएन । सबैको आँखा प्रहरीको गाडीभित्र बसेको मतिर थियो ।

यसैबीच गाडीको ढोका खोल्दै बडो फूर्तिसाथ जम्प हानेर निस्किएँ (भावभंगिमासहित ठूलो स्वरमा प्रहरी टोलीलाई संबोधन गर्दै भनेँ, ‘ए केटा हो, आदेश आयो, आदेश आयो लौ एक्सनको लागि रेडी होऊ, राइफल टोली एक साइडमा आऊ र तयारी अवस्थामा बस, लाठी टोली अगाडि पोजिसनमा बस ।’ त्यतिञ्जेलसम्म वाक्क दिक्क भएर रमिते बनेको प्रहरी टोली आदेश पालनातर्फ लाग्यो, प्रहरीको एक्सन देख्नेबित्तिकै बाटो भत्काउन आएकामध्ये आधाभन्दा बढी यताउता दौडिँदै साइड लाग्न थाले । त्यही बीचमा नजिक आएको सहायक कमाण्डर सइ सा’बलाई विस्तारै भनँे, ‘हतियार टोलीको नजिक तपार्इं बस्नुस् तर कुनै पनि हालतमा मेरो आदेश नआएसम्म कसैले केही गर्ने छैन । अनि असइ सा’बलाई विस्तारै भनेँ, अन्तिम अवस्थासम्म पनि लाठी नचलाउनुहोला । उनीहरूले मेरो कुरा बुझिहाले । 

हाम्रो एक्सन यस्तो नाटकीय थियो कि अब कोही त्यहाँ अगाडि बढे प्रहरीले गोली हान्न सक्छ । यस्तैमा अगाडि बढ्दै गरेको जमात पनि पछि हट्न थाल्यो, केही त भाग्नतिर लागे, मैले देखेँ हाम्रो एक्सनले काम गर्दै छ, लगभग सबैजसो साइड लाग्न थाले । थप आदेश दिएँ, ‘केटा हो, यो जुवामा बाँधिएको गोरु फुकाइदेओ, कतै यी निर्दोष गोरुलाई गोली नलागोस् ।’ हाम्रा केटाहरूले त्यो काम पनि तुरुन्तै फत्ते गरिहाले । गोरु दौडिएर यताउता भागे, गोरुधनी पनि पछिपछि दौडिए । स्थिति अनुकूल बन्दै गएको देखँे, मनोबल बढ्दै थियो ।

यस्तैमा एउटी बूढी आमा मनेर आउनुभो र भन्नुभो,’ ए इन्स्पेक्टर सा’ब, यो के गर्नुभएको ? हाम्रो जग्गामा बनाएको बाटो हामीले भत्काउन नपाउनु ?’ मैले शान्त भएर भनेँ, ‘आमा, अदालतको आदेश नै त्यस्तै छ, फैसला नआएसम्म धैर्य गरिदिनुस् न !’ तर ती बूढी आमा शान्त हुनुभएन, उहाँ मसँग कुरा गर्दै गर्दा फेरि अघि साइड लागेको भीड जम्मा हुन थाल्यो, आमा उत्तेजित हुनुभयो र मलाई सोध्नुभो,’ ए बाबु, हामीले तिम्रा आदेश नमानेर बाटो भत्काए के गर्छौ ? गोली हान्छौ ?’ उहाँले त्यसो भन्दा छेउछाउकाले ताली पिटेर झन् उत्तेजित बनाइदिए, स्थिति फेरि उस्तै हुन लाग्यो, तब मैले ती आमालाई संबोधन गर्दै कराएर ठूलो स्वरमा सबैले सुन्नेगरी भनेँ, ‘आमा, हजुरले प्रहरीको आदेश मान्नुभएन र स्थिति बिग्र्यो भने पहिले हजुरलाई नमस्ते (मैले थोरै शिर झुकाएर हात जोड्दै) गर्छु, त्यसपछि गोली हान्ने आदेश दिन्छु ।’ तब सँगै उभिएका नातिले तान्दै भने’ ‘ए हजुरआमा छिटो घर हिँड्नुस्, छिटो ।’ नातिले हात समातेर तान्दै गरेको दृश्यले फेरि भागाभाग भयो ।

