गोपाल किराँती निर्वाचन आयोगमा, मुक्ति प्रधान तरखरमा
सर्वोच्चबाट फागुन २३ गतेको फैसलापछि पार्टीको नाम र चुनाव चिन्ह गुमाउने तरखरमा रहेका माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँती साढे १० बजे निर्वाचन आयोग, कान्तिपथ पुग्नुभएको छ ।
अदालतले तत्कालीन नेकपालाई पूर्ववत् रुपमा एमाले र माओवादी केन्द्रमा परिणत गराइदिएपछि गोपाल किराँतीले दर्ता गराउनुभएको माओवादी केन्द्र र गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिन्ह पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वलाई दिनुपर्ने बाध्यता आयोगलाई आइपरेको हो ।
त्यहि विषयमा सम्पर्क राख्न किराँती आयोग पुगेको स्रोतले बताएको छ । त्यसैगरी एमाले नाममा दर्ता कायम रहेको सन्ध्या तिवारीको टोलीलाई पनि आयोगले छलफलको लागि बोलाएको छ । तिवारी मुलुक बाहिर रहेकाले एकाध दिनमा आयोगमा उपस्थित हुने बताइएको छ । तिवारीको एमालेलाई भने उदाउँदो सूर्य चिन्ह दिइएको छ ।
उता एमालेभित्रको पछिल्लो विवाद फेरि आयोगमा पुग्ने भएको छ । आयोगले अदालतको फैसलापछि नेकपाको पुरानै हैसियतबमोजिम एमाले र माओवादी केन्द्रलाई २०७५ जेठ २ गतेअघिको अवस्थामा अभिलेखीकरण पेश गर्न भनेको आदेश दिइसकेको छ । तर, प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार गर्नुभएको विधान विपरितको निर्णयको विरुद्ध माधव नेपाल पक्षले आयोग जाने तयारी गरेको हो ।
आयोगका एकजना आयुक्तका अनुसार यसअघि नै गरिएको १५ सय १ जनाको केन्द्रीय समिति र अध्यक्षबाट ओलीलाई हटाइएको दुवै निर्णयलाई बदर गरिसकिएकाले शुक्रबारको निर्णय मान्य हुँदैन । उहाँहरू सबैभन्दा पहिले पुरानै अवस्थामा फर्केको प्रमाण पेश गर्नुपर्यो । त्यसैको लागि अभिलेखीकरणको पत्र पठाइएको हो ।
आयोगको उच्च स्रोतले भनेको छ ‘यसबीचमा भए गरेका कुनै कामकारबाही छन् भने त्यो पनि पार्टीको विधान र प्रचलित ऐनबमोजिम नै हुनुपर्छ ।’
यसैबीच पार्टी अभिलेखीकरणको निम्ति माओवादी केन्द्रले दर्ता हुँदाको बखत पेश गरिएको आवश्यक कागजात उपलब्ध गराउन आयोगलाई अनुरोध गरेको बुझिएको छ । सम्भवतः आज पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधान दलको तर्फबाट आयोगमा यसअघि दर्ता भएका कागजात बटुल्न जान लाग्नुभएको छ ।
एमालेको तर्फबाट कसले सम्पर्क राख्नुभएको छ भनेर सोधिएको जिज्ञासामा आयोगका एकजना कर्मचारीले भने ‘प्रधानमन्त्रीका कानुनी सल्लाहकार बाबुराम दाहाल आउनुहुन्छ होला ।’
टिप्पणीहरू