सुत्केरी व्यथाले छट्पटाएकी महिलाको उद्धार

गाउँ–गाउँमा सिंहदरबारको नारा लगाइयो तर व्यवहारमा आएन भन्ने आरोप खेप्दै आएका स्थानीय तहले आफ्ना नागरिकको ज्यान जोगाउन भने निकै पहल गर्ने गरेको छ । आफ्ना नागरिकको स्वास्थ्य तथा अन्य समस्यामा पनि गाउँघरमै पुगेर सिंहदरवारको उपस्थिति स्थानीय तहले देखाउने गरेको छ । हिमाली जिल्ला म्याग्दीको पश्चिम दुर्गम गाउँ धौलागिरि गाउँपालिका–४ मुदीको नेरवाङकी २६ वर्षीय सुत्केरी व्यथा लागेको महिलाको हेली उद्धार गरी ज्यान बचाइएको छ ।

८ हजार मिटरभन्दा अग्लो धौलागिरि हिमाल रहेको दुर्गम धौलागिरि गाउँपालिका र त्यसको पनि दुर्गम गाउँ मुदीको नेरवाङकी २६ मिनु छन्त्याल अघिल्लो शनिबार बिहान १० बजेदेखि सुत्केरी ब्यथाले छट्पटाइरहनुभएको थियो । नेरवाङ गाउँको पनि गोठमा रहेकी मिनुलाई नजिकको स्वास्थ्य चौकी पु¥याउन पनि तीन घण्टा भन्दा बढी समय लाग्थ्यो भने बोकाएर लैजान पर्ने अवस्था थियो ।

शनिबार बिहानदेखि दिनभर अनि रातभरीको छट्पटीपछि बच्चा निस्कन त खोज्यो तर पानी धेरै बगेकाले वा अन्य के कारण डेलिभरी हुन सकेन । बिहान धेरै छट्पटाइरहेकी मिनुको आमा–बच्चा दुवैको ज्यान अब खतरामा पुगेको थियो । तत्काल धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनलाई आफन्तले खबर गरेपछि सामाजिक विकास मन्त्रालयको पहलमा प्रभु एयरको हेलिकप्टरमार्फत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी हस्पिटल) मा लगिएको थियो । आइतबार बिहान ९ बजे नेरवाङबाट हेलिकप्टरमा पोखरा पठाइएकी मिनुले हस्पिटलमा पुगेपछि १० बजे छोरी जन्माउनुभएको र आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको सामाजिक विकासमन्त्री नरदेवी पुनका स्वकीय सचिव प्रकाश पौडेलले बताउनुभयो ।

टिप्पणीहरू