अब म यो स्थितिलाई पूर्णतः आफ्नो नियन्त्रणमा लिन चाहन्थँे र सबैलाई छिटो यहाँबाट पछि हट्न वा प्रहरीको कारबाही व्यहोर्न तयार रहन भनँे, तब सबका सब भागाभाग भए, आमा–बाबु आफ्नो छोराछोरीलाई घर हिँड भन्दै दौडिन थाले, पत्नीहरूले श्रीमान्लाई घरतिर ताने । एकैछिनमा सब आ–आफ्नो बाटो लागे । साँझसम्म स्थिति नियन्त्रणमा आयो, हामीलाई तुरुन्तै अफिस फर्कन आदेश भयो । हामी शान्ति कायम गर्न सकेकोमा दंग पर्दै फर्कियांै, मेरो आइडियाले काम गरेको र बिना बल प्रयोग स्थिति नियन्त्रणमा आएकाले मन आनन्दित थियो, हाम्रा केटा पनि विजयी भावमा थिए । म मनमनमा सोच्दै थिएँ, यसरी प्रहरीले कसरी र कहिलेसम्म काम गर्न सक्छ ? 

सोच्दै थिएँ जिल्ला प्रमुख झन् कति खुशी होलान्, भेट्नेबित्तिकै स्याबासी देलान् । जब चन्द्रगढी अफिस पुग्यौं, म रिपोर्ट गर्न एसपी सा’बको कोठामा पस्न खोज्दै थिएँ, डिएसपी सा’बले बाटैमा भन्नुभो, ‘भित्र तपाईंविरुद्ध कांग्रेस झापा जिल्ला अध्यक्ष कृष्ण सिटौलाको नेतृत्वमा डेलिगेसन आएको छ, एसपी सा’ब तपाईंसँग एकदम रिसाउनुभएको छ ।’ म छक्क परेँ, झन् उहाँकै आदेशबमोजिम बल प्रयोग नगरी स्थितिलाई बिनाकुनै क्षति नियन्त्रण गरेर आएँ, मलाई स्याबासी दिनुपर्ने ठाउँमा उल्टो मसँगै रिसाउने ? त्यतिञ्जेलसम्म म एसपी सा’बको कार्यकक्षमा पुगिसकेको थिएँ, कोठाभरि मानिस देख्छु, मेची एसएसपी, सिडिओ, नेकां झापा अध्यक्ष सिटौलालगायत चर्काचर्की गरेर बसिरहेकोमा झन् मलाई देखेपछि सबै कराउन थाले, एसपी सा’बले रातो आँखा पार्दै सोध्नुभो, ‘तपाईंले यो के गरेर आउनुभो यार ?’

मैले पनि उस्तै लवजमा जवाफ दिएँँ, ‘बल हैन विवेक प्रयोग गरेर आएँ ।’ त्यतिञ्जेल सरसर्ती सबै अनुहार हेरँे, भित्र तनाव थियो । बीचमै सिडिओ सा’बले कड्केर सोध्नुभो, ‘ए इन्स्पेक्टर सा’ब, तपाईलाई गोली हान्ने आदेश कसले दियो ?’ भोक र थकानमा अब रिस थपिँदै थियो । मैले पनि उस्तै कड्काइमै सोधेँ, ‘मैले हानेको गोलीको आवाज यहाँसम्म सुनियो ? कि बारुदको बास्ना यहाँसम्मै आइपुग्यो ?’ सायद मेरो अनुहारको भाव र स्वरमा आएको कम्पनबाट हुन सक्ने स्थिति बुझ्नुभो, त्यही बीचमा प्रहरीको मनोबल सदा उच्च राख्न खोज्ने अधिकृतको रूपमा चिनिनुभएका एसएसपी (पछि सशस्त्र प्रहरी बलका आइजीपी) सहवीर थापा सर जुरुक्क उठेर आउनुभो र मलाई अँगालो मार्दै बाहिर लिएर जानुभो । ‘वेल डन इन्स्पेक्टर सा’ब, तपार्इंले जे गर्नुभो ठीक गर्नुभो । यहाँ यस्तै हुन्छ, जसले जे कम्प्लेन गरे पनि तपाईंले ठीक गरेर आउनुभो, उनीहरूले आशा गरेका थिए, आज पनि हिजोको जस्तै प्रहरी रमिते बनेर फर्कोस् तर तपाईंले ठीक गर्नुभो, आइएम प्राउड अफ यु । भोकै हुनुहुन्छ, जानुहोस् खाना खाएर आउनुहोस्’ भन्नुभयो ।

