कुलमानको मन्त्रालयमा पैसा फुकुवा
६ असोजको क्याविनेट बैठकले खुद्रे र टुक्रे आयोजनाको बजेट कटौती गर्यो । भोलिपल्टै अर्थ मन्त्रालयले २२ सय आयोजनाका १ खर्ब २० अर्ब बजेट कटौती गरिदियो । यो निर्णय दुई महिना नपुग्दै उल्टाउनेक्रम जारी छ । यो समाचार तयार पर्दासम्म तीन वटा मन्त्रालयको १५ अर्ब बजेट फुकुवा भइसकेको छ भने अरु पनि फुकुवाकै चरणमा रहेको बुझिएको छ ।
दुई महिनाअगाडि सहरी विकास मन्त्रालयको ६१ अर्ब ७६ करोड र भौतिक पूर्वाधारको झण्डै २० अर्ब, खानेपानी मन्त्रालयको १२ अर्ब, सिञ्चाई मन्त्रालयको ९ अर्ब बजेट रोक्का भएकोमा केही मन्त्रालयको बजेट फुकुवा हुन थालेको हो । बजेट रोक्का भएको बिषयमा विकासे मन्त्रालयका सचिवद्वय केशव शर्मा विडारी, गोपाल सिग्देल र मन्त्री रामेश्वर खनालबीच वाकयुद्ध नै चलेको थियो । सोमध्ये भौतिकमा १० अर्बको फुकुवा भइसकेको छ भने ३ अर्ब ७८ करोड रूपैयाँ फुकुवाको प्रक्रिया शुरु भएको मन्त्रालयले जनाएको छ ।
यस्तै खानेपानीको १२ अर्ब बजेट रोक्का भएकोमा २ अर्ब, सिञ्चाईको ९ अर्ब ६८ करोड रूपैयाँको योजना रोक्का गरिएकोमा ३ अर्ब रूपैयाँको हाराहारीमा बजेट फुकुवा भएको सम्बन्धित मन्त्रालयहरूले जनाएका छन् । शहरी विकासको झण्डै ६२ अर्बको रोक्का बजेट फुकुवा भएको छैन् ।
टिप्पणीहरू