मध्यराति नियुक्तिका नाममा टिपेक्स

मध्यराति नियुक्तिका नाममा टिपेक्स

सरकारले गत हप्ता देशैभर २ सय ३३ जनालाई भूमिसम्बन्धी समस्या समाधान आयोगमा नियुक्त गरेको छ । सत्तारुढ नेकपा कार्यकर्तालाई ७७ वटै जिल्लामा कार्यालय प्रमुख, सदस्य र विज्ञ नियुक्त गर्दा ७७ सहसचिव र १ सय ४४ उपसचिवसरहको तलब भत्ता खर्च हुने छ । यसरी नियुक्त हुनेमध्ये पनि रातारात कैयौंको नाममा टिपेक्स लगाइएको छ ।

ललितपुरबाट पुराना कम्युनिष्ट नेता हरिकृष्ण थापाको नाममा टिपेक्स लगाएर सरोज विष्टलाई नियुक्त गरिएको छ । मधुसूदन पौडेललाई अध्यक्षमा नियुक्त गरिएको छ भने शर्मिला सिंहको नाम अन्तिममा काटेर चतुर व्यञ्जनकारलाई सिफारिस गरिएको छ । ओली समूहका अध्यक्ष हरिकृष्ण व्यञ्जनकारकी दिदी चतुरको नाम एकाएक घोषणा भएपछि खैलाबैला मच्चिएको छ ।

अध्यक्ष पौडेलको नाम उपर ओली समूहमा खासै विवाद छैन । युवाबाट सरोज विष्टको नाममा अध्यक्ष पौडेल र प्रदेश सांसद चेतनाथ सञ्जेलबीच जश लिने प्रतिष्पर्धा छ जबकि उनी विज्ञताको हिसावले भूमिअधिकार मञ्चकै सिफारिसमा परेका हुन् ।

व्यञ्जनकारले यसअघि एकताकालमा महानगर सचिवका लागि आफ्नै भाइ अष्टवीरको नाम सिफारिस गरेका थिए । उतिबेला पनि यसबारे ओली समूहभित्रै विवाद थियो । विवादका बीच प्रधानमन्त्रीका साला ज्ञानेन्द्र शाक्यलाई सचिव नियुक्ति गरिए । व्यञ्जनकारले राष्ट्रिय खेलकुद परिषद्मा अर्का भाइ श्यामलाई सिफारिस गरेको भन्दै ललितपुरका खेलकुद क्षेत्रसम्बद्ध युवाहरूले सदस्य–सचिव रमेश सिलवालसम्मै पुगेर आलोचना गरेका छन् ।

टिप्पणीहरू