किन ओरालो लाग्यो सेयर बजार ?

किन ओरालो लाग्यो सेयर बजार ?

केहि दिनदेखि सेयर परिसूचकहरुमा निरन्तर गिरावट आएको छ । खुला बजारमा सामान्यतः शेयर परिसूचकलाई सरकारका नीति, कार्यक्रम र विश्वसनियतासँग प्रत्यक्ष जोडेर हेर्ने गरिन्छ । सरकारप्रति आमविश्वास कायम रहँदा बजारमा सेयरका सूचकहरु बढ्नु र विश्वास कायम हुन नसक्दा वा निकट भविष्यमा अर्थतन्त्रले सकारात्मक बाटो नलिने छनक पाउँदा बाजारबाट लगानीकर्ताहरु बाहिरिएर सूचकहरु नकारात्मक बन्नु खुल्लाबजारको विशेषता हो ।

पछिल्लो गिरावटमा पनि यी विशेषताहरुलाई आधार मान्न सकिन्छ । त्यससँगै पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्माका कतिपय सम्बोधनले पनि बजारलाइ सङ्कुचनमा लैजान सहयोग पुर्याएको भन्नेहरु पनि छन् । भदौ २२ गते अगाडिसम्म बिस्तारै ओरालो लागेको पुँजी बजार अर्थमन्त्री शर्माले नेपाल राष्ट्र बैंकका गभर्नरसँग फोनमा कुराकानी गरेपछि ह्वात्तै १ सय ६२ अङ्कले बढेको संयोग थियो । तर अर्को दिन मन्त्री शर्माको बोलीमा सामान्य फरक आउने बितिक्कै बजार निरन्तर आरोलो लागेको हो ।

त्यसैगरी संसदमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बजार बढाउन अर्थमन्त्रीले फोन गर्नैपर्ने हो भनेर राखेको जिज्ञासामा उहाँले आफूले गभर्नरलाई फोन नगरेको बताएपछि बजार पुनः निराश बनेको बताइन्छ ।

पुँजी बजारका जानकारहरु नेप्से अझै घट्ने बताइरहेका छन् । पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले एउटा सन्दर्भमा पुँजी बजारको उतारचढाव नै अप्राकृतिक भएकाले सोही अनुपातमा घट्ने बताउनुभएको छ । उहाँले ७ सय अङ्कभन्दा माथिको बजारलाई अप्राकृतिक ठान्नुभएको छ ।

सेयर परिसूचकमा गिरावटको निरन्तरता अझै हुनुमा थप कारणहरु बजारमा विद्यमान छन् । ती मध्येको अर्को महत्वपूर्ण कारण लगानीसँग जोडिएको छ । बैंकमा ब्याजदर बढ्दै जाँदा सेयरमा लगानीका अवसर खुम्चिन्छन् । बैंकले मुद्दती खातामा राखेको निक्षेपमा विनाजोखिम १० वा सोभन्दा बढी प्रतिशतको ब्याज दिन्छ । तर लगानीकर्ताले पुँजीबजारमा लगानी गरेर २ प्रतिशतका लागि किन चुनौती मोल्छन् ? यसको असर आजको बजारबाट थप प्रष्ट हुनसक्छ ।

यसकारण आगामी केही समय लगानीकर्ताको निम्ति सेयरबजार चुनौतीरहित नहुनसक्ने आँकलन गर्न सकिन्छ । एक जना सेयर विश्लेषकले नेपालको पुँजी बजार क्राइसिसको समयमा बढ्ने र अवस्था सहज हुँदा घट्ने गरेको बताएका छन् । अरु बेला अन्य क्षेत्रमा लगानीका अवसरहरु खुम्चिँदा सबैजसोले सेयरमा गरेको लगानीका कारण बजार हरियो बन्दै गएको गएको तथ्यलाई बिर्सन नहुने उनी बताउँछन् ।

अहिले अन्य क्षेत्रका लगानीकर्ता पनि आफ्नै बाटोमा लागेका छन् । हिजोसम्म अन्य रोजगारी र व्यवसायको अभावमा दिनभर सेयर बजारमा झुम्मिनेहरु अहिले आफ्नै रकमकलममा रमाउन थालिसकेका छन् । यसले पनि बजारमा ती लगानीकर्ताको स्थान खालि भएको छ । तत्कालै उक्त रिक्त स्थान पूरा हुने सम्भावना देखिँदैन । यसकारण पनि बजार थप ओरालो लाग्ने अनुमान गरिएको हो ।

पछिल्लो समय बैंकहरुले निक्षेपको ब्याजदर बढाएझैँ सोही अनुपातमा ऋणको ब्याजदर बढाएकाले ठूला ऋणीहरु अहिले थप दबाबमा परिसकेका छन् । एकातिर ब्याजदर बढिरहने, अर्कोतिर पुँजीबजारको गिरावटले पनि निरन्तरता लिइरहने हो भने केही सेयर कारोबारी ऋणको पासोमा फस्ने अनुमान लगाउँदै बेलैमा सुरक्षित स्थानमा बस्ने चाहना देखाइसकेका छन् । यसले पनि आगामी केही समयसम्म बजारमा उत्साह नथपिने अनुमान गरिएको हो ।

यस बाहेक सेयरबजारमा रहेकाहरुको आफ्नै ट्रेण्ड छ । सेयरमा कमाउने र अन्य क्षेत्रमा लगानी बढाउने रहेकोले पनि अब थप आम्दानी हुन नसक्ने क्षेत्रमा त्यस्ता लगानीकर्ताले फर्केर पनि हेर्ने छैनन् । यसकारण केही समयअघि देखिएको पुँजी बजारको हरियाली पाहुनाको रुपमा भित्रिएको थियो भन्न सकिन्छ ।

यस बाहेक सरकारले हालसम्म पूर्णता नपाउनु, अघिल्लो सरकारलेभन्दा थप आर्थिक उत्साहका कार्यक्रम ल्याउन नसक्नुले पनि बजार सेलाएको मान्नेहरु धेरै छन् । वर्तमान सरकारले ब्याजदरको बढ्दो उछाललाई तत्काल नियमन गर्न नसक्ने प्रष्ट भएको छ । त्यसैगरी पुँजीबजारबाट क्षणिक समयको लागि ओझेलमा पर्ने ठूलो जमातलाई पनि बजारमै रोक्ने विशेष कार्यक्रम आउने सम्भवाना पनि देखिँदैन ।

यी सबै दृश्य र यथार्थले पुँजीबजारको पछिल्लो ओरालो यात्रामा तत्काल ब्रेक लाग्नसक्ने सम्भावना छैन । ब्याजदरमा देखिएको बढोत्तरी र पुँजीबजारबाट अन्य क्षेत्रमा भइरहेको लगानीकर्ताको विस्थापनलाई सरकार र नियामक निकायले गर्ने सम्बोधनमा नै सेयर बजारको भविश्य गाँसिएको छ ।

टिप्पणीहरू