वैकल्पिक सरकारको बाटोमा काङ्ग्रेस
नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले काँग्रेसले वैकल्पिक सरकार गठनको पहल थाल्नुपर्ने बताउनुभएको छ । उहाँले बाहिरै बसेर काँग्रेसले वैकल्पिक सरकार गठनको पहलकदमी लिनुपर्नेमा समेत जोड दिनुभएको छ ।
नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेको बेला काँग्रेसको भूमिकाबारे सोधिएको प्रश्नमा केसीले दुई वटा विकल्पमा छलफल भइरहेको बताउनुभयो । आफ्नै नेतृत्वमा सरकार गठन गर्ने अथवा बाहिरै बसेर वैकल्पिक सरकार दिने भन्नेमा छलफल भइरहेको उहाँको भनाई छ । केसीले अहिले काँग्रेस सरकारमा जान नहुने आफ्नो धारणा रहेको समेत बताउनुभयो ।
नयाँ सरकार गठनका लागि दलहरूबीच विभिन्न पक्ष र समूहमा छलफल भइरहेको महत्वपूर्ण क्षणमा हिजो काँग्रेसले जनता समाजवादी पार्टी (जसपा) सँग छलफल गरेको छ । त्यसअघि पदाधिकारी बैठक बोलाइएको थियो । उक्त बैठकअघि वरिष्ठ नेता रामचन्द्र पक्षधर नेताहरूले छुट्टाछुट्टै छलफल गरेका थिए । पौडेल पक्षको बैठकमा सहभागी हुनुभएका केसीले सरकारमा सामेल नभई वैकल्पिक सरकार गठनमा पहल लिन सकिने बताउनुभएको हो ।
तपाईंहरूको पक्षको धारणाचाँहि के थियो भन्ने जनआस्थाको जिज्ञासामा केसीले भन्नुभयो, ‘म पूरै समय बैठकमा बसिन । आफ्ना कुरा राखेर निस्केको हुँ । साथीहरू छलफलमा हुनुहुन्थ्यो । मेरो मान्यताचाँहि काँग्रेसले बाहिरै बसेर वैकल्पिक सरकार बनाउन पहल गर्नुपर्छ भन्ने हो ।’
उहाँले बाध्यात्मक अवस्थामा बाहेक काँग्रेस सरकारमा जान नहुने आफ्नो प्रष्ट धारणा रहेको बताउनुभयो । ‘हेर्नुस् मेरो धारणा त अहिले काँग्रेस सरकारमा जान हुँदैन भन्ने छ । बाहिर बसेर अरुको नेतृत्वमा वैकल्पिक सरकार बनाउन सहयोग गर्नु उपयुक्त हुन्छ भन्ने नै मेरो मान्यता हो ।’
टिप्पणीहरू