कान नसुन्नेहरूका कुरा

हालै एउटा समाचार सुन्नमा आएको थियो, बहिरोपन भएका अर्थात् सुन्न नसक्ने नागरिकले पनि सवारी सञ्चालन लाइसेन्स मागेको । धेरै अघिदेखि यस्तो माग भइरहेको छ, त्यसमा राष्ट्रिय बहिरा महासंघ लागेको लाग्यै छ । तैपनि, सरकारले लाइसेन्स दिन मानेकै होइन । कहिले हुन्छ भन्छ, कहिले हुन्न भन्छ । 

कान नसुन्नेलाई गाडी चलाउने लाइसेन्स कसरी दिने ? यो त अप्ठेरो पो छ – ट्राफिक प्रहरीको भनाइ छ । तर, बहिरा महासंघ भन्छ – किन लाइसेन्स दिन सकिँदैन ? हामी पनि गाडी चलाउन सक्छौँ, बाइक चलाउन सक्छौँ, चलाइरहेकै छौँ, लाइसेन्स दिन केको झन्झट ? 

वास्तवमा हो पनि । यसो हे¥यो भने देखिन्छ देशमा ‘कान नसुन्ने’हरूले सरकार चलाइरहेको  । अहिले मात्र होइन, जहिले पनि यही हो । सरकारमा कान सुन्ने कोही पनि आउँदैन । कान सुन्ने नै आए पनि सरकारमा पुगेपछि ‘कान नसुन्ने’ भइदिन्छ । तपाईं सरकारलाई यसो गर्नोस्, उसो गर्नोस् भनेर जति भन्नोस् सरकारले सुन्दैन । अब ‘कान नसुन्ने’हरूलाई सरकार चलाउने लाइसेन्स प्राप्त छ भने गाडी चलाउने लाइसेन्स मात्र किन प्राप्त छैन ? ‘कान नसुन्ने’ हरूले देश चलाइरहेको त दशकौं भइसक्यो । ‘कान नसुन्ने’ हरूले देश चलाउन मिल्छ भने गाडी चलाउन किन मिल्दैन ? के सरकार चलाउनु भनेको गाडी चलाउनुभन्दा पनि सजिलो काम हो ?  

टिप्पणीहरू