दिपक मनाङ्गे फेरि खेलकुदमै अड्किए
मालदार मन्त्रालयको दाबी गर्दै आइरहेका गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ्ग उर्फ दिपक मनाङ्गेले खेलकुद मन्त्रालयमै चित्त बुझाएका छन् । यसअघि पृथ्वीसुब्बा गुरुङ्ग नेतृत्वको सरकारमा छोटो समय खेलकुद मन्त्री बनेका मनाङ्गेले यसपटक भने अर्थ र भौतिक पूर्वाधारमध्ये एक पाउनुपर्ने अडान राख्दै आएका थिए ।
शपथको झण्डै एक महिनापछि मनाङ्गेले अन्तत: खेलकुद मन्त्रालयमा चित्त बुझाएका हुन् । मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले आज उनलाई खेलकुदको जिम्मा दिएका छन् ।
मनाङ्गेसँगै जसपा संसदीय दलका नेता हरिशरण आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि आचार्यले पनि अर्थ र भौतिक पूर्वाधारमै दाबी गरेका थिए ।
मन्त्रालय भागबण्डाको किचलोले गण्डकीमा सरकार गठनको एक महिना बितिसक्दा पनि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन भने यसअघि शपथ लिएका मन्त्री पनि विभागबिहीन थन्किएका थिए ।
टिप्पणीहरू