‘वातावरण मन्त्रालय हरायो’

‘वातावरण मन्त्रालय हरायो’

वातावरण मन्त्रालय हराएको भन्दै सिंहदरबारको मूल गेट अगाडि एक समूहले आज बिहान विरोध प्रदर्शन गरेको छ ।

वायुप्रदुषणको कारण जनस्वास्थ्यमा प्रतिकूल असर परेको बेला वन तथा वातावरण मन्त्रालय मौन रहेको भन्दै तनुजा पाण्डे नेतृत्वका अभियन्ताहरूले सिंहदरबारको पश्चिमगेट अगाडि प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले देशका विभिन्न जंगलमा लागेको आगलागी, वायुप्रदुषण र त्यसले जनस्वास्थ्यमा पारेको असरप्रति सरकार गम्भीर नबनेको बताएका छन् । उनीहरूले ‘सार्वजनिक स्वास्थ्य तथा मौसम आपतकालीन प्रदर्शन’ भन्दै सरकारको ध्यानाकर्षण गराउन विरोध प्रदर्शन गरेको जानकारी दिएका छन् । सरकार समक्ष ‘जलवायु संकट,’ ‘जनस्वास्थ्य संकट’ घोषणा गर्न उनीहरूले मागसमेत गरेका छन् ।

प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले लगत्तै पक्राउ गरेको थियो । करिब एक दर्जन प्रदर्शनकारीलाई पक्राउपछि पुलिस क्लब, भृकुटीमण्डपमा राखिएको बताइएको छ ।

केही समयदेखि देशका विभिन्न ठाउँमा लागेको डँढेलोका कारण बढेको वायुप्रदुषणबाट जनस्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । भारतका विभिन्न मरुभूमीबाट उडेर आएको वायुप्रदुषणसँगै नेपालका जंगलमा आगलागी हुँदा झन् बढेको छ ।

आगलागीले पर्यावरणमा परेको असर र वायु प्रदुषणले निम्त्याएको स्वास्थ्य संकटका बेला पनि सरकार मौन रहेको भन्दै यसअघि अन्य समूहले पनि विरोध गरेको थियो । वायुप्रदुषण बढेको बेलामा काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर उठ्न नसक्दा थप संकट निम्तिएको छ ।

टिप्पणीहरू