बागलुङमा सिसाकलमको टुप्पोले विद्यार्थीको अण्डकोष घोचियो

बागलुङमा सिसाकलमको टुप्पोले विद्यार्थीको अण्डकोष घोचियो

-राजेशचन्द्र राजभण्डारी

बागलुङको एउटा निजी विद्यालयमा व्यवस्थापकीय कमजोरीका कारण विद्यार्थीहरु गम्भीर खाले दुर्घटनामा पर्ने गरेका छन् । बागलुङ बजारको फ्युचर ब्राइटर माध्यमिक विद्यालयमा दुई हप्ताको अन्तरालमा दुई जना विद्यार्थी घाइते भएको घटना बाहिरिएपछि उक्त तथ्य निस्केको हो ।

विद्यालयको कक्षा १ मा अध्ययनरत एक विद्यार्थीले आफ्नै कक्षाका दुई साथीलाई सिसाकलमले घोचेर घाइते बनाएका छन् । असोज ७ गते आयुश आचार्यको आँखामा सिसाकलमले घोचेको घटना सेलाउन नपाउँदै सोमबार सोही कक्षाका आदर्श सापकोटालाई बेञ्चमा बस्ने क्रममा मुनितिरबाट तिखो सिसाकलम ठड्याइदिँदा सापकोटाको अण्डकोषमा चोट लागेको छ ।

चोट लागेका सापकोटाको बागलुङ बजारको एउटा निजी क्लिनिकमा उपचार गरिएको छ । सिसाकलमले घोचेपछि घाइते भएका सापकोटाको जाँघ पूरै रगतले भिजेको थियो । बालबालिकाले विद्यालय असुरक्षित गएको बताएपछि अभिभावकले चिन्ता व्यक्त गरेका छन् । यसअघि पनि यस्ता घटना हुँदासमेत विद्यालय प्रशासन गम्भिर बन्न नसकेको आरोप लागेको छ ।

सोबारे विद्यालयका प्रध्यानाध्यापक वालकृष्ण शर्माले कमजोरी रहेको स्वीकार्दै आगमी दिनमा यस्तो घटना दोहोरिन नदिन विद्यालयले सकेको प्रयत्न गर्ने बताउनुभएको छ ।

बागलुङको फ्युचर ब्राइटर माध्यमिक विद्यालयमा भएको उक्त घटना प्रतिनिधिमूलक मात्रै हो । अन्य विद्यालयमा पनि यस्ता घटना नभएका भने होइनन् । तर आम बालबालिकाको स्वास्थ्य सुरक्षा र शैक्षिक उन्नयनको जिम्मालिएका विद्यालयहरुले यस्ता खालका घटना दोहोरिन नदिन गम्भीर बन्नु पर्ने देखिन्छ ।

पूर्व प्राथमिकतहका बालबालिकाहरुले प्रयोग गर्ने पेन्सिलको सीसाबाट स्वास्थ्यमा गम्भीर असर गर्ने भएकोले थप सचेत हुनुपर्ने बाल रोग विषेशज्ञ डाक्टर विधान घिमिरेले बताउनुभएको छ ।

टिप्पणीहरू