पुस २७ गते दाैडने सेनाको तयारी

पुस २७ गते दाैडने सेनाको तयारी फाइल फोटो

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाली सेनाले सुनसरीमा दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टर, धनकुटाको भीमदल गण र सुनसरीस्थित भगवतीदल गणको आयोजनामा धरानस्थित ‘विजयपुरगढी–साँगुरीगढी’ दौड प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता आउँदो पुस २७ गते हुनेछ । त्यसमा सहभागी हुन चाहनेलाई यही पुस १७ गतेसम्म अनलाइन आवेदन पेश गर्न भनिएको छ । सेनाका अनुसार प्रतियोगितामा दश किमि क्रस कन्ट्री दौड र पाँच किमि दौड हुनेछ । दश किमि क्रस कन्ट्री दौडमा महिला र पुरुष सहभागी हुन पाउनेछन् । 

त्यस्तै, पाँच किमि दौडमा १६ वर्षसम्मका विद्यार्थी (छात्र–छात्रा) सहभागी हुन पाउँछन् । यद्यपि, महिला र पुरुष तथा छात्र र छात्राको प्रतियोगिता फरकफरक हुनेछ । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई नगद पुरस्कार दिइनेछ । 

जसअनुसार दश किमि दौडतर्फ प्रथम हुने महिला र पुरुष दुवैलाई २५ हजार, द्धितीयलाई १५ हजार र तृतीयलाई दश हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । पाँच किमितर्फ प्रथम हुनेलाई १२ हजार, द्धितीयलाई आठ हजार र तृतीयलाई पाँच हजार रुपैयाँ नगद पुरस्कार वितरण गरिने सेनाले जनाएको छ ।
 

टिप्पणीहरू