उहाँको यस्तो प्रेरक मूल्यांकनले मेरो मन भक्कानियो । आवेगमा थिएँ, आँखामा कतिखेर आँशु आयो थाहै पाइनँ । बाहिर देख्छु त अघिको प्रहरी टोली युनिफर्म नखोली मेरो प्रतीक्षामा बसिरहेको छ, मलाई कारबाही हुँदै छ भन्ने हल्ला फैलिएको रहेछ, जुन कुरा उनीहरूलाई पाच्य थिएन । मसँग ऐक्यबद्धता जनाउन उनीहरू उभिइरहेका रहेछन्, त्यो बुझेपछि एसएसपी सा’बले भन्नुभो, ‘यिनीहरूलाई सम्झाएर युनिफर्म खोली खाना खान पठाइदिनुस् ।’ मैले सम्झाएर भनेँ, ‘हामीले जे ग¥यौँ, ठीक ग¥यौँ, तपाईंहरूलाई धन्यवाद ।’

क्वार्टरमा जाँदै गर्दा सोचेँ, के गर्नुपथ्र्याे मैले ? के कुनै पनि पार्टीको हतियार भएर उनीहरूको स्वार्थअनुसार काम गर्नुपथ्र्याे ? वा प्रहरी भएरै प्रहरी कारबाही गर्नुपथ्र्यो ? त्यस घटनामा दुवै पक्ष प्रहरीप्रति खुशी थिएनन् । एउटा पक्षको आरोप थियो, प्रहरीले सत्ता पक्षको कुरा सुन्यो र बाटो भत्काउनेलाई सुरक्षा दियो, अर्को पक्षको आरोप थियो, हामीले चाहेअनुसार बाटो भत्काउन दिएन । तर आफूले गरेको कारबाहीप्रति हामी आफू भने सन्तुष्ट थियौं, हामीले कसैका लागि काम गरेनांै तर सबैका लागि ग¥यौं ।

हामीलाई थाहा छ, जसो गर्दा पनि प्रहरीलाई धर छैन । प्रहरीलाई प्रहरीकै ठाउँमा राखेर हेर्ने अनि काम गर्न दिने वातावरण नै छैन यहाँ । अहिले पनि यसो हेर्छु, प्रहरीले कानुनतः कुनै एक्सन लियो वा कुनै कुरामा उजुरी परेपछि वा तत्काल देखिएको प्रमाणका आधारमा कुनै अनुसन्धान शुरु गर्नेबित्तिकै ‘केही समय पर्ख र हेर’ गर्दै कुनै मौकासमेत नदिई सिधै उत्रिइहाल्ने अनि आरोप÷प्रत्यारोप लगाइहाल्ने र स्थितिलाई भड्काइहाल्ने प्रवृत्ति बढ्दो छ, जसले प्रहरीलाई उच्च मनोबलमा निर्भिक भएर काम गर्न दिँदैन । जबसम्म यस्तो अवस्था रहिरहन्छ, तबसम्म प्रहरी कानुनबाट निर्देशित हैन, भीडबाट नियन्त्रित हुने वातावरण सिर्जना हुन्छ । त्यस्तो अवस्थाको प्रहरीले जनताले चाहेअनुसार अनि कानुनले निर्देशित गरेअनुसार शान्ति सुरक्षा र अनुसन्धान गर्न चाहेर पनि सक्दैन, जुन कुरा जोकसैको हितमा छैन ।

(लेखक नेपाल प्रहरीका पूर्वप्रहरी नायब उपरीक्षक हुनुहुन्छ)

टिप्पणीहरू