सडक यता, सम्बन्धित कता ?

  • दयाराम डाँगी

०१२ सालमा जिल्ला गठन हुनुपहिले रोल्पा थुम, थुम दर्माकोट, थुम बाइस खुवा, थुम कालाशेष अथवा स्वर्गद्वारीको जिल्ला भनेर चिनिने गथ्र्याे । ०२० साल जेठमा पञ्चायतको चुनाव भयो ।

छोटो समयका लागि सभापति नारायणप्रसाद चन्द निर्वाचित भए भने उपसभापतिमा बालाराम घर्तीमगर । ०२१ सालमा राष्ट्रिय पञ्चायत सदस्यको कोटा थप भयो । खडानन्द सुवेदी वारेन्टेड भएकाले बालारामलाई नै पठाउने काम भयो ।

०२२ सालको निर्वाचनबाट जिल्ला सभापतिमा खडानन्द सुवेदी र उपसभापतिमा थवाङका धर्मबहादुर बुढा निर्वाचित भए । पहिले रोल्पा जिल्ला गठन भएपछि सदरमुकाम कहाँ राख्नेमा पनि तानातान भएकै हो । कतिले माडीचौरमा भने, कतिले लिबाङमा जोड लगाए । माडीचौरमा औलो लाग्ने भएपछि त्यहाँबाट लिबाङमा सारियो । गजुलका सुवेदीहरूको पहलमा सदरमुकाम यता स्थापना भएको हो । त्यसबखत लिबाङमा सबै घर कच्ची थिए । प्रायःजसो खरका छाना । टँुडिखेलको बीचमा बालमन्दिर, उत्तरतिर मल्लहरूको घर, त्यो घरमा एउटा नेपाल बैंक, अर्काेतिर घरेलु शिल्पकलाको कार्यालय थियो । नेपाल बैंकमा हेलिकप्टरले पैसा लिएर आयो भने खरका छाना उड्यो भनेर सबै प्रमुख जिल्ला अधिकारीकहाँ उजुरी दिन जान्थे । एकदिन सिडिओ ललितबहादुर बमले बजारबासीलाई उर्दी जारी गरेछन्– भोलि–पर्सिसम्ममा छाना ढुंगाको हुनुपर्छ । अनि त रातारात धारापानी र सिर्पबाट ढुंगा सिलेट लगेर घर छाउने काम भयो । त्यसबखत बजार पनि थिएन । सानो गोरेटो बाटो । ०४८ सालतिर २४ घर ढलान गरिएका थिए । पछि आएर सडक फराकिलो पार्न मापदण्ड कति चाहिन्छ थाहा भएन । अहिले घना बस्ती भएपछि लिबाङ बजार क्षेत्रमा गाडी आवतजावत गर्न र दोहोरो गाडी क्रस गर्न हम्मेहम्मे परेको छ ।

०५३ सालमा स्थापना भएको विद्युत् प्राविधिकरणले पनि लिबाङ बजार क्षेत्रमा बिजुलीको खम्बा जथाभावी गाडेको छ । ती खम्बामा सिसी क्यामेरा र टेलिकमको तार, टिभी, नेटवर्कको तार जथाभावी राखिएका छन् । यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

टिप्पणीहरू