मधेसका एमाले खम्बाले पार्टी छाडे

मधेसका एमाले खम्बाले पार्टी छाडे

नेकपा (एमाले) का मधेश प्रदेश कमिटी सचिवालय सदस्य जयप्रकाश थारु आज पुष्पकमल दाहाल (प्रचण्ड) संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने भएका छन् । दुई दिनअघि एमाले छाडेका उनी नेकपा प्रवेश गर्न लागेका हुन् । 

पार्टी प्रवेशका लागि उनी अहिले काठमाडौं आउँदैछन् । आजै पार्टी प्रवेश गर्ने उनले जानकारी दिए । जनआस्थासँग भने,‘म अहिले गाडीमा काठमाडौं आउँदैछु । काठमाडौं पुग्नेबित्तिकै पार्टी प्रवेश कार्यक्रम हुन्छ ।’ पर्साका थारु वि.सं.२०४८ सालदेखि एमालेमा थिए । 

एमालेको पर्सा जिल्ला अध्यक्षमा समेत निर्वाचित भएका उनी २०७० सालको संविधान सभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर–५ बाट विजयी भएका थिए । 

प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेश रिजालले ९ हजार ३०६ मत प्राप्त गर्दा उनले १० हजार ४५० मत हासिल गरेका थिए । झण्डै साढे तीन दशक एमालेमा बिताएका उनले पार्टीमा विधिविधानभन्दा व्यक्ति हावी भएकाले राजीनामा दिएको बताए । 

उनले भने,‘मुलुकको संविधान,पार्टीको विधानमाथि अध्यक्ष केपी शर्मा ओली हावी हुनुहुन्छ । न उहाँले संविधान मान्नुहुन्छ न विधिविधान । विधिपद्धति नै बिर्सिसकेको पार्टीमा बस्न हुँदैन भन्ने लागेर राजीनामा दिएको हुँ । आज नेकपामा प्रवेश गर्दैछु ।’
सङ्गै अरु नेता जिल्लामै अर्को कार्यक्रम राखेर नेकपा प्रवेश गर्ने थारुले बताए ।

टिप्पणीहरू