कोभिसिल्डलाई विश्व स्वास्थ्य संगठनको अनुमति

कोभिसिल्डलाई विश्व स्वास्थ्य संगठनको अनुमति

नेपालमा प्रयोग भइरहेको कोरोना भाइरसविरुद्धको खोप कोभिसिल्डलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आपतकालीन प्रयोगको निम्ति अनुमति दिएको छ । संगठनले भारतको सीरम इन्ष्टिच्युटले उत्पादन गरिरहेको कोभिसिल्ड र दक्षिण कोरियाको अस्ट्राजेनेका–एसकेबायोले उत्पादन गरेको खोपलाई अनुमतीमा सूचीकृत गरेको हो । नेपालमा अहिले चलेको खोप अभियान भारतले अनुदानमा उपलब्ध गराएको कोभिसिल्डबाट भइरहेको हो ।

संगठनले जारी गरेको विज्ञप्तिमा कोभिसिल्डसहित दुईवटै खोपको गुणस्तर, सुरक्षा र प्रभावकारिताको अध्ययनपछि सूचीकृत गरिएको बताइएको छ । विश्व स्वास्थ्य संगठनले सूचीकृत गरेका खोपहरु कोभ्याक्स सुविधामार्फत् वितरण गर्न योग्य हुने बताइएको छ । कोभ्याक्सअन्तर्गत नेपालले यही महिनाभित्र साढे २२ लाख मात्रा कोभिसिल्ड प्राप्त गर्दैछ ।

कोभिसिल्डको प्रभावकारिता ६३.९ प्रतिशतसम्म रहेकोले १८ वर्षभन्दा माथि उमेरका सबैलाई आपतकालीन प्रयोगको लागि उपयुक्त रहेको भन्दै संगठनले सिफारिश समेत गरेको छ ।

टिप्पणीहरू