परिसंघ अध्यक्षको उद्योगले तिरेन साढे २ अर्ब, नयाँ प्रधानमन्त्री पनि सेटिङ्मा फसेको आरोप
-रमेश बन्जारा
हेटौंडाको शिवम् सिमेन्ट्सले नेपाल विद्युत प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता विद्युत महशुल २ अर्ब ३४ करोड रुपैयाँ ५ वर्ष बितिसक्दा पनि तिर्न अटेर गरेको छ । अहिले शिवम् सिमेन्ट र त्यसका सञ्चालकको चौतर्फी बिरोध शुरु भएको छ ।
हेटौंडा उपमहानगरपालिका–१६ मा कार्य सञ्चालन गरेको शिवम् सिमेन्टले नेपाल विद्युत प्राधिकरणलाई बुझाउनुपर्ने डेडिकेटेड लाइन प्रयोग गरेवापतको २ अर्ब ३४ करोड बुझाउन अटेर गरेपछि उक्त विषयमा सर्वत्र चासो भएको हो ।
शिवम् सिमेन्टका प्रमुख मालिक नेपाल उद्योग परिसंघका केन्द्रीय अध्यक्ष सतिशकुमार मोर हुन् । यसअघि पनि अवैध खानी सञ्चालनदेखि गुणस्तरहीन सिमेन्ट उत्पादन गरेको भन्दै उनको पटक–पटक विरोध हुने गरेको थियो । उनै मोरबाट सञ्चालित शिवम् सिमेन्टले अहिले विद्युत महशुल तिरेको छैन ।
उद्योगले सार्वजनिक जग्गासमेत हडपी जनतालाई सास्ती दिनेदेखि राज्यलाई तिर्नुपर्ने विद्युत महशुलसमेत नतिरेपछि स्थानीयस्तरमा नै विरोधका स्वर चर्को स्वरमा उठ्न थालेको हो । २०६४ सालदेखि आफ्नो केन्द्रीय अध्यक्ष रहेका मोरले नै राज्यलाई तिर्नुपर्ने महशुल नतिरेपछि परिसंघभित्र समेत चर्चा हुन थालेको छ ।
कुनैबेला मोरले शिवम् सिमेन्टको आइपिओ निष्कासन गरी जनतालाई महङ्गो मूल्यको भारसमेत पारेको उपभोक्ताहरुको गुनासो छ । हाल शेयर वितरण गरेको चार वर्ष बितिसक्दासमेत नागरिकलाई त्यसबारे उनले कुनै जानकारीसमेत नदिएको उनीहरु बताउँछन् । ‘शिवमले विद्युत प्रयोग गरेवापतको महशुल त तिरेको रहेनछ, शेयर कसरी वितरण गर्छ ?, ‘चार वर्षअघि शेयर लिएका एक सेयर धनीले गुनासोसहित प्रतिप्रश्न गरेका छन् ।’
यस विषयमा मोरसँग प्रतिक्रिया लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन । व्यवसायी मोरले राजनीतिक आडमा ‘बेइमानी’ गरिहेको स्थानीयहरु बताउँछन् । उनलाई निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको आशिर्वाद रहेकाले त्यो हर्कत गरेको उनी निकटस्थहरुले बताएका छन् । मोर तत्कालीन प्रधानमन्त्री ओलीको अधिकांश विदेश भ्रमणमा सहभागि भएका थिए ।
यसैबीच उनै मोर अध्यक्ष रहेको परिसंघको १८ औं साधारण सभामा प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथि र अर्थमन्त्री जनार्दन शर्मा विशेष अतिथि बन्नुभएको छ । नेपाल विद्युत प्राधिकरणले शिवम सिमेण्टको बक्यौता रकम तत्काल नबुझाए विद्युत लाइन काटिदिने बताउँदै आएको छ ।
उक्त रकम तिर्न सर्वोच्च अदालतले २ वर्ष अघि नै शिवम सिमेन्टलाई आदेश दिएको थियो । तर हालसम्म नबुझाएपछि प्राधिकरणले उक्त चेतावनी दिएको हो । तर, राज्यका जिम्मेवार पदाधिकारीहरु अदालतको आदेश र प्राधिकरणको बक्यौता रकमलाई ध्यान नदिई राजनीतिक लाभहानीमा व्यवसायीको कार्यक्रममा सहभागी हुनुले सबैलाई झस्काएको बताइन्छ ।
टिप्पणीहरू