केरूङ नाका खोल्न कस्सियो काँग्रेस
नेपाली काँग्रेसले रसुवागढी,केरूङ नाका खुलाउन आवश्यक पहलका लागि सरकारसँग माग गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा अहिले जारी प्रेस विज्ञप्तिमा सो नाकाबाट आयात निर्यातलाई सहज बनाउनेवारे तत्काल पहलकदमी लिन सरकारसँग आग्रह गरिएको हो ।
‘चीनको वुहानबाट कोरोना भाइरसको सङ्क्रमण फैलिएलगत्तै अन्तर्राष्ट्रिय सीमा नाकाबाट प्रवेशमा कडाई र आवागमन बन्द गरिनु तत्कालिन परिस्थितिको बाध्यता र आवश्यक कदम थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर तुलनात्मक रुपले स्थिति सहज बनेको अवस्थामा समेत उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केरुङमा नागरिक र व्यवसायीहरुले दुःख पाइरहेको विवरण निरन्तर प्राप्त भइरहेकोप्रति नेपाली काँग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ ।’
रसुवा नाका २०७६ माघ १५ देखि असार २७ सम्म पूर्ण रुपले बन्द थियो । त्यसपछि सामान ढुवानीको लागि आंशिक खुल्ला भन्दै दैनिक ५ वटा कन्टेनरले मात्र प्रवेश पाउँदै आएको छ । उक्त अवस्थालाई उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ ‘पन्ध्र सयभन्दा बढी कन्टेनर सीमामा अलपत्र पर्नु दुःखद छ,यसबाट एकातर्फ नेपाली व्यवसायीहरु मर्कामा परेका छन् भने अर्कोतर्फ राज्यकै राजस्व संकलनमा पनि असर पुगेको छ ।’
टिप्पणीहरू