हृदय विदारक दृश्यले मुख्यमन्त्री स्तब्ध

हृदय विदारक दृश्यले मुख्यमन्त्री स्तब्ध

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखरामा भएको जहाज दुर्घटनापछि आफू स्तब्ध भएको बताएका छन् । दुर्घटनालगत्तै घटनास्थलमा पुगेका उनले त्यहाँको दृश्यले आफू स्तब्ध बनेको बताएका हुन् ।

दुर्घटनापछि खोज तथा उद्धारको अवस्था बुझ्न घटनास्थलमा पुग्दा त्यहाँको हृदय विदारक परिदृश्यले आफूलाई अत्यन्तै गम्भीर र स्तब्ध बनाएको मुख्यमन्त्रीले उल्लेख गरेका छन् । उनले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘म स्वयम् घटनास्थल पुगी दुर्घटनास्थल, खोज तथा उद्धारको अवलोकन गर्दाको हृदयविदारक परिदृष्यले थप गम्भीर र स्तब्ध भएको छु ।’

मुख्यमन्त्री अधिकारीले जहाज दुर्घटनाको कारणबारे अनुसन्धान गरेर हवाई यात्रालाई सुरक्षित र भरपर्दो बनाउन प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिएका छन् । 

आज बिहान काठमाडौंबाट पोखराका लागि उडेको यति एअरलाइन्सको एटीआर ७२ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदीको खोंचमा दुर्घटनाग्रस्त भएको हो । ६८ जना यात्रु र चालक दलका सदस्यसहित ७२ जना सवार जहाजबाट अहिलेसम्म ६२ जनाको शव निकालिएको छ । 

जहाजमा आगलागी भएका कारण अधिकांश शव पहिचान गर्